फुटबल

युवा खेलाडीको भरमा विश्वकप जित्ने ब्राजिलको लक्ष्य

इकागज |
कात्तिक २१, २०७९ सोमबार १४:२ बजे

काठमाडौँ- कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपमा आफ्नो यात्रा सुरु गर्दा ब्राजिल एक उपाधि दाबेदारको रूपमा रहनेछ । ब्राजिल कीर्तिमानी ६ पटक विश्वकप जित्ने लक्ष्यसहित कतारको यात्रामा हुनेछ । 

तर, ब्राजिल युवा खेलाडीको भरमै विश्वकपको उपाधि उचाल्न चाहन्छ । ब्राजिलीयन टिमका मुख्य प्रशिक्षक टिटे रियल मड्रिडका विङगर भिनिसियस जुनियर तथा फरवार्ड रोड्रिगो, बार्सिलोनाका विङगर राफिन्हा र आर्सनलका स्ट्राइकरद्वय गाब्रियल जेसस तथा गाब्रियल मार्टिनेली जस्ता खेलाडीमा भर परेका छन् ।


त्यसैगरी, न्यूकासलका मिडफिल्डर ब्रुनो गुमारेज, म्यानचेस्टर युनाइटेडका विङगर एन्टोनी तथा टोटेनहमका फरवार्ड रिचार्लीसनले ब्राजिल टिमलाई बलियो बनाएको छ । 

ती सबै खेलाडी २५ वर्ष वा त्योभन्दा कम उमेरका छन् र उनीहरूको प्रदर्शन विश्व स्तरीय छ । उनीहरूकै भरमा प्रशिक्षक टिटेले ३० वर्षीय फरवार्ड नेयमारमाथिको दबाबलाई कम गर्ने अपेक्षा गरेका छन् ।

नेयमारले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेयमारसँगै युवा खेलाडीहरूको उत्कृष्ट लयको भरमा ब्राजिल विश्वकप जित्ने कुरामा विश्वस्त देखिन्छ । 

टिटेले नै युवा खेलाडीहरूको आगमनले नेयमारलाई मैदान बाहिर र भित्र सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ब्राजिललाई दुईपटक विश्वकपको उपाधि दिलाएका रोनाल्डोले पनि युवा खेलाडीहरूको आगमनले नेयमारमाथिको दबाब कम गर्ने तथा ब्राजिललाई दाबेदार बनाएको विश्वास व्यक्त गरेका थिए । 

नेयमारले ‘सेन्ट्रल रोल’ मा बस्दा अन्य युवा खेलाडीहरूलाई उनी वरिपरि खेल्न सहज हुने गरेको छ र सोही कारण मैत्रीपूर्ण खेलमा ट्युनिसियालाई ५-१ तथा घानालाई ३-० ले पराजित गर्दा टिटेले पाँच फरवार्डलाई खेलाएका थिए । 

विश्वकपका लागि एक टिममा २६ खेलाडी राख्न पाउने तथा ५ खेलाडीलाई परिवर्तन गर्न सकिने भएपछि ब्राजिलले ९ फरवार्डलाई समावेश गर्ने अपेक्षा गरिएको छ । ब्राजिललाई विश्वका उत्कृष्ट गोलरक्षकहरू अलिसन र इडरसनले पनि बलियो बनाएका छन् । (श्रोतः रोयटर्स)


Author

थप समाचार
x