सरकार

जितगढीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न राष्ट्रपतिको सुझाव

इकागज |
पुस २०, २०८० शुक्रबार १७:५३ बजे

लुम्बिनी- राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनले जितगढी एउटा महत्वपूर्ण नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताएका हुन् ।

बुटवल उपमहानगरपालिका-१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्र धारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताए ।


राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकामा खुसी व्यक्त गरे । 'यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु,' उनले भने, नेपाली सेनाले तीनवटै तहका सरकारसँग मिलेर जितगढी पु्नःनिर्माणसम्बन्धी गुरुयोजनाअनुसार काम गरिरहेकोमा खुसी व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल-अङ्ग्रेज युद्धको अध्ययन-अनुसन्धान गर्ने र पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, 'बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दछु ।'

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताए । 'नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य नेपाली सेनाले गर्दै आएको छ,' उनले भने । 

राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवलसहितका नगरलाई जोडेर बृहत् सहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे । किल्लाको पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गन अपेक्षा गरेको राष्ट्रपति पौडेलले बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकय स्थलको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले सङ्घले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताए । मुख्यमन्त्री चौधरीले संघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गरे ।

नगरप्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गरे । 

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्राम स्थल बनाउने योजना रहेको बताइन् । जितगढीको ऐतिहासिक महत्वबारेमा इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x