शिक्षा

सरोकारवाला भन्छन् : विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो

इकागज |
असोज ३, २०८० बुधबार १५:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधान जारी भएको आठ वर्षपछि विधेयक संसदमा दर्ता भए पनि विधेयक ल्याउँदा समन्वय नगरेकोमा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

सरोकारवालाले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।


शिक्षाविद् डा.विद्यानाथ कोइरालाले विधेयकमा कतिपय विषय सकारात्मक रहेको र केही विषय छुटेको बताए । उनले विधेयकमै शिक्षक अब पेसाकर्मी बन्ने कुरा उल्लेख भएको बताए । उनले राजनीतिक चेतना भएको शिक्षक चाहिए पनि राजनीतिक दलबाट प्रेरित शिक्षक नचाहिने उल्लेख गरे । कोइरालाले राजनीतिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने शिक्षक अबको आवश्यकता रहेको औंल्याए । उनले शिक्षकहरू राजनीतिक फाइदाका लागि आन्दोलनमा होमिने गरेको जिकिर गरे । केही शिक्षकहरूले स्वतः स्थायी हुनुपर्ने माग राखेको भन्दै यो नचाहिने कुरा मात्रै भएको बताए ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा विधेयक ढिलो आएकोमा स्वागत गरे । उनले संविधान जारी भएको आठ वर्षपछि विधेयक आए पनि विधेयक आउने प्रकृया गलत भएको बताए । उनले अभिभावकको प्रतिनिधिबाटै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने विषय सकारात्मक भएको बताए । अध्यक्ष भण्डारीले संसदीय समितिमा सरोकारवालालाई छलफलका लागि बोलाउनुपर्ने बताए । उनले विधेयकमा अपनत्व हुन सबै सरोकारवालाहरूलाई विधेयकमाथि दफावार छलफल हुनुपर्ने बताए ।

शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकारले सरकारले ल्याएको शिक्षा विधेयक शिक्षक, विद्यार्थी र अभिभावकको हकहितविपरीत रहेको बताए । उनले सरोकारवालालाई हानी पर्ने गरी विधेयक आएको बताए । ताम्राकारले आफूखुसी सरकारले विधेयक ल्याएको भन्दै सरकारले निकास नदिँदासम्म आन्दोलन जारी रहने बताए ।

उनले समग्र शिक्षालाई विकसित गर्न पटक पटक आफूहरूले ज्ञापनपत्र बुझाएको भन्दै आफूखुसी सरकारले विधेयक ल्याएको बताए ।

 

 


Author

थप समाचार
x