अर्थ / बाणिज्य

एनसेलद्वारा एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

नेपाल पारालिम्पिक टोलीलाई एनसेलको साथ

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १७:२१ बजे

काठमाडाैँ– हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ ।​ पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हाे ।

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजीमुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो ।


एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको थियाे ।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित,एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो ।'

कायुमोभले भने, 'पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं ।'

पलेशाले भनिन्, 'एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु । हामी जस्ता पारा खेलाडीहरूको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरूको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।'

पलेशाले पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरू लाभान्वित हुने र देशका लागि थप अन्तरराष्टिय सफलता दिलाउने विश्वास लिएको समेत बताइन् । उनले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन समेत सफल भएकी थिइन् । 

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा  १९ जना पारा खेलाडीहरूले देशको प्रतिनिधित्व गरेका थिए ।

एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्ने बताइएकाे छ । 


Author

थप समाचार
x