वार्ता

इकागज संवादमा विमलेन्द्र निधि

भदौमा महाधिवेशन भएन भने मंसिरसम्ममा गर्न सकिन्छ

चन्द्रशेखर अधिकारी |
साउन २७, २०७८ बुधबार १७:२७ बजे

लामो समय शेरबहादुर देउवा समूहमै आबद्ध नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि यसपालि आफैँ सभापतिमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । यद्यपि उनी देउवा समूहबाट ‘डिट्याच’ भइसकेका छैनन् । अझ उनी अन्तिममा देउवाकै समर्थन प्राप्त हुने विश्वासमा छन् । ‘तेह्रौँ महाधिवेशन तपाईं (शेरबहादुर देउवा)लाई जिताउन सहयोग गर्छु, चौधौँमा मलाई सहयोग गर्नुपर्छ’ निधिले अघिल्लो चोटि नै भनेका थिए । हुन पनि अघिल्लो महाधिवेशनमा देउवाको भनाइ रह्यो, ‘म फुटेको पार्टीको सभापति भएँ, जुटेको पार्टीको सभापति हुन चाहन्छु ।’ जुटेको कांग्रेसको सभापति बनेका देउवा चौधौँ महाधिवेशनमा पनि मैदान छाड्ने सूरसारमा छैनन् । निधि सभापतिकै प्रतिस्पर्धामा जाँदा देउवालाई समस्या पर्नेछ । उता संविधान र कानुनतः महाधिवेशन मिति गुजार्ने क्रमसँगै पार्टीकै ‘वैधानिकता’ धरापमा परेको छ । कांग्रेस महाधिवेशनकै सेरोफेरोमा रहेर इकागजका चन्द्रशेखर अधिकारीले निधिसँग गरेको संवाद :
 
संविधान र कानुनद्वारा निर्धारित समयमै महाधिवेशन गर्न नसकी नेपाली कांग्रेसको ‘वैधता’ संकट पर्ने हो कि भन्ने आशंका बढ्दो छ, यस्तो अवस्थामा पार्टीलाई संकटबाट जोगाउने सवालमा नेतृत्व तहमा कुनै छलफल भइरहेको छ कि छैन ?

यस विषयमा कांग्रेसले वरिष्ठ कानुनविद्हरूसँग परामर्श गरिरहेको छ । खासगरी कांग्रेससँग आबद्ध लोकतन्त्रवादी वरिष्ठ कानुन व्यवसायीसँग छलफल गरिरहेको छ । संविधानले तोकेको अवधिअनुरूप भदौमै महाविधेशन सक्ने प्रयास गरेको हो । तर कोभिडका कारणले गर्दा समस्या पैदा भएको सबैले देखेकै छन् । अर्को त, क्रियाशील सदस्यताका कारणले पनि समय लाग्यो । त्यसलाई कसैले आलोचनाको विषय बनाउन सक्छन् । तर देशभरि नेपाली कांग्रेसप्रति बढ्दो आकर्षण छ । त्यसमा क्रियाशील सदस्य बन्न चाहनेको संख्या अधिक बढ्दै छ ।


कांग्रेसको १३औँ महाधिवेशनमा चार लाख क्रियाशील सदस्य थिए । यसपालि आठ लाख भन्दा बढी भएका छन् । यो राजनीतिक हिसाबले उपलब्धिमूलक मान्नुपर्छ । त्यसरी आठ लाखभन्दा बढी सदस्यबारे टुंगो लगाउनु र कम्प्युटरमा इन्ट्री गर्न त समय लाग्छ नै । त्यसरी समय लागेका कारणले गर्दा निर्धारित समयमै महाधिवेशन गर्न गाह्रो भएको हो । अर्कातिर समस्या कानुनी जटिलता छँदै छ । त्यसकारण त्यसमा पार्टीले लिने निर्णयबारे सरसल्लाह भइरहेको छ । त्यसअतिरिक्त निर्वाचन आयोगसँग पनि सल्लाह भइरहेको छ । कानुनी उपाय खोजिँदै छ ।

त्यो संकट टार्न पार्टीमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा पनि आइरहेका छन्, त्यो बाटोमा जान सक्ने सम्भावना कत्तिको छ ?

विशेष महाधिवेशन चर्चा चलिरहेको देखिन्छ । तर म विशेष महाधिवेशनको आवश्यकता र औचित्य देख्दिनँ । पार्टीको महाविधेशन नै गर्नुपर्छ, त्यसमा तीन-चार महिना पर सार्न सकिन्छ । भदौमा महाधिवेशन भएन भने कात्तिक-मंसिरसम्ममा महाधिवेशन गर्न सकिन्छ । त्यो भन्दा पर जान सकिँदैन ।

त्यसरी संविधान र कानुनभन्दा बाहिर हुँदै गरिएको महाधिवेशनलाई निर्वाचन आयोग या अदालतले वैधता नदिई कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्‍यो भने के गर्नुहुन्छ ?

हेर्नुस्, नेपालको संविधान बनाउँदा केही सवालमा खारेज वा बन्द गर्न नसकिने प्रत्याभूति संविधानबाटै गरेका छौँ । जुनसुकै अवस्थामा पनि पत्रिकाको दर्ता खारेज गर्न मिल्दैन । जुन सुकै अवस्थामा पनि दल खारेज गर्न मिल्दैन । नेपालले जसरी राजनीतिक घटनाक्रम भोग्यो या बेहोरेकै थियो । बेलाबखत नेपालमा तानाशाह जन्मने र दललाई निषेध वा प्रतिबन्ध लगाएको घटना भोगेको थियो ।

पार्टीमाथिको प्रतिबन्ध फुकाउन हामीले जेलनेल भागेकै हो । त्यसकारण संविधान बनाउँदा जति सुकै नियन्त्रणात्मक प्रावधान राखे तापनि एउटा सवाल चाहिँ के राखियो भने जुन सुकै अवस्थामा पनि दल खारेज गर्न पाइँदैन । त्यसकारण मलाई लाग्छ, त्यसरी दल नै संकटमा पर्छ कि भनी चिन्ता गर्नुपर्ने स्थिति छैन । कुनै पनि हालतमा दल खारेज हुँदैन । त्यसकारण संविधान र कानुनअनुरूप दल खारेज नहुने व्यवस्थाको खोजी गर्दैछौँ ।

अझै पनि कांग्रेसमा क्रियाशील सदस्यता पनि टुंगो लाग्‍न नसक्नु र हरेक महाधिवेशनको मुखमा क्रियाशील सदस्यता विवाद कांग्रेसले भोग्दै आएको छ, यसो किन हुन्छ ?

हो, तपाईंले गर्नुभएको प्रश्न एकदम जायज छ । यस्तो स्थिति आजदेखि होइन, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सभापति रहेकै बेला पनि विवादित विषय बनेकै हो । विधानमा महाधिवेशन हुनु एक वर्ष पहिले नै क्रियाशील सदस्यता टुंगो लगाइनेछ भन्ने उल्लेख छ । अर्थात्, सदस्यताका हकमा ‘कट अफ डेट’कै व्यवस्था छ । तर, हरेक महाधिवेशनका बेला विधानको त्यो धारा निलम्बन गरिन्छ । यो कमजोरीलाई स्वीकार गर्नैपर्छ ।

पार्टीमा त शेरबहादुर देउवालाई सबैले सहयोग गरेकै छन् । अब बाँकी जिम्मेवारी त उहाँको हो । 

जुन कमजोरी सुधार गर्नुपर्छ भन्ने महाधिवेशन आवाज पनि आउँछ । महाधिवेशनमा विधान संशोधनका बेला कि त यो प्रावधान हटाइदिऔँ कि पालना गरौँ ? हरेक विधानतः पालना हुन नसक्ने धारा हटाउनुपर्छ भन्ने धारणा पनि आउँछ । जब विधानका धारा पालना हुँदैन भने किन राख्‍ने ? महाधिवेशनका बेला ‘फ्लोर’बाट यो प्रश्न आउँछ । तर पार्टीका वरिष्ठ नेताहरू त्यो धारा हटाउन मान्नुहुन्न । होइन, यो धारा राख्‍नैपर्छ भनी अडान लिनुहुन्छ ।

त्यसो भए, क्रियाशील सदस्यता विवाद हरेक महाधिवेशन खेप्दै जानुपर्छ होइन त ?

हो । यो विषय हरेक चोटि बेहोर्दै हिँड्नुपर्छ । अनि महाधिवेशनमा धाराहरू निलम्बन गर्दै निर्णय लिनुपर्ने अवस्था छ ।

अर्को त, दुई नम्बर प्रदेशमा क्रियाशील सदस्यता झन् बढी देखियो, पार्टी कार्यालयमा अनसनसम्म भए, त्यसरी विवाद आउनुमा तपाईंप्रति धेरैको गुनासो र आक्रोश देखियो नि ?

यसमा म प्रति कसैको गुनासो छैन । त्यो मसँग सम्बन्धित विषय पनि होइन । अरु नेताहरूले जानीजानीकन निम्त्याएको समस्या हो । उहाँहरूले नै उजुरी दिलाउन लगाउँदै समस्या पैदा गरेका हुन् । त्यहाँ मप्रति कसैको आक्रोश पनि छैन ।

क्रियाशील सदस्यता विषयमा तपाईंलाई नै दोषी देखाउँदै सांसद अमरेश सिंहले पदबाटै राजीनामा दिए, त्यो असन्तुष्टि होइन र ?

अमरेशजीलाई मसँग जोड्नुको कुनै तूक छ्रैन । अमरेशजीलाई त कसैले उचालिदिएका हुन् । उहाँको बारेमा म के कुरा गरुँ, होस् ।

तर, सांसद अमरेश सिंहले त तपाईंले अरुलाई अघि बढ्नै दिनुहुन्न भनी धारणा सार्वजनिक गरेका छन् नि ?

यो बेकारको कुरा हो । त्यसो भए शेरबहादुर देउवामाथि रामचन्द्र पौडेलले त्यस्तै आरोप लगाउनु होला । ती कुराहरू सब असान्दर्भिक हुन् । त्यसमा मैले जवाफ दिनु कुनै जरुरी छैन ।

तपाईंले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ, अनि डा. शशांक कोइराला, प्रकाशमान सिंहसँग ‘सहमति’ खोज्‍ने प्रयास गर्दै हुनुहुन्छ, त्यसरी सहमति हुँदा तपाईंको उम्मेदवारी तल-माथि पर्छ कि के हुन्छ ?

मेरो उम्मेदवारीमा कुनै तल-माथि हुँदैन । मेरो उम्मेदवारी यथावत् कायम छ र रहन्छ । अनि हामी तीनबीच नेपाली कांग्रेस र देशले अपनाउने मुख्य नीतिहरूबारे ‘समान धारणा’ खोजिएको हो । 

तर, तपाईंहरूबीच सभापतिमा को लड्ने, को नलड्ने भन्‍ने सहमति हुन्छ कि हुँदैन ?

यतिखेरसम्म त्यसबारे कुनै छलफल भएको छैन । कुनै सहमति भए तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ । 

तपाईं सिंगो प्यानलसहित महाधिवेशन जानुहुन्छ कि एक्लै ?

सभापति लड्दै छु । कता एक्लै हुने हो र मेरो टिम नै बन्छ । जुन टिम साच्चै अब्बल ठहरिनेछ । 

त्यसो भए, तपाई शेरबहादुर देउवासँग पूरै ‘डि-ट्याच’ हुँदै प्रतिस्पर्धामा होमिन खोज्‍नुभएको हो ?

यसमा ‘एट्याच’ या ‘डिट्याच’ भन्ने हुँदैन । मैले शेरबहादुर देउवालाई भनिरहेको छु कि तपाईं राम्रोसँग सरकार सञ्चालन गर्नुस् । त्यसमा मेरो सहयोग हुन्छ । पार्टी सभापति निम्ति शेरबहादुर देउवाले मलाई प्रस्ताव र समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ । यदि उहाँले प्रस्ताव गर्नु भएन भने म सभापतिको उम्मेदवार हुन्छु भनिरहेकै छु । 

शेरबहादुर देउवा समूहबाट तपाईंलाई प्रस्ताव गर्ने सम्भावना छ ?

सम्भावना छ । शेरबहादुर देउवाले चाहने हो भने पनि जतिसुकै बेला गर्न सक्नुहुन्छ । म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. सशांक कोइराला, डा. शेखर कोइराला लगायत सबै नेताहरूको समर्थन खोजिरहेको छु । उहाँहरूको समर्थन प्राप्त होस् भन्ने मेरो इच्छा र आकांक्षा छ । उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि समर्थन प्राप्त हुने सम्भावना रहन्छ ।

तपाईंको उम्मेदवारीसँगै कांग्रेस र मुलुकका निम्ति तपाईंका एजेडा चाहिँ के हुन्छन् ?

आगामी निर्वाचनमा रुख छापले बहुमत पाउनुपर्छ । यो मेरो मात्र होइन, सबै नेपाली कांग्रेसका नेता÷कार्यकर्ताको चाहना हो । त्यो जनताको पनि चाहना हो । अनि साधारण अवस्थामा पनि आफ्नो पार्टीले जितोस् भन्ने हुन्छ । अझ यतिखेर विशेष परिस्थिति छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली ल्यायौँ । त्यो नेपाली कांग्रेसको नेतृत्वमा आएको हो । कांग्रेसले यसको स्वामित्व लिँदै कार्यान्वयन गर्नुपर्छ । यो संविधानमा उल्लिखित पद्धति र प्रणालीको कार्यान्वयनमा कांग्रेसले नेतृत्व लियो भने मात्र सफलता हासिल गर्न सकिन्छ ।

 गएको चुनावमा मतदाताले रुखमा मत नदिएर अरुलाई मत दिए । त्यसरी मत पाएको दलले हरेक क्षेत्रमा बर्बादीबाहेक के दियो र ?

अरुले नेतृत्व लिएको खण्डमा त्यो कार्यान्वयन हुन सक्दैन भन्ने त प्रमाणित भइसकेको छ, केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा । गएको चुनावमा मतदाताले रुख छापमा मत नदिएर अरुलाई मत दिए । त्यसरी मत पाएको दलले हरेक क्षेत्रमा बर्बादीबाहेक के दियो र ? राजनीतिक, आर्थिक, न्यायिक र अन्तर्राष्ट्रिय लगायत सबै क्षेत्रमा भाँडभैलो पैदा गरेको त देखिसक्यौँ । यो संविधानको सफल कार्यान्वयन निम्ति नेपाली कांग्रेसको रुख छापले मत पाउनुपर्छ । यो विषयसहित म कांग्रेसको सभापतिको हैसियतले मतदाता पुग्न चाहन्छु । त्यसकारण पनि सभापतिको उम्मेदवार बन्न लागेको हुँ ।

त्यसो त, सभापतिबाहेक कांग्रेसको अरु पदाधिकारी हुँदा पनि ती काम गर्न सकिँदैन र ?

अरु पदाधिकारी हुँदा काम चलेन । के हुन्छ भने नेपाली कांग्रेसको सभापति या फ्रस्ट पर्सनले जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको स्वामित्व लिँदैन, जबसम्म संविधानको स्वामित्व लिएको मतदातामा सम्प्रेषित गरिँदैन, तबसम्म मतदाताले भरोसा गर्दैनन् । त्यसकारण म नेपाली कांग्रेसके सभापति बन्न चाहेको हो । म अरुको नाम लिन चाहन्नँ, कोही भन्छन्, म अन्तिमपटक हो, त्यसकारण म सभापति बन्न चाहन्छु ।

कसैले भन्नुहुन्छ, म कांग्रेसमा न्याय पाउन सभापतिको उम्मेदवारी बन्न खोजेको हुँ । कतिले भनेको सुनिरहेको छु कि फलानालाई म मात्रै हराउन सक्छु । कोही भन्छन् उमेरका कारण एक पटक मात्र सभापति बन्न चाहन्छु । मेरो त्यो उद्देश्य होइन । मेरो उद्देश्य आगामी निर्वाचनमा रुख छापले बहुमत प्राप्त गराउन नवनिर्वाचित पार्टी सभापति हैसियतले जनताकहाँ जान पाऊँ कि साढे तीन वर्षअघि भएको चुनावमा रुख छापमा मत नदिएको कारणले भाँडभैलो भएको हो ।

त्यहीकारण संविधान, प्रणाली, पद्धति असुरक्षित भएका हुन् । यो काम नेपाली कांग्रेसले मात्र गर्न सक्छ । संविधानमा प्रणाली र पद्धति बनाउन कांग्रेसकै भूमिका छ । नत्र संविधानसभामा चिरा–चिरामा भए पनि कम्युनिस्टहरू बहुमतमा थिए । अनि क्षेत्रीयतावादी, निर्दलवादी पनि थिए । नेपाली कांग्रेस त थोरै संख्यामा थियो । तैपनि कांग्रेसले धेरै जिम्मेवारी महसुस गरेर निर्दलवादी, एक दलवादी, राजावादी, परम्परावादी, क्षेत्रीयतावादी, कम्युनिस्टवादी संविधान बन्न दिएन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थासहितको संविधान बनायौँ । यी कुरा नेपाली कांग्रेसको सभापति हुँदा भरपर्दो तरिकाले भन्न सक्छ । म त्यो कुरा भरपर्दो तरिकाले जनतासँग भन्न चाहन्छु ।

के त्यसो भए, कुरा भन्न सक्ने क्षमता अरु नेतामा छैन र ?

त्यो प्रश्न अरु नेताहरूसँग नै सोध्‍नोस् । मलाई लागेको कुरा मैले भन्ने हो । 

कांग्रेस त सामूहिक नेतृत्वबाट चल्दै आएको पार्टी हो, अब तपाईं सभापति भएको खण्डमा सामूहिक नेतृत्व हुन्छ कि एकल नेतृत्व ?

नेपाली कांग्रेस अहिले पनि सामूहिक नेतृत्वमा नै त छ । अर्को कुरा पार्टीमा पनि सुधार जरुरी छ । मैले अघि पनि भने नि हरेक महाधिवेशनमा विधान निलम्बन गर्नुपर्ने स्थिति आउनु हुन्छ र ? यसरी हरेक पटक विधानका धाराहरू निलम्बन गर्नु नपरोस् । हामी यसरी विधानलाई परिपालना गरौँ कि जसले गर्दा सहज र लोकतान्त्रिक ढंगले कांग्रेसको सदस्यता प्राप्त गर्ने अवसर मिलोस् । हरेक वर्ग-समुदायमा कांग्रेसप्रति आकर्षित गर्न सहज ढंगले गर्न सकियोस् । 

कांग्रेसको नेतृत्व सरकार गठन भएको एक महिना पुग्दै छ, अझसम्म सरकारकै आकारलाई दिन सकेको देखिँदैन, यसले कांग्रेसप्रति वितृष्णा फैलाउँदैन र ?

पार्टीभित्र कुनै समस्या नै छैन । पार्टीमा त शेरबहादुर देउवालाई सबैले सहयोग गरेकै छन् । अब बाँकी जिम्मेवारी त उहाँको हो । हो, गठबन्धनको सरकार बनाउन गाह्रो हुन्छ, त्यो सजिलो छैन ।
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x