अर्थ / बाणिज्य

अबिच्युरी

एक उद्यमीको महाप्रस्थान

पुष्पराज आचार्य |
साउन २६, २०७८ मंगलबार ८:५५ बजे

काठमाडौँ- उद्यम सञ्चालन गर्नु आफैंमा ‘मल्टीडिस्प्लीनरी’ (बहु विधागत) सवाल हो, त्यसैले थोरै मात्र सफल उद्यमी बन्न सक्छन् । त्यस्तै सफल उद्यमीमध्येका एक उद्यमी थिए– श्यामसुन्दरलाल कक्षपति । कक्षपतिको ७० वर्षको उमेरमा थाइल्याण्डको बुमरानग्राड अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भयो । उनी चार वर्षअघिदेखि मुखको क्यान्सरसँग संघर्षरत थिए । स्वास्थ्यमा प्रतिकूलता थपिदैं गएपछि चार महिनाअघि उनलाई उपचारका लागि बैंकक पुर्‍याइएको थियो । तर उपचारमा थप प्रगति भएन, उपचाररत रहँदा नै अस्पतालको शैयामा उनले सोमबार अन्तिम स्वास लिए ।

श्याम कक्षपतिको परिवार किराना व्यवसाय गर्थे । पिताको निधनपछि १९ वर्षको उमेरमा श्याम व्यवसायमा प्रवेश गरेका थिए । सन् १९७३ मा उनले राजधानीको मुटु मानिने रत्नपार्क क्षेत्रमा क्याफे दी पार्क शुरु गरेका थिए । पश्चिम नेपालको पाल्पा, तानसेन थातथलो भएको कक्षपति परिवारले व्यवसायिक कर्मको थलो काठमाडौँलाई बनाएको थियो । 


क्याफे दी पार्क सञ्चालन गरेपछि उनले त्यहाँबाट अलिक पर दरबारमार्गमा नाङ्लो क्याफे एण्ड पब शुरु गरे, सन् १९७६ मा । काठमाडौँमा विस्तारै पर्यटकीय गतिविधि बढ्दै थियो । पर्यटक सँगसँगै नेपालीहरूलाई पनि उनले ‘क्याफे कल्चर’ मा अभ्यस्त गराए । दुई वर्षपछि सन् १९७८ मा नाङ्लो क्याफे एण्ड पबमा चाइनिज रूम पनि थपियो । नेपालीलाई कन्टिनेन्टल साथै चाइनिज खानाको स्वाद चखाउने काम कक्षपतिले नै गरेका थिए । उनी नयाँ–नयाँ व्यवसायिक सोच जन्माइरहन्थे । त्यसलाई प्रयोग गर्थे । 

क्याफे दी पार्कबाट शुरु भएको श्याम कक्षपतिको व्यवसाय दरबारमार्गमा नाङ्लो क्याफे एण्ड पब हुँदै सन् १९८१ तिर बेकरी पनि थपियो । नाङ्लो बेकरीको नामबाट बेकरी आइटम उत्पादन शुरु भयो, शुरुवातमा नाङ्लो बेकरीले पाउरोटी उत्पादन गर्थ्यो। 

व्यवसायमा श्यामले एक–एक गर्दै पाइला अघि बढाइरहेका थिए । नाङ्लो रेष्टुरेन्ट एण्ड बारको अवधारणामा सञ्चालन भएको थियो भने फास्टफूड र क्याफे कल्चरलाई अघि बढाउन सन् १९९० मा बानेश्वरमा द बेकरी क्याफे खुल्यो । क्रमशः उपत्यकामा त्यसको चेन विस्तार गरिएको थियो । श्यामलाई व्यवसायमा उनका भाइ गोपाल सुन्दरलाल कक्षपतिले सघाइरहेका थिए । कक्षपति दाजुभाइको सहकार्यमा बेकरी क्याफेको चेन बिस्तार भयो । आफ्नो जन्मथलो पाल्पाको तानसेनमा पनि उनीहरूले ‘नाङ्लो वेस्टर्न’ सञ्चालनमा ल्याए, सन् १९९८ मा । उपत्यकाको नेवारी समुदायमा मःमः लोकप्रिय परिकार भएपनि यसलाई ब्राण्ड बनाउने काम बेकरी क्याफेको विस्तारसँगै भएको थियो । बेकरी क्याफेले मःमः, सिजलरलाई लोकप्रियता दियो । 

‘दाइले बाहिर ट्राभल गर्दा देख्नुभएको/अनुभव गर्नुभएको व्यवसायिक सोच यहाँ पनि गर्न सकिन्छ कि भनेर पनि शुरुवात गर्नुभयो,’ श्यामलाई सम्झदैं उनका भाई गोपाल सुन्दरलाल कक्षपति भन्छन्, ‘उहाँले मार्टको सम्भाव्यता परीक्षण गर्न पुतलीसडकमा नाङ्लो मार्ट सुरु गर्नुभयो, ट्याक्सी सेवा पनि शुरु गर्नुभयो । तर तत्कालीन परिस्थितिमा त्यो सफल भएन ।’

श्याम सुन्दरलाल कक्षपतिको व्यवसाय विस्तारमा सधैं लागिरहन्थे । सन् २००० पछि माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । श्यामले आन्तरिक पर्यटनलाई पर्यटन विकासको मजबुत आधार मान्थे । द्वन्द्वको उत्कर्षमा पुग्दा आन्तरिक पर्यटनले नै नेपाली पर्यटन व्यवसायलाई टिकाएका थियो । नेपालमा पर्यटकीय गन्तव्यको सीमितता छ, लाभका दृष्टिले पनि गोल्डेन ट्रयाङ्गल (सुनौलो त्रिकोण) काठमाडौँ–चितवन–पोखरालाई दृष्टिगत गरी उनले चितवनको कुरिनटारमा त्रिशुली नदी किनारमा रिभरसाइड स्प्रीङ रिसोर्ट सञ्चालनमा ल्याए । 

कक्षपति रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) का संस्थापक अध्यक्ष थिए । पछि सन् २०१२ मा उनी होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष बने । बाह्य पर्यटकका साथै उनले सधैं आन्तरिक पर्यटन विकासलाई महत्व दिए । सन् १९९८ को नेपाल भ्रमण वर्ष अभियानमा पनि उनको प्रत्यक्ष योगदान रह्यो । 

द बेकरी क्याफेले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) स्वरूप विकलांगहरूलाई रोजगारी दिन शुरु गरेको हो । हाम्रो सन्दर्भमा यो नयाँ अभ्यास थियो । यसले पनि द बेकरी क्याफेको समाजमा फरक पहिचान बन्यो ।

कक्षपति शुभतारा स्कुलका पनि संस्थापक हुन् । कोभिड–१९ पछि वित्तीय संकटका कारण उक्त स्कुल केही महिनाअघिमात्रै बन्द गर्ने निर्णय भएको थियो । व्यवसायमा नयाँ अवधारणा ल्याइ त्यसलाई प्रयोग गर्न रुचाउने कक्षपति जीवनको उत्तराद्र्धसम्म व्यवसायमा सक्रिय थिए । आफू क्यान्सरपीडित भएपछि उनले छोरीलाई व्यवसायमा अघि बढाएका थिए । श्रीमति र छोरीका साथ रहँदै आएका कक्षपतिका लागि सिङ्गो पर्यटन क्षेत्र परिवार थियो ।  

उनको निधनसँगै नेपालको पर्यटन क्षेत्रले एक मूर्धन्य व्यक्तित्व गुमाएको छ । उद्यमशीलतालाई सम्मान गर्ने सबैका लागि उदाहरण थिए, श्यामसुन्दरलाल कक्षपति ।राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोखरेल यस्ता उद्यम सिर्जना गर्ने र रोजगारी दिने हरेक उद्यमीलाई समाजले पशुपतिनाथझैं सम्मान दिनुपर्ने बताउँछन् । 

अब उनी सम्झनामा मात्र रहनेछन् । उद्यमशीलतालाई सम्मान कक्षपतिप्रतिको असली श्रद्दाञ्जली हुनेछ । 

अलबिदा श्याम दाई !!
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x