वार्ता

एक चोटि हार्दैमा मेरो राजनीतिक यात्रा रोकिन्न

उपेन्द्र अर्याल |
चैत २४, २०७९ शुक्रबार १८:१८ बजे

पूर्व डिआईजी रमेश खरेलले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबट उम्मेदवारी दिएका छन् ।  खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै २०७४ सालमा पदबाट राजीनामा  दिएका थिए । त्यसबेला सरकारले डिआइजी सर्वेन्द्र खनाललाई उनको साटो प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । आफ्नो कार्यकालमा खरेल एकदमै चर्चामा थिए । खासगरी पर्सामा कार्यरत रहँदा एसपी खरेल भन्ने नामले अझै बढी चर्चित भए  । उनको कामबाट प्रभावित भएर ‘एसपी खरेल द रियल हिरो’ भोजपुरी फिल्म नै बनेको थियो । पर्सामा ‘हिरो'का रूपमा देखिएका एसपी खरेलले यसपटको उपनिर्वाचनमा बारा–२ मा स्थापित दलका नेतासँग प्रतिस्पर्धा गर्दैछन् । गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट चुनाव लडेका उनले उपनिर्वाचनमा भने रास्वपाबाट उम्मेदवारी दिएका छन् । बारा–२ मा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । उनै पूर्व डिआईजी खरेलसँग इकागजका उपेन्द्र अर्यालले उनको उम्मेदवारी, रास्वपा प्रवेश लगायतका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

​फेरि चुनाव लड्न लाग्नु भएको छ, यो पालि चाहिँ जितिन्छ त ?


म मतदाताका बीचमा घुमिरहँदा उहाँहरू एकदमै खुसी भएको पाएको छु । म यहाँका लागि नौलो मान्छे पनि होइन । एसपी खरेल भनेर सबैले चिनेका छन् । पर्सामा प्रहरीका रूपमा काम गर्दा धेरैले नाम सुनेको तर मान्छे नभेटेका रहेछन् । अहिले म एसपी खरेल भनेर मतदातामा पुग्दा उहाँहरूले मलाई एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ । त्यसैले जित्छु भन्ने लागेको छ ।

काठमाडौँबाट हारेपछि मधेस झर्नु भएछ, यसपटकको उम्मेदवारी के का लागि ?

म राजनीतिमा सेवा गर्छु भनेर आएको हुँ । राजनीतिक यात्रा एक पटक हार बेहोर्दैमा रोकिने होइन । मेरो अजेन्डा स्थानीय मानिसको आवश्यकता पूरा गर्न मद्दत गर्ने हो । यहाँ उत्तर दक्षिणमा नेपाल–भारत जोड्ने बाटो छ, त्यसलाई बनाउने र यहाँको आर्थिक विकास गर्ने मेरो मुख्य अजेन्डा हो । यो बाटो फास्ट ट्र्याकसँग पनि जोडिन्छ । बारा जिल्लामा कृषकहरू धेरै भएको जिल्ला भएकाले उहाँहरूलाई खेतीपाती गर्नका लागि सहजीकरण गर्ने हो । अहिले मल, पानी बीउ जस्ता आवश्यक वस्तु किसानले पाइरहेका छैनन् । त्यसमा म सहजीकरण गर्नेछु । सुशासन पनि मेरो मुख्य अजेन्डा हो । सुशासन बारामा मात्रै नभएर देशभरै चाहिएको छ । मधेशममा अहिले पनि आम मानिसमा शिक्षा र स्वास्थ्यको पहुँच छैन । कतिपय कुरामा मधेश कर्णाली भन्दा पनि धेरै तल छ । ती कुरालाई मैले महत्व दिएको छु । खुला सीमा भएकाले यहाँको सुरक्षाको विषयलाई पनि व्यवस्थापन गर्ने मेरो योजना हो । 

तपाईंसँग हेभिवेट नेताहरू पनि लड्दै हुनुहुन्छ । उहाँहरूलाई हराएर जित्ने आधार के छ ?

त्यहाँका मतदाता सचेत भइसकेका छन् । उनीहरूलाई पुराना नेताहरूले धेरै वाचा गरेर पनि पूरा भएका छैनन् । म पनि मधेसमा बसेर लामो समय सेवा गरेको मान्छे हुँ । मैले पर्सामा बसेर सेवा गर्दा यहाँका मतादाताको एक किसिमको विश्वास जितेको छु । बाराका जनताले इमानदार प्रतिनिधिको खोजी गरिरहेको छ । म पनि इमानदार भएर काम गर्ने वाचा गर्छु । मैले सेवामा रहँदा पनि कुनै भ्रष्टाचारमा मुछिइनँ । मेरो स्वच्छ छवि पनि एउटा जित्ने आधार हो । 

तपाईंले आफैँले अध्यक्षता गरेर खोलेको सुशासन पार्टी छाडेर किन राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्नुभएको हो ?

सबै पार्टी टुक्रा टुक्रा भएर केही काम गर्न नसकिने रहेछ । विचार मिल्ने पार्टीहरू  संगठित काम गर्नुपर्ने रहेछ भन्ने लाग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै राम्रै उचाइ पाएको छ । सुशासनको पक्षमा उभिएको छ । भोलि कस्तो काम गर्छ त्यो पछिको कुरा हो । अहिलेको आम मानिसमा पनि लोकप्रिय पार्टी भएको छ । हाम्रो अजेन्डा पनि सुशासन कायम गर्ने भएकाले म यस पार्टीतिरै जोडिएको हुँ । स–साना पार्टी एक्ला एक्लै बस्नेभन्दा विचार मिल्ने पार्टीसँग मिलेर बढ्नु ठीक लागेर म यस पार्टीमा जोडिएको हुँ । 

तर, अहिलेका तपाईंको पार्टी सभापति रवि लामिछानेको अझै पनि राहादानी मुद्दा अदालतमा विचाराधीन छ । नागरिकताको विषयमा पनि अदालतले उहाँको पदै खारेज गरिसकेको छ । यस्तो अवस्थामा तपाईंहरूले सुशासनको मुद्दा उठाउनुहुन्छ भनेर मतदाताले कसरी विश्वास गर्ने ?

यस्ता कुराले केही फरक पर्दैन अहिले । यो अदालतमा मुद्दा चलिरहेको विषयमा म केही भन्दिनँ । तर, पार्टी एक जनाको मात्रै होइन, हामी सबैको हो । कांग्रेसमा बिपी नभए पनि चलिरहेको छ । त्यस्तै यहाँ रविजीसँगै अन्य धेरै बौद्धिक साथीहरू पनि हुनुहुन्छ । त्यसैले हामीले जनतालाई सुशासन दिलाउँछौँ । हाम्रो सभापतिजीले गलत गरेको ठहरिए उहाँको विपक्षमा फैसला गर्ला । तर, उहाँको विपक्षमा फैसला गरे पनि हाम्रो पार्टी त चलिरहन्छ, किनकि यो सामूहिक प्रयत्न हो । 

पाईंले उपनिर्वाचन जितेर आउनुभयो भने बाराका जनताका कुन कुन मुद्दालाई संसद्‍मा पुर्‍याउनुहुन्छ त ?

सबभन्दा ठूलो मुद्दा यहाँको सडक भारतको सीमा जोड्नलाई पहल गर्छु । यसले यहाँको विकासमा ठूलो योगदान दिन्छ । यहाँको खेतमा नहर छ, तर पानी छैन । किसानका मुद्दालाई उठाउँछु  । म नीतिगत रूपमा समाधान गर्न लाग्छु ।

मधेसमा त किसानहरू मिटरब्याजका साहुबाट पीडित भएका समाचार आएका छन् । यसबारे तपाईंले कत्तिको ध्यान दिनुभएको छ ? उनीहरूको मुद्दालाई तपाईंले कसरी उठाउनुहुन्छ ?

मैले यो मुद्दालाई एकदमै नजिकबाट अध्ययन गरिरहेको छु । यसलाई यो सरकारले एउटा वार्ता टोली बनाएको  छ । तर, सरकारले उनीहरूको समस्या समाधान गर्छ जस्तो लागेको छैन । यस विषयमा संसद्‍मा बुलन्द ढंगले आवाज उठाउने छु ।  किसानका मुद्दालाई समाधान गर्न कानुन बनाउन पहल गर्छु । उनीहरूलाई न्याय दिलाउनु नै मेरो मुख्य उद्देश्य हुनेछ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x