शिक्षा

शुल्क वृद्धिविरुद्ध थापाथलीका विद्यार्थीकाे प्रदर्शन

गुणस्तरीय शिक्षा नभएर शुल्क मात्रै बढाएकाे विद्यार्थीहरूकाे आराेप

इकागज |
साउन १९, २०८० शुक्रबार १४:२० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

​काठमाडाैँ– इन्जिनियरिङ अध्ययन संस्था थापाथली क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु)ले इन्जिनियरिङ विषय अध्ययन गर्न भएकाे अत्यधिक शुल्क वृद्धिविरुद्ध आन्दाेलन गरेकाे छ । 


प्राविधिक शिक्षा राष्ट्र निर्माणको प्रथम खुड्किलो भएको कुरा सारगर्भित तथ्य भएकाे र कुनै पनि राष्ट्रले प्रविधिमा प्रगति नगरिकन विकासको मार्ग तय गर्न नसक्ने विद्यार्थीहरूकाे भनाई थियाे ।  

आन्दाेलनमा विद्यार्थीहरूले नेपालमा  प्राविधिक शिक्षाको बीजारोपण भएको दशकौँ भएकाे यद्यपि प्राविधिक शिक्षाको अवस्था भने झनै खस्कँदै गएको बताएका छन् ।

दिनदिनै परिमार्जित हुने विज्ञान-प्रविधिका विषयहरूलाई दशक अगाडिको पाठ्यक्रम अनुरूप पढाइने गरेकाे इन्जिनियरिङअध्ययन संस्था थापाथली क्याम्पसका विद्यार्थीहरूकाे गुनासाे छ । 

इन्जिनियरिङ अध्ययन संस्था थापाथली क्याम्पसका स्ववियु​ सभापति पुष्करविक्रम शाहीले सरकारी क्याम्पसहरूमा विद्यार्थीलाई आवश्यक पर्ने स्रोतसाधनको कमी भएकाे र क्याम्पसको लापरबाहीले कक्षाहरू कहिल्यै नियमित रूपमा नभएकाे गुनासाे पाेखे ।

शाहीले प्राक्टिकल, रिसर्च गर्नलाई पनि क्याम्पसमा यथाेचित सामग्री नभएकाे र विद्यार्थी पानी चुहिने भवनमुनि बसेर बढाे कष्टपूर्वक पढ्नुपरेकाे समेत गुनासाे गरे । 

'प्राविधिक शिक्षा नै प्रविधिमैत्री हुन सकेको छैन । यसले गर्दा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने युवाहरूको व्यापक विदेश पलायन भइराखेको छ। देशभित्रै पनि भर्खरै खुलेका निजी शैक्षिक संस्थाहरूले उल्लेख्य प्रगति गरिरहँदा सरकारी संस्थाहरू भने मूकदर्शक बन्न पुगेका छन्,' शाहीले भने, 'यस्तो विषम परिस्थितिमा पनि सरकारले शिक्षाजस्तो आधारभूत क्षेत्रमा लगानी गर्न हिच्किचाइरहेको छ । सरकारी क्याम्पसमै दुई गुणाले शुल्कवृद्धि हुने समाचार आइरहेको छ । सरकारले किन आम जनतालाई सर्वसुलभ एवं गुणस्तरीय शिक्षाबाट वञ्चित गर्ने प्रयत्न गरेको हो? '

उनले अगाडि भने, 'सरकारको गैरजिम्मेवारीपूर्ण आचरणको विरोध गर्दै आज स्वतन्त्र विद्यार्थी युनियनले वृहत् भेला र साङ्केतिक प्रदर्शन गरेको हाे ।'

साथै हरेक उन्नत राष्ट्रले सरकारी तवरबाट विज्ञान प्रविधिमा यथेष्ट लगानी र उत्कृष्ट व्यवस्थापन गरेको देखिने बताउँदै आन्दाेलनरत विद्यार्थीहरूले देशको सर्वोपरि हितको लागि सरकारले प्राविधिक शिक्षाको महत्वलाई मनन गर्दै दूरगामी रेखाचित्र बनाएर अविलम्ब ठोस प्रयत्न गर्न ध्यानाकर्षण समेत गराएका छन् । 

करिब एक घण्टा चलेकाे आन्दाेलनमा थापाथली क्याम्पसका विद्यार्थीहरूकाे बाक्लै उपस्थिति रहेकाे थियाे ।


Author

थप समाचार
x