वार्ता

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेसभित्र शक्ति, पैसा र डनवाद हाबी छ

‘महाधिवेशनका बेला ठूलो रकम उठाउनु ठीक होइन’

अनिष भट्टराई |
मंसिर २२, २०७८ बुधबार १८:२३ बजे

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको तर्क पेश गर्छन् । ४८ वर्षीय पराजुली विद्यार्थीकालदेखि नै कांग्रेसको सक्रिय राजनीतिमा छन् । विद्यालयमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । विराटनगर महानगर कांग्रेस समितिको सभापति रहिसकेका पराजुली युवा पुस्ताबीच लोकप्रिय मानिन्छन् । पराजुलीसँग इकागजका अनिष भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः 

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ, तपाईं केन्द्रीय सदस्य चुनिनुले पार्टीमा कस्तो असर पर्छ भन्ने लाग्छ ? 


पार्टीमा विकृति, विसंगति छ । ती विसंगति चिरेर हामी बढ्नुपर्छ । पार्टीभित्र शक्ति, पैसाको भरमा जे पनि हुन्छ भन्ने प्रवृत्ति छ । दूरदराजका कांग्रेस कार्यकर्ता पनि माथिल्लो तहमा आउन सक्नुपर्छ । नेतृत्व तहमा आउन सक्ने हुनुपर्छ । पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई ल्याउनु पर्छ । डनवाद हाबी छ, नीतिले अघि बढेको छैन । यी समग्र विषय उठाउन मेरो उम्मेदवारी हो । हामी स्थानीय तहमा बसेर काम गरेका छौं, त्यहाँको समस्या हामीले बुझेका छौं । त्यहाँ कांग्रेसलाई कसरी बलियो बनाएर लैजान सकिन्छ, योजना छ । अग्रगामी परिवर्तनको नेतृत्व लिन सक्ने युवा आउनुपर्ने भएकाले म केन्द्रीय कार्यसमितिमा आउन चाहेको हुँ । सही आवाजको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो । 

कांग्रेस किन विचारशून्य भएको छ ? नीतिमा बहस नहुने नेतृत्वका कुरामा मात्र सबै कुरा किन घुमिरहेको ? 

नीतिमा बहस हुन्छ नै । वडा, पालिका, क्षेत्रीय, प्रदेश तह हुँदै महाधिवेशनको चरणमा आएका छौं । यसक्रममा उठेका मुद्दाहरूलाई मूर्त रूप दिन घोषणापत्र सार्वजनिक हुन्छ । नीति कार्यक्रम तयार हुनुपर्छ । नीति प्रधान हुनुपर्छ । नेता प्रधान भएर कांग्रेसलाई दिशानिर्देश गर्न सक्दैन भन्ने मेरो धारणा हो । गतिशील कांग्रेस बनाउन नीतिलाई प्रधान बनाएर जानुपर्छ । बजेटमा पनि कांग्रेसको उपस्थितिको प्रभाव देखिनुपर्छ । आगामी दिनमा कांग्रेस यसरी जान्छ भनेर योजनाहरू खाकाका रूपमा ल्याइनुपर्छ । 

वडा, पालिका, क्षेत्रीय, जिल्ला, प्रदेश अधिवेशन भइसकेको पृष्ठभूमिमा त्यस्ता केही घटना घटे जुन कांग्रेसका लागि बिर्सन लायक देखिन्छ, गोली चल्यो, कति ठाउँमा हुलदंगा भए । यसले कांग्रेसको छवि त खराब बनाएकै छ नि ? 

कांग्रेसमा उत्साह, ऊर्जा छरिएको छ । हरेक वर्गको प्रतिनिधित्व निम्ति आदिवासी, दलित, अल्पसंख्यकको छुट्टै कोटा छ । त्यसैका आधारमा प्रतिनिधिहरू छनौट भएर आउनु भएको छ । अब ती सबैको कुरा उठ्ने हुँदा देशकै कुरा पार्टीमा आउँछन् । कांग्रेसमा केबल को सभापति हुने, को पदाधिकारी हुने भन्नेमात्र अब रहँदैन  । ‘ग्रासरुट’मा हामीले भोगेका समस्या उठ्ने भएकाले कांग्रेसको अधिवेशनका बेला ऊर्जा विकसित भएको छ । पार्टीमा केही अप्ठेरा, असहजता भएका छन् । चरम गुटबन्दी छ । त्यसो त, जीवन्त पार्टीमा वैचारिक समूह हुन्छ नै । असल नेतृत्व ल्याउन ती समूहहरू एक ठाउँ रहनु त ठीक हो । तर जुन तरिकाले पैसा, शक्ति लगाएर मतदाता प्रभावित गर्ने क्रियाकलाप बाहिर आए, ती जायज होइनन् । ती क्रियाकलापमा मेरो कुनै समर्थन छैन । पद–प्रतिष्ठाको दोहन गरेर आर्यआर्जन गर्ने सोच राखेपछि यस्ता विकृति घट्छन् । 

पार्टीमा गुटीय राजनीति हावी छ, यसले पार्टीमा कस्तो असर पारिरहेको छ जस्तो लाग्छ ? 

यही अवस्था रहिरहे कांग्रेसलाई आगामी चुनावमा ठूलो असर पर्छ । पार्टीको नेतृत्व चयनका बेला वैचारिक समूहरू बन्नु, एउटालाई नेता चयन गर्दासम्म समूह बनाउनु जायज नै हो । तर निरन्तर हामी गुटमा रमाउनु हुँदैन । यसक्रममा हारेकालाई पनि पार्टीमा ठाउँ दिएर राख्नुपर्छ । पार्टीको चुनावमा जित्नैपर्ने नेताहरू पनि हार्नु भएको होला । उहाँहरूलाई स्थान नदिई पानी बराबरको हालतमा बढे फेरि पनि पार्टीभित्र अन्तर्घातहरू हुन सक्छ । एकतावद्ध, जीवन्त कांग्रेस बनाउनुको विकल्प छैन । गुटको नाममा एकअर्कालाई असहयोग गरेर अघि बढ्न सकिँदैन । पार्टीले अब परिवर्तन, रूपान्तरण खोजेको छ । 

तर पार्टीमा परिवर्तन आउने लक्षण त यो महाधिवेशनले पनि दिएको छैन नि ? 

यही परिदृश्य परिवर्तन गर्न युवाको प्रतिनिधित्व हुनुपर्छ भनी आवाज उठाएका हाैँ । ठूलो संख्यामा युवाहरू पार्टीमा पुगे हामी बलियो रूपले आवाज उठाउन सक्छौं । गलत प्रवृत्तिलाई हामीले पुरस्कृत गर्नु हुँदैन । पार्टीमा कसलाई नेतृत्वमा ल्याउने भन्ने अब हामीले सोचविचार गर्नुपर्छ । आफ्नो बुद्धि, विवेक लगाउनुपर्छ । छातीमा हात राखेर सही निर्णय गर्नुपर्छ । 

महाधिवेशनपछि कस्तो नेतृत्व आउनुपर्छ ? 

राम, श्याम जो सुकै आएपनि नीति–प्रधान हुने गरी आउनुपर्छ । अझ कांग्रेस नेताप्रधान छ । सही नीति लिएर हिँड्न सके नेतृत्व आफैं सही बन्छ । १४ औं महाधिवेशनपछि पनि हालकै बरिष्ठ नेतामध्ये एक आउनुहुन्छ । तर चुनिएर आएपछि कस्तो काम गर्नुहुन्छ, त्यो महत्वपूर्ण हुन्छ । पार्टीको नीति–कार्यक्रमलाई कसरी बढाउनुहुन्छ, त्यो महत्वपूर्ण हो । 

धनवादको विषय त सुरुमै राख्नुभयो, कांग्रेसमा उम्मेदवारी शुल्क निकै महंगो राखिएको छ, यसले त पार्टीमा आदर्श भन्दा पनि पैसा भएकाहरू अघि आउने बाटो खुला गर्यो नि ? 

वास्तवमा यो कुरा मैले पनि उठाइरहेको छु । पार्टीमा स्वेच्छिक रूपमा सहयोग गर्नेहरू पनि हुनुहुन्छ । पार्टीमा पद्धति नभएर हो, ‘लेवी’ उठाउने चलन पनि छैन । पार्टी सञ्चालन गर्न गाह्रो छ । अब हामीले पद्धति बनाउनुपर्छ । ‘लेवी सिस्टम’ राख्नुपर्छ । थोरै ‘लेवी’ राख्यौं भने आर्थिक रूपमा जोडिएपछि पार्टीमा अपनत्व हुन्छ । पार्टीले यस्तो ‘फन्ड’ बनाउनुपर्छ जसको माध्यम कार्यकर्ताहरूलाई दुःखका बेला सहयोग गर्न सकोस् । यसरी महाधिवेशनका बेला ठूलो रकम उठाएर हुँदैन । यतिखेर उठाएको पैसाको पनि त भागभण्डा गरेका छन् । यसरी पैसा उठाउनु ठीक होइन, यसले पार्टीलाई हित गर्दैन । पुराना नेताहरू जो आर्थिक रूपमा कमजोर हुनुहुन्छ उहाँहरूका लागि यो ठीक भएन ।
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x