अर्थ / बाणिज्य

कर्णाली प्रदेश सरकारलाई ​एनसेलकाे ५० लाखको चेक हस्तान्तरण

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १७:० बजे

काठमाडाैँ– भूकम्पपीडितलाई एनसेल आजियाटा लिमिटेडकाे सहयोग गर्ने प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कार्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात् एक जिम्मेवार अत्यावस्यक सेवा प्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई  ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराएको थियो । 


एनसेलले बिहीबार आफ्नो प्रतिबद्धता अनुरूप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सुर्खेत पुगेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रम माझ चेक हस्तान्तरण गरेका थिए । 

वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले भने, 'विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत र पुर्न स्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्छ।'

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा आफ्नो तर्फबाट एनसेलले कसरी सहयोग पुर्याउन सक्छ भन्ने बारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ । साथै, भूकम्प प्रभावितहरूलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको समेत एनसेलले जनाएको छ ।

एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले भने, ' यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं।'

एनसेलको सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु. मुख्य सचिव चुडामणि पौडेलले भने, 'कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्छु ।'


 


Author

थप समाचार
x