रोग र उपचार

बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा सुत्केरी

इकागज |
साउन २, २०७९ सोमबार २१:३३ बजे

फाइल फोटो

कालिकोट - कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोट गाउँमा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा नै गर्भवती सुत्केरी भएकी छिन् । माल्कोट गाउँमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती २० वर्षीया वसन्ता विक स्ट्रेचरमा नै सुत्केरी भएकी हुन् । 

सोमबार बिहान ६ बजे बर्थिङ सेन्टरमा पुर्‍याए पनि गर्भवती विकको चार घण्टासम्म बर्थिङ सेन्टर बन्द हुँदा बाहिरै बस्नुपरेको र कुनै पनि कार्यालयका स्वास्थ्यकर्मी नभएका कारणले स्ट्रेचरमा नै सुत्केरी हुनुपरेको साथमै रहेकी आफन्त मिमसरा विकले जानकारी दिइन् । 


`सुत्केरी व्यथा लागेपछि बिहान ६ बजे नै बर्थिङ सेन्टरमा पुर्‍याएका थियौँ`, उनले भने, `चार घण्टापछि स्ट्रेचरमा नै सुत्केरी हुनुभयो । त्यसपछि मात्र स्वास्थ्यकर्मी आउनुभयो ।` 

गाउँपालिकाले करार कर्मचारी हटाउँदा बर्थिङ सेन्टर बन्द भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताए । `दुई जना कार्यरत स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उनले भने, “त्यस कारणले सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।`

तारन्तार फोन आउन थालेपछि आफूले यसभन्दा अगाडिका करार कर्मचारी (स्वास्थ्यकर्मी) शान्ति बुढालाई फोन गरेर पठाएकाले ढिलै भए पनि सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य शाखा प्रमुख बटालाको भनाइ छ । `अहिले आमा तथा शिशु (छोरी)को अवस्था सामान्य रहेको छ`, उनले भने, `ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।`

करार कर्मचारी हटाइएको बाहनामा दोष लगाउन नमिल्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । “स्वास्थ्यकर्मी प्रदेश सरकारले करारमा नियुक्त गरेको हो । `करार स्वास्थ्यकर्मीको काम हैन`, उनले भने, `कर्मचारी हटाएको निहुँ खोजी स्थायी कर्मचारी स्वास्थ्य संस्थामा नआएर स्वास्थ्य संस्था बन्द गर्नुभएको छ ।` नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गमा आइपुग्न पैदल पाँच घण्टा लाग्ने गर्दछ ।
रासस


Author

थप समाचार
x