शिक्षा

मेवाखोला गाउँपालिकामा कक्षा आठ उत्तीर्ण गर्ने पाँच जना

इकागज |
चैत २६, २०८० सोमबार १५:४६ बजे

ताप्लेजुङ -  ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । 

गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 


गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । 

 “शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ”, अध्यक्ष वनेमले भने, “विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।”

 यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ । 
 


Author

थप समाचार
x