पूर्वाधार

मुग्लिन-पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

इकागज |
माघ ६, २०८० शनिबार १९:३५ बजे

मुग्लिन-पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा कालोपत्रे गरिँदै । पूर्वी खण्डअन्तर्गत हालसम्म १९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

तनहुँ- मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् ।

घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन-पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब रु छ करोड खर्च हुनेछ । 'सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत  वितरण सकिन्छ, अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किसक्ने अपेक्षा गरिएको छ,' उनले भने ।


जिल्लाको बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार क्षेत्रबाट सडक विस्तार तीव्र गतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए । घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय-समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउनका लागि प्रोत्साहन गर्नेलगायतका काम भइरहेको उनले बताए ।

मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमीमा कालोपत्र सम्पन्न भएको हो । पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए । 

आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमीमा कालोपत्रको काम भएको । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्नका लागि बेस हाल्ने काम भइरहेको छ ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । ४१ दशमलव ४५ किलोमिटर दूरीको यो खण्डको काम आगामी वैशाखसम्म सक्नुपर्ने सम्झौता छ । 

त्यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको तुलनामा कम उक्त खण्डमा हालसम्म १४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।


Author

थप समाचार
x