शिक्षा

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग

इकागज |
भदौ १०, २०८० आइतबार २२:११ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविघ) ले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो ।


नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सर्वसुलभ उच्च शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार नागरिकको भए पनि सरकारले एक्कासि एक सय ४४ प्रतिशत शुल्क वृद्धि गर्दा विद्यार्थीहरू ठूलो मारमा परेकाले आन्दोलन गर्नुपरेको बताए । 

“इञ्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहन्दार विद्यार्थीहरू अध्ययनबाट बञ्चित हुने हुँदा शुल्क वृद्धिको निर्णय निन्दनीय छ”, अध्यक्ष शेर्पाले भने । नेविसंघले शुल्क वृद्धिको विरोधमा विगत पाँच दिनदेखि आमरण अनशन बसेका सुलभ चापागाईंको जीवनरक्षाको माग गरेको छ ।

अध्यक्ष शेर्पाले सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने बताए ।  नेविसंघले इञ्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता लिनुपर्ने, त्रिभुवन विश्वविद्यालय र इञ्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा स्थापित गरी अनुदान बढाउन आग्रह गरेको छ ।

सबै विश्वविद्यालयमा इन्टर्नसीप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने नेविसंघले बताएको छ । 
रासस


Author

थप समाचार
x