फुटबल

विश्वकप २०२२

फिफा विश्वकप : कस्तो छ पोर्चुगिज टिम ?

इकागज |
कात्तिक १९, २०७९ शनिबार १२:४६ बजे

काठमाडौँ- कतारमा हुने फिफा विश्वकप सुरु हुन अब केही दिनमात्र बाँकी रहँदा फुटबल समर्थकहरू उत्साहित बन्दै गएका छन् । आफूलाई मनपर्ने चर्चित खेलाडीहरूलाई नजिकबाटै हेर्न पाउने भएका कारण पनि समर्थकहरू उत्साहित बनेका हुन् ।

विश्वकप केवल क्रिस्टियानो रोनाल्डो वा लियोनल मेस्सीबारेमा मात्र नभए पनि फुटबल यी चर्चित खेलाडीहरूले केही न केही छाप छाड्ने अपेक्षा भने गरिएको छ ।


तर ३७ वर्षीय रोनाल्डोले पोर्चुगललाई विश्वकपको उपाधि दिलाएर आफ्ना फुटबल बुट भित्तामा झुन्ड्याउनेछन् वा उनको त्यो सपना अधुरै रहने हो भन्ने अधिकांशको चासोको विषय हो ।

पोर्चुगलले युईएफए नेसन्स लिग तथा युरोपियन च्याम्पियनसीपको उपाधि हात पारेपनि विश्वकप भने जित्न सकेको छैन । पोर्चुगल यस पटक भने रोनाल्डोसँगै ब्रुनो फर्नान्डेज, जोआव क्यान्सेलो, रुवेन डियाज तथा बर्नान्डो सिल्भाजस्ता खेलाडीमा समेत भर पर्नेछ ।

यस पटकको विश्वकपको समूह चरणमा पोर्चुगल फिफा वरियताको हिसाब अन्य टिमहरू घाना, उरुग्वे तथा दक्षिण कोरियाभन्दा माथि छ । समूह ‘एच’ मा रहेको पोर्चुगल सजिलै अर्को चरणमा प्रवेश गर्ने अपेक्षा भएपनि त्यसपछिको यात्रा भने पक्कै पनि सहज हुनेछैन ।

पोर्चुगलमा चर्चित खेलाडीहरू भएपनि उसले समूह चरणमै विभिन्न लिगका स्टार खेलाडीहरू सम्मिलित टिमहरूको सामना गर्नुपर्नेछ ।

पोर्चुगलले आफ्नो पहिलो खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्नेछ । घानामा इंग्लिस प्रिमियर लिगका चर्चित खेलाडीहरू थोमस पार्टी र तारिक लाम्पटी रहेका छन् र दुवैजना उत्कृष्ट लयमा रहेका छन् ।

पोर्चुगलका लागि समूह चरणमा सबैभन्दा ठूलो चुनौती भने उरुग्वे हुनेछ । लुइस सुआरेज, डार्विन नुनेज जस्ता खेलाडीले पोर्चुगल चुनौती दिन सक्ने अपेक्षा गरिएको छ ।

उसका लागि अर्को चुनौती भनेको दक्षिण कोरिया हो । सन् २०१८ को विश्वकपमा जर्मनीलाई पराजित गर्दै समूह चरणबाट घर पठाएको दक्षिण कोरियालाई भने पोर्चुगलले कम भने आँक्ने छैन ।

अझ प्रिमियर लिग क्लब टोटेनहमका लागि सन् २०१५ देखि मुख्य खेलाडीको रुपमा रहेका सन हेउङ्ग-मिङ्गले खेलमा नाटकीय परिवर्तन ल्याउन सक्छन् । सनले सन् २०१५ देखि टोटेनहमका लागि ९६ गोलसमेत गरिसकेका छन् ।

समूह चरण पार गरे ब्राजिल, सर्विया, स्विट्ल्यान्ड वा क्यामेरुनको सामना गर्नेछ भने त्यसअघि स्पेन, जर्मनी वा बेल्जिमविरुद्ध खेल्नुपर्ने हुन सक्छ । क्वार्टरफाइनलभन्दा माथि पुगे इंग्ल्यान्ड, अर्जेन्टिना र फ्रान्सजस्ता टिम उसको बाटोमा आउने सम्भावना रहन सक्छ । (युरोन्यूज)


Author

थप समाचार
x