घटना-दुर्घटना

जिप दुर्घटना अपडेट : मृतक संख्या आठ पुग्यो (नामसहित)

इकागज |
चैत १, २०८० बिहीबार १६:४५ बजे

काठमाडौँ- सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहारसम्मका लागि हिँडेको को १ ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा मृत्यु हुने संख्या आठ पुगेको छ । सुनसरीबाट भोजपुर हिँडेको बोलेर उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको थियो । दुर्घटना परि घटना स्थलमै सात जनाको मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरूमा चालक इटहरी नगरपालिका १६ सुनसरीका ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० वर्षीया पर्वतमाया राई, भोजपुरा हतुवागडी २ कै २३ वर्षीय चन्द्रप्रकाश राई, सोही ठाउँका ६ महिने बालक दिसांग राई, भोजपुरा हतुवागडी ९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुरा हतुवागडी ५ का ३० वर्षीया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० वर्षीया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाइते भएकाहरूको सुनसरीको धरान स्थित घोपा क्याम्पमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बिशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री कटवाल “रमा“ सुशील परियार, कुलाबुंग राई र निकिता कटवाल रहेका छन् । घाइतेहरूमध्ये शान्तिकाला राईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइते शान्तिकलाको ६ महिनाको बालिकाको भने घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना भएको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएकाहरू जिपमा चेपिएका थिए । मृतकको शव पोस्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x