स्वास्थ्य

वीर अस्पताल बदनाम गर्ने काम भित्रकै केही बिचौलियाले गरेका छन् : मन्त्री बस्नेत

इकागज |
कात्तिक २५, २०८० शनिबार १४:११ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पताल भित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन् ।

शनिबार बिहान वीर अस्पताल सरसफाइ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दाबी गरे ।


मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र बिचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन् । उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ । ’

देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरि कै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दाबी गर्दै वीर अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा  मन्त्री बस्नेतले जोड दिए । वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरी तलब खाने बिचौलियाबीचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नु पर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए ।

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउँदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड नि:शुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दाबी गर्दै केही बिचौलियालाई राम्रो काम गरेको देखि सहन नसकेर वीरको बदनाम गर्दै हिँड्ने गरेको बताए । वीर अस्पताल सधैं सफा सुग्घर हुनु पर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरसफाइका क्षेत्रमा पनि वीरले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले तिहारको बेला अरु ठाउँहरू सफा सुग्घर र झिलिमिली बनाए जस्तै वीर अस्पतालमा पनि सफा सुग्घर र झिलिमिली पार्न सरसफाइ अभियानको सुरु गरिएको र यो कार्य निरन्तर जारी रहने बताए । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आठ समूह बनाएर वीर अस्पताल सरसफाइ अभियान सुरु गरेको बताए ।

सफाइ अभियानमा न्याम्समा पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारी सरसफाइ अभियानमा सहभागी भएका थिए । मन्त्री बस्नेतले सरसफाइमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जासहितका सामग्री हस्तान्तरण गरेका थिए ।


Author

थप समाचार
x