अर्थ / बाणिज्य

टीप्पणी

शेखर गोल्छालाई झक्झक्याइरहने त्यो पृष्ठभूमि

पुष्पराज आचार्य |
मंसिर १५, २०७७ सोमबार १३:५३ बजे

काठमाडौं : निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व ग्रहण गर्दैगर्दा शेखर गोल्छाको अनुहारमा झल्किएको भावुकताले बोकेको लामो कथा र गहिरो सन्देश सहजै महशुष गर्न सकिन्थ्यो । आइतबार साँझ निवर्तमान अध्यक्ष भवानी राणाबाट औपचारिक रुपमा नेतृत्व हस्तान्तरण हुँदै गर्दा उनले पक्कै पनि आफ्ना पिता हुलासचन्द गोल्छा र दाजु दीवाकर गोल्छालाई स्मरण गरेको हुनुपर्छ ।

महासंघमा लामो योगदान गरेको गोल्छा परिवारबाट महासंघको नेतृत्वमा पुग्न अर्को २७ वर्ष पर्खनु पर्‍यो । महेशलाल प्रधान अध्यक्ष हुँदाका उपाध्यक्ष हुलासचन्द गोल्छाले २०५० देखि २०५२सम्म महासंघको नेतृत्व लिने भद्र सहमति थियो । २०४० को दशमा नेपाल उद्योग वाणिज्य संघलाई महासंघमा रुपान्तरण गरी देशव्यापी बनाउने काममा हुलासचन्द गोल्छाको मुख्य भूमिका थियो ।


गोल्छा महेशलाल प्रधान अध्यक्ष हुँदा उपाध्यक्ष र विधान समितिको संयोजक थिए । हुलासचन्द गोल्छालाई स्मरण गर्दै महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘हुलासचन्दजी चेम्बर आन्दोलनमा सक्रिय र कुनै पनि कार्यदलको नेतृत्व गर्नुपर्‍यो भने अगाडि सरिहाल्नुहुन्थ्यो ।’ गोल्छा परिवारका लागि यो दुर्भाग्य भन्नुपर्छ महेशलाल प्रधानपछि जब उनी सर्वसम्मत रुपमा महासंघको नेतृत्व लिदैं थिए । मुटुको समस्याका कारण महासंघको नेतृत्व लिएर दौडधूप गर्ने विषय गोल्छाका लागि सहज भएन । स्वास्थ्य समस्याका कारण गोल्छा पछि हटे र विनोद चौधरीले उक्त कार्यकालको नेतृत्व गरे ।

पछि २०६४ सालमा महासंघको नेतृत्वका लागि गोल्छा परिवारबाट दीवाकर गोल्छा नेतृत्वका लागि अघि बढेका थिए । उनी महासंघमा सर्वसम्मत नेतृत्वमा आउन चाहान्थे । त्यसभन्दा अघि प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ लगायत सर्वसम्मत रुपमा महासंघको अध्यक्ष बनेका थिए । रविभक्त श्रेष्ठ अध्यक्ष हुँदा प्रथम उपाध्यक्ष रहेका दीवाकर गोल्छाको हकमा महासंघमा सर्वसम्मत नेतृत्वका लागि चौतर्फी सहमति जुट्दै थियो तर तत्कालीन अध्यक्ष चण्डीराज ढकाल दोस्रो कार्यकालका लागि पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने भए । निर्वाचनमा प्रतिस्पर्धा गरेर अध्यक्ष नबन्ने दीवाकर गोल्छा आफ्नो अडानमा कायमै रहे । त्यतिबेला ढकाललाई हराएर कुशकुमार जोशीलाई महासंघको अध्यक्ष बनाउन गोल्छा परिवारको प्रमुख भूमिका रहेको मानिन्छ । गोल्छा परिवार र ढकालबीचको तुषको त्यो लहरो शेखर गोल्छा वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुँदा पनि देखियो ।

चण्डिराज ढकालले विधान संशोधनमार्फत् सीधै अध्यक्षमा पनि निर्वाचन हुने व्यवस्था गर्न खुबै मेहनत गरे ।

चण्डिराज ढकालले गोल्छाविरुद्ध किशोर प्रधानलाई उम्मेद्वार बनाए उनलाई सघाए । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान रहेको महासंघमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भैसकेपछि शेखर गोल्छा महासंघको नेतृत्वमा पुग्ने स्पष्ट भैसकेको थियो । यद्यपि चण्डिराज ढकालले विधान संशोधनमार्फत् सीधै अध्यक्षमा पनि निर्वाचन हुने व्यवस्था गर्न खुबै मेहनत गरे । त्यो अरु केही कारण नभएर व्यक्तिकेन्द्रित र खासगरी शेखर गोल्छा लक्षित थियो । महासंघको नेतृत्व हातमा आएर पनि नेतृत्वको सौभाग्य गोल्छा परिवारमा अहिलेसम्म कसैलाई भएन ।

हुलासचन्द गोल्छा र दीवाकर गोल्छाको इतिहास महासंघमा पुनः दोहोरिने हो कि भन्नेमा शेखर यदाकदा सशंकित थिए । यद्यपि २०७६ कार्तिक २७ मा विधान संशोधनको प्रस्ताव फिर्ता भयो । त्यसपछिमात्र उनी निर्धक्क भए । कोभिड-१९ का कारण चैतमा हुनुपर्ने साधरणसभा सरेर सात महिनापछि मंसीर १३ मा सम्पन्न भएको छ र महासंघमा आगामी कार्यकालका लागि नयाँ नेतृत्वले पदभार सम्हालेको छ ।

महासंघको नयाँ नेतृत्वसँग निजी क्षेत्रले केही अपेक्षा गरेको छ । साँच्चिकै निजी क्षेत्रका लागि काम गर्न गोल्छा नेतृत्वको नयाँ कार्यसमितिका अगाडि चुनौतीका पहाड छन् । निजी क्षेत्रमै पनि आत्मपरिक्षण र सुधारको खाँचो छ । निजी क्षेत्र भित्रै पनि विभाजित धारणा, व्यक्तिकेन्द्रीत स्वार्थका कारण निजी क्षेत्रको आवाज मजबुत हुन सकेको छैन । मुलुकलाई चाहिएको आर्थिक दृष्टिकोण, निजी क्षेत्रलाई प्रभावित गर्ने कुनै पनि विषयमा महासंघ भित्रै पनि साझा आवाज छैन भने उद्यमी व्यवसायीका राष्ट्रिय स्तरकै कयौं संस्थाहरु बनेका छन् । सरकारले तिनीहरुभित्र विभाजित मतको प्रवेश गराएर महासंघको आवाजलाई समेत महत्व दिन छाडेको छ । कतिसम्म भने नेपाल उद्योग वाणिज्य महासंघ आफैं सिण्डिकेट र कार्टेलिङको विरोध नै गर्न नसक्ने अवस्थामा पुगेको छ ।

महासंघभित्रै पनि व्यक्तिगत स्वार्थका लागि सरकार र शक्तिसँग नजिकिने र आफ्नो स्वार्थपूर्ति गराउने क्रम बढेको छ । आर्थिक सुधारको गति रोकिएपछि व्यवसायीहरु आफ्नो काम गराउन राजनीतिक दलका विभिन्न समूह-उपसमूहमा लागेका छन् । कोभिड-१९ महामारीले अर्थतन्त्रमा थपेको चुनौतीको सामना गर्न यतिबेला मुलुकमा ठूला-ठूला हस्तक्षेपको आवश्यकता छ । यतिबेला नेपाल उद्योग वाणिज्य महासंघजस्ता देशव्यापी सञ्जाल भएका संस्थाहरुको महत्व निकै बढेको छ ।  लामो विरासत बोकेको, युवा नेतृत्व महासंघमा आएको छ । जसले केही सार्थक कामहरु गर्नैपर्नेछ ।

नेतृत्वको जस र अपजसका रुपमा देखिने अनुहार गोल्छा नै हुनेछन् ।

२०४६ को राजनीतिक परिवर्तनपछि महासंघले आजको राष्ट्रव्यापी सञ्जालको स्वरुप ग्रहण गरेको हो । राजनीतिक परिवर्तनसँगै लाइसेन्स राजको अन्त्य र जोकोहीले पनि उद्यम व्यवसाय गर्न सक्ने व्यवस्थाका कारण निजी क्षेत्रको विकास र विस्तार भएको हो । महासंघले अर्थतन्त्रको विकास, निजी क्षेत्रको भूमिका, लगानी, प्रतिस्पर्धा, रोजगारी लगायतका मुद्दाहरु जबर्दस्त रुपमा उठाउन थाल्यो । सरकारले पनि निजी क्षेत्रको एकस्वर भएका कारण त्यसलाई पालना गर्न बाध्य भयो । यसले कतिपय आर्थिक, प्रशासनिक र कानुनी सुधारको बाटो खोल्यो र मुलुकमा निजी क्षेत्रको विस्तार भयो ।

निजी क्षेत्रका संस्थाहरुबीचको विभाजित मतलाई एउटै बनाउन, महासंघको विधानलाई पुनर्लेखन गरी नयाँ कानुनी व्यवस्था अनुसार नै दर्ता गर्न र महासंघमार्फत् पैरवीबाट साँच्चिकै उद्यमी व्यवसायीका समस्याहरुलाई सम्बोधन हुने वातावरण बनाएमात्र महासंघको उनको टीमलाई श्रेय जानेछ । पक्कै पनि नेतृत्वको जस र अपजसका रुपमा देखिने अनुहार गोल्छा नै हुनेछन् ।

यसका अतिरिक्त शेखरलाई चेम्बर आन्दोलनमा पिता हुलासचन्द गोल्छा र दाजु दीवाकर गोल्छाको योगदानले पनि झक्झक्याइरहन्छ । महासंघको नेतृत्वबाट त्यो सोच कार्यान्वयन गर्ने जिम्मेवारी उनकै काँधमा आएको छ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x