फुटबल

युद्धका कारण खलिद मोहम्मदले तय गरेको फुटबलको मैदानदेखि अस्पतालसम्मको यात्रा

सञ्जीव शाह |
पुस २७, २०८० शुक्रबार १६:३२ बजे

खलिद मोहम्मद अबु-हाबेलको दैनिकी गाजामा रहेको अस्पतालमा कक्षा लिने, आफ्ना सहपाठीसँग चिकित्सा र स्वास्थ्य सेवाबारे छलफल गर्ने, आफ्ना आमाबाबुसँग खाजा-खानका लागि घर फर्कने, फुटबल प्रशिक्षणमा भाग लिने र राति पुनः अध्ययन गरेर बित्थ्यो ।

मजदुर वर्गको परिवारमा जन्मिएका खलिद मोहम्मदको आफ्ना चार दाजुभाइ र आमाबुबासँग एउटा सानो घरमा बस्थे । गाजामाथि इजरायली नाकाबन्दीका कारण खलिद अहमदको परिवारले सधैं पैसाको अभाव झेले पनि उनको चिकित्सक (डाक्टर) सँगै फुटबलर बन्ने सपनालाई साकार पार्न समर्थन गर्दै आएको थियो ।


‘मेरो लागि फुटबलभन्दा चिकित्सक बन्नु महत्वपूर्ण छ । म दुवैलाई माया गर्छु तर चिकित्सा विज्ञान निस्सन्देह बढी सम्मानजनक र महत्त्वपूर्ण छ,' खलिद मोहम्मदले भने ।

खलिद मोहम्मदका अनुसार उनले दिनहुँ पाँचदेखि सात घण्टा अध्ययन गर्थे भने हप्ताको दुईदेखि तीन दिन फुटबलको अभ्यास गर्थे । उनी दिनमा केवल ६ घण्टा मात्र सुत्ने गर्थे ।

'तर, ती प्यारा दिन थिए'

खलिद मोहम्मदका लागि ती प्यारा दिन केवल सन् २०२३ को अक्टोबर ७ सम्म मात्र सीमित भए । इजरायलले गाजामाथि आक्रमण थालेयता गाजामा २३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको अल-जजिराले जनाएको छ ।

युद्ध सुरु भएपछि उनको परिवार मघाजीबाट भागेर नुसिरत शरणार्थी शिविरमा गए । गत महिना उनीहरू पुनः फर्किए । तर, गत हप्ता जब इजरायली ट्याङ्कहरूले मघाजीलाई घेरे, उनी देइर अल-बालाहमा भागे ।

फुटबल भनेको जीवन हो

विगत १५ वर्षदेखि इजरायली घेराबन्दीमा बाँचिरहेका गाजावासीका लागि फुटबल नै जीवन हो । गाजामा सञ्चालित चार तहको फुटबल लिगका लागि दर्जनौँ क्लबहरू स्थापना भएका छन् । सकेसम्म सबैले खेल हेर्न पाओस् भन्ने उद्देश्यले लिगका खेलहरू खास गरी हप्ताको अन्त्यतिर आयोजना गर्ने गरिएको छ ।

फुटबल खेल हेर्न बालबालिकाको बाक्लो उपस्थिति हुने गरेको थियो । अहिले इजरायली आक्रमणको सिकार ती बालबालिका पनि हुने गरेका छन् । साथै उनीहरूको मनोरञ्जनको अधिकार पनि खोसिएको छ ।

इजरायली आक्रमणमा मारिएकामध्ये ९ हजारभन्दा बढी बालबालिका रहेका तथा अन्य कैयौँ भग्नावशेषभित्र हराइरहेका अल-जजिराले जनाएको छ ।

'फुटबल नछोएको तीन महिना बित्यो'

फुटबलमा जीवन खोजिरहेका सयौँ युवाजस्तै २२ वर्षीय खलिद मोहम्मद पनि अहिले फुटबल खेल्नबाट वञ्चित भएका छन् ।

फुटबल छोड्न नसक्ने खलिद मोहम्मदका अनुसार फुटबल र चिकित्सा विज्ञान (डाक्टर बन्ने सपना) लाई सँगसँगै लैजानका लागि परिवारलाई मनाउन सफल भएका थिए ।

एक वर्षअगाडि नै खलिद मोहम्मद आबद्ध क्लब अल-अताले तेस्रो डिभिजनको फुटबल लिग जित्दै दोस्रो डिभिजनमा पनि बढुवा भएको थियो ।

९ वर्षकै उमेरदेखि खेल्दै आएको बाल्यकालको क्लब खदामत अल-मघाजीबाट लोनमा उनी सन् २०२२ मा अल-अतामा आबद्ध भएका थिए ।

'यस सिजनमा आफ्नो पूर्ण क्षमता देखाउने तयारी गरेको भए पनि इजरायली आक्रमणका कारण सबथोक बदलिएको छ । मैले फुटबल नछोएको पनि तीन महिना भइसक्यो,' इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा स्पेनिस क्लब बार्सिलोनालाई मन पराउने खलिद मोहम्मदले थपे ।

विगत तीन महिनायता भने खलिद मोहम्मद अल-अक्सा शहिद अस्पतालमा स्वयंसेवक चिकित्सकको रूपमा काम गरिरहेका छन् । उनी हप्तामा ७२ घण्टासम्म काम गर्छन् ।

आफ्ना मान्छेको माया तथा चिकित्साप्रतिको लगावका कारण अस्पतालमा काम गर्न थालेको बताउने खलिद मोहम्मदका अनुसार अहिले गाजाका मानिसका लागि उनको आवश्यकता छ ।

उनले सन् २०१९ देखि चिकित्सा विज्ञान पढ्न थालेको अल-अझार विश्वविद्यालय भने अहिले भग्नावशेषमा परिणत भइसकेको छ ।

'म पढ्नका लागि अस्पतालमा हुनुपर्थ्यो तर कथा परिवर्तन भइसकेको छ । अहिले म पीडाका कारण भुईँमा छटपटाइरहेका तथा रोइरहेकाहरूको हेरचाहमा समर्पित छु,' उनी थप्छन् ।

(अल-जजिराका अबुबकर अबेदको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x