फुटबल

१९६३ मै फिफाको सदस्यता प्राप्त गरेको कतारको विश्वकप यात्रा

इकागज |
कात्तिक २३, २०७९ बुधबार १३:३ बजे

काठमाडौँ- नोभेम्बर २० मा कतारले कीर्तिमान कायम गर्दैछ, त्यो पनि फिफा विश्वकपमा छनोट नभइ आयोजकको नाताले डेब्यु गर्नु ।

फिफाले सन् २०१० को डिसेम्बरमा कतारले २०२२ को विश्वकप आयोजना गर्ने निर्णय सार्वजनिक गर्‍यो । जसका कारण गल्फ राष्ट्र कतारका फुटबल समर्थकहरूलाई उत्साहित तुल्यायो ।


तर कतारमा भने फुटबल लामो समयदेखि नै चर्चित खेलको रूपमा रहेको थियो । सन् १९६० मा कतार फुटबल एसोसियसन स्थापना भइ तीन वर्षपछि फिफाको सदस्यता प्राप्त गरेको थियो ।

सुरुवाती दुई दशकमा अन्तर्राष्ट्रिय प्रतियोगिताका अधिकांश खेलहरूमा हार बेहोरेको कतारले सन् १९८४ को गल्फ कपमा आफ्नो छाप छाड्न सफल भयो । गल्फ कपको फाइनलमा पुग्यो तर इराकसँग पराजित हुन पुग्यो ।

सन् १९९० को दशक भने कतार फुटबलको उदयको रूपमा रह्यो ।

सन् १९९२ मा कतारले पहिलो पटक गल्फ कपको उपाधि जित्दै ओलम्पिकका लागि छनोट भयो । कैयौँ पटक विश्वकप छनोट हुने संघारमा पुगेर पनि छनोट हुन सकेन ।

सन् १९९० को विश्वकपका लागि भएको छनोटको अन्तिम चरणमा तेस्रो भएपछि विश्वकप खेल्नबाट चुक्यो । त्यसैगरी, प्लेअफमा साउदी अरबसँग पराजित भएपछि सन् १९९८ को विश्वकपमा पनि छनोट हुन सकेन ।

तर सन् २००० को दशकमा क्षेत्रीयस्तरमा भने कतारले प्रगति गर्दै गयो र एसियन गेम्समा स्वर्ण हात पार्‍यो । तर उसका लागि सबैभन्दा ठूलो सफलता भने सन् २०१९ मा प्राप्त भयो । कतारले सन् २०१९ मा पहिलो पटक एसियन कपको उपाधि जित्यो ।

युएईमा भएको एसियन कपको समूह चरणमा तीनवटै खेल जित्यो भने अन्तिम १६ मा इराकलाई पाखा लगायो । क्वार्टरफाइनलमा दक्षिण कोरिया तथा सेमिफाइनलमा युएई र फाइनलमा जापानलाई हराउँदै कतारले एसियन कपको उपाधि जित्यो । प्रतियोगिताभरी केवल फाइनलमा एक गोल खाएको थियो ।

एसियन कपको उपाधि जितेको कतारको टिमको भव्य स्वागत गरियो तथा विश्वकपका लागि अपेक्षा समेत बढ्यो ।

सन् २०१९ पछि कतारको नतिजा सामान्य छ । सन् २०१९ को कोपा अमेरिका खेल्न पुगेको कतारले ३ खेलमा पराजय भोग्दा १ खेलमा बराबरीको नतिजा निकाल्यो । सन् २०२१ को कोन्काकाफ गोल्डकपको सेमिफाइनलसम्म पुग्यो ।

कतार फुटबलले पछिल्ला वर्षहरूमा गरेको प्रगतिका कारण विश्वकपमा कतार नकआउट चरणसम्म पुग्ने अपेक्षा गरिएको छ ।

आयोजक कतारले पहिलो खेल नोभेम्बर २० मा इक्वेडर, दोस्रो खेल सिनेगलसँग नोभेम्बर २५ तथा अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध नोभेम्बर २९ मा खेल्ने तालिका रहेको छ । ​अलजजिरा


Author

थप समाचार
x