जात्रा-पर्व

चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

इकागज |
बैशाख ४, २०८१ मंगलबार १५:५४ बजे

गोरखा - चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध छन् ।

‘‘भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भने, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।” मन्दिरमा एकैदिन सात हजार पाँच सय भन्दा बढी भक्तजनहरूले दर्शन गर्ने अनुमान गरिएको उनको भनाइ छ ।​


भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उनको अनुमान छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदा प्रसाद भट्टराईले जानकारी दिए । ​

भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।​

चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआज हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ । मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ । 
रासस


Author

थप समाचार
x