क्रिकेट

कप्तान भएपछि सन्दीपको प्रदर्शन खस्किएको हो ?

सञ्जीव शाह |
बैशाख २०, २०७९ मंगलबार १४:४६ बजे

काठमाडौँ -  लेग स्पनिर सन्दीप लामिछानेले कप्तान भएयता ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा १३ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

कप्तान भएपछि लामिछानेले ६ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये पपुवा न्यूगिनीविरुद्ध नै ४ तथा युनाइटेड अरब इमिरेट्सविरुद्ध २ खेल खेलेका छन् । उनले कप्तानको रूपमा ६ एकदिवसीयमा जम्मा ९ विकेट लिन सफल भएका छन् ।


तर कप्तान बन्नु अघि उनले बलिङ गरेका ६ खेल र कप्तान बनिसकेपछि खेलका ६ खेलमध्ये तुलना गर्दा उनको प्रदर्शनले निकै भिन्नता देखिएको छ ।

कप्तान बन्नु अघि लामिछानले बलिङ गरेका ६ खेलमा लामिछानेले २४ विकेट लिएका छन् । कप्तान भइसकेपछि लामिछानले कप्तान हुनुअघि भन्दा झन्डै ३ गुणा कम विकेट लिएका छन् ।

कप्तान भइसकेपछि लामिछानेले एकै खेलमा सर्वाधिक ३ विकेट लिन सफल भएका छन् भने कप्तान बन्नुअघि भने आँकडा भने फरक छ । कप्तान बन्नु अघि मात्र बलिङ गरेका ६ खेलमध्ये दुई खेलमा नै सर्वाधिक ६-६ विकेट लिन सफल भएका थिए । उनले पीएनजीविरुद्धको एकै खेलमा ६ तथा अमेरकाविरुद्धको एकै खेलमा पनि ६ विकेट लिएका थिए ।

तुलना गरिएको तथ्यांकले के देखाउछ भने कप्तान बन्नु भन्दाअघि लामिछानेको बलिङको जादू बेग्लै थियो तर कप्तान बनेपछि उनको बलिङमा परिवर्तन आएको छ ।

लामिछानेले कप्तानी गरेका ६ मध्ये नेपालले केवल २ एकदिवसीय खेलमा जित हात पारेको छ भने ४ खेलमा पराजय भोगेको छ । तर कप्तान बन्नु अघि उनले बलिङ गरेको ६ मध्ये ५ खेलमा नेपालले जित हात पार्दा केवल एक खेलमा पराजय भोगेको छ ।

यता कप्तान लामिछानेले कप्तान बनिसकेपछि १३ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा २६ विकेट लिएका छन् । जसमध्ये उनले ५ पटक सर्वाधिक ३-३ विकेट लिएका छन् ।

तर कप्तान हुनु अघि लामिछानेले खेलेका १३ खेलको तुलना गर्ने हो भने उनले २८ विकेट लिएका छन् । जुन उनी कप्तान बनेर हात पारेको विकेट भन्दा केवल २ विकेट बढी हो ।

तर एकै खेलको प्रदर्शन हेर्दा उनले कप्तान बन्नुअघि दुई पटक सर्वाधिक ४-४ विकेट लिन सफल भएका छन् । भने दुई पटक सर्वाधिक ३-३ विकेट लिएका छन् । कप्तान बनेपछि लामिछानेको टी-ट्वान्टी खेलमा विकेटको अंकका आधारमा खासै अन्तर देखिदैन ।

नतिजाको हिसाबले लामिछानको कप्तानीमा नेपालले १३ मध्ये १० टी-ट्वान्टी अन्तर्राष्ट्रिय जितेको छ केवल ३ खेलमा पराजय भोगेको छ । तर कप्तान बन्नुअघि लामिछानेले बलिङ गरेका १३ मध्ये ७ खेलमा मात्र नेपाल जित हात पारेको थियो भने ६ खेलमा पराजय भोगेको थियो ।

टी-ट्वान्टीको नतिजाको हिसाबले भने लामिछाने सफल देखिन्छन् ।

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x