वातावरण

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा

इकागज |
चैत ७, २०८० बुधबार २०:१५ बजे

काठमाडौँ - देशका धेरै भू–भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिए । 

उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । ललितपुरको लेलेमा १३ दशमलव छ, काठमाडौँको ढापड्याममा १० दशमलव चार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात दशमलव चार मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए । उनले भने, “काठमाडौँमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।”

 काठमाडौँमा आज दिनभरी जसो मौसम बदली रहने र पानी केही समय पर्ने र रोकिनेक्रमर चलिरहनेछ । अहिले काठमाडौँको वायुको तापक्रम १२ सेन्डिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ भने अधिकतम तापक्रम २१ देखि २३ सेन्डिग्रेडबीच रहने अनुमान गरिएको छ ।
रासस


Author

थप समाचार
x