अर्थ / बाणिज्य

एक महिनामा पाथीभरामा ५५ लाख भेटी संकलन

इकागज |
फागुन ३०, २०८० बुधबार २१:३९ बजे

फाइल फोटो

ताप्लेजुङ -  पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको रु ५५ लाख भेटी संकलन गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । 
 
फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । 

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांकसमेत समितिले सार्वजनिक गरेको छ । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।


यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।


Author

थप समाचार
x