जात्रा-पर्व

सधैं वैशाख १ मा फुल्ने सुनाखरी यस वर्ष फुलेन [फोटो/भिडियो]

शुरज थपलिया |
बैशाख २, २०८१ आइतबार ११:१८ बजे

काठमाडौँ - सिरहामा यो वर्ष सुनाखरी फूल फुलेन । प्रत्येक वर्ष महिसोथा राजा सलहेसको फूलबारीमा वैशाख १ मा फुल्ने सुनाखरी यस वर्ष नफूलेको हो । फूल नफुल्दा दर्शनार्थीहरू निराश भएका छन् । 

लहान नगरपालिकाको वडा नम्बर १२ र २२ मा रहेको राजा सलहेसको फूलबारीमा हरेक वर्ष वैशाख १ गते ठूलो मेला लाग्ने गरेको छ । यो मेला कहिलेबाट सुरु भयो भन्ने एकिन मिति छैन । 


राजा सलहेसको संस्मरणमा हारमको रुखमा हरेक वर्ष माला आकारको सुनाखरी फूल फुल्दै आएको थियो । तर यस वर्ष सो रुखमा सुनाखरी फुलेन । 

फूल नफुल्नुको अनेक तर्कहरु मेलामा सुनिएको छ । वर्षमा एक दिन मात्र मेला लाग्ने सलहेस फूलबारीमा नेपाल र भारतबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएका थिए । मेला भर्न आएका दर्शनार्थीहरू रुखमा फूल नदेख्दा निराश भएर फर्किए । 

सुनाखरी नफूल्नु प्राकृतिक विपद हो भन्दै कतिपयले चित्त बुझाए भने कतिपयले अशुभ हुने संकेत भएको टिप्पणी गरे । 

मलमास परेको कारण तिथि अनुसार फूल फुल्ने समय भइनसकेको सिरहाका बकुलाल शाहले बताए । 'मलेमासको कारण महिना ढिला भएकोले फूल मध्य वैशाखमा फुल्ने छ', उनले भने, 'फूलको टुसा पलाइसकेकाले तिथि अनुसारको समयमा फुल्नेछ ।' तर यस अघि फूल वैशाख १ गते नै फुल्ने गरेको उनले पनि बताए ।

सिरहाका स्थानीय सीता शाहले फूल नफुल्नुको कारण यकिन नभएको बताइन्।  'हरेक वर्ष वैशाख १ गते फुल्ने फूल यस वर्ष भने फुलेको छैन', उनले भनिन्, 'त्यसको कारण यकिन भइसकेको छैन ।' जलवायु परिवर्तनको असर फूलमा परेको हुन सक्ने उनले बताइन् ।

सलहेस फूलबारी मधेश प्रदेशको पर्यटकीय स्थलमा पर्छ। राजा सलहेसलाई लोक देवता र लोकगाथाका पराक्रमी पुरुषको रुपमा पनि चिनिन्छ ।

 १४औं शताब्दीका लोक नायक थिए, राजा सलहेस । जुन फूलको सम्बन्ध राजा सलहेसको अपुरो प्रेम कहानीसँग जोडिएको छ। राजा सलहेस र कुसमाको अधुरो प्रेमको सम्झनामा त्यहाँ फूल फूल्ने गरेको मिथिला सांस्कृतिकविद्हरु बताउँछन् ।

राजा कुहलेश्वरका चार छोरी थिए रेशमा,  कुसमा, दोना र हीरा। उनीहरू तन्त्र विद्यामा पारंगत थिए। उनीहरू मालिन सम्प्रदायका थिइन्। राजका छोरीहरू सहलेशप्रति आकर्षित थिए। कुसमा अलि विशेष थिइन्। 

सहलेसको विवाह भइसकेको थियो। उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन। कुसमा उनको प्रतीक्षामा सहलेश फूलबारीमा हारमको रुखमा बसेकी थिइन्। उनले प्रत्येक नयाँ वर्षको दिनमा त्यहाँ प्रतीक्षा गर्थिन्। 

प्रेममा परेकी कुसमा मालिन एक दिन सलहेसलाई माला लगाएर विवाह गर्ने निर्णयमा पुगिन् । सलहेसले यो थाहा पाएपछि विवाह गर्नबाट पछि हटे । सलहेसकै सम्झनामा माला लिएर कुसमा उभिरहिन् । सलहेससँगको अमर प्रेमको सम्झनामा सलहेस मन्दिर रहेको दक्षिणपट्टिको हारमको रुखमा सुनाखरीको फूल वैशाख १ गते नै फूल्ने गर्छ । 

यही फूल हेर्न यहाँ यो दिन मेला लाग्ने गर्छ । माला आकारको यो फूल प्रेमिका कुसमा मालिनले सलहेसका लागि ल्याएकी थिइन् । त्यसैको प्रतिकको रुपमा  सुनाखरी फूल फुल्ने गरेको जनविश्वास छ। 

भिडियो हेर्नुहोस्


Author

थप समाचार
x