फुटबल

कतार विश्‍वकपको केन्द्रमा मेस्‍सी

इकागज |
मंसिर २८, २०७९ बुधबार ११:८ बजे

काठमाडौँ - अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी विश्वकप उपाधि चुम्नबाट केवल एक पाइलामात्र टाढा छन् । त्यतिमात्र नभएर जीवनकै पहिलो विश्वकपको उपाधि जित्न उनी केवल ९० मिनेट मात्र टाढा छन् ।

हालसम्म अन्य सबै खाले उपाधि जिते पनि मेस्सीले केवल विश्वकपको उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक यदि अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारे, मेस्सी नै सबैको केन्द्रविन्दुमा रहने निश्चित छ ।


जसरी सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा डिएगो म्याराडोना तथा सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि उचाल्दा रोनाल्डो नायक बने, त्यसरी नै अर्जेन्टिनाले कतार विश्वकप जित्दा मेस्सी नायकको रूपमा रहनेछन् ।

कतार विश्वकपमा अर्जेन्टिनाको सुरुवात भने साउदी अरेबियासँगको अप्रत्याशित हारबाट भएको थियो । तर मेस्सी र जुलियन अल्भारेजको टिमले अर्जेन्टिनालाई लयमा मात्र पुर्‍याएनन्, अर्जेन्टिनाले आइतबार हुने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

छैटौं पटक फाइनलमा पुगेको तथा यसअघि दुई पटक उपाधि जितेको अर्जेन्टिनाले तेस्रो उपाधिका लागि मोरक्को वा फ्रान्सविरुद्ध खेल्नेछ ।

विश्वकपको सर्वाधिक २५ खेल खेल्ने लोथार म्याथुअसको कीर्तिमान बराबरी गरेका ३५ वर्षीय मेस्सी अहिले पनि उच्च लयमा छन् र उनी फाइनलका लागि तयार छन् ।

क्रोएसियाविरुद्धको खेलमा अन्तिम सीटी बजेपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको काखमा आँशु चुहाए । स्कालोनीको आखाबाट आँशु झर्नु भनेको दुवैलाई आफ्नो करियरको उतरार्धमा विश्वकपको उपाधि नजिक पुर्‍याएका कारण पनि हो ।

अर्जेन्टिनाले कतार विश्वकपमा ११ गोल गर्दा मेस्सी एक्लैले ५ गोल गरिसकेका छन् । समग्रमा मेस्सीले विश्वकपमै ११ गोल पुरा गरिसकेका छन् ।

श्रोतः बीबीसी ।


Author

थप समाचार
x