क्रिकेट

धनगढीमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला निर्माण हुने

इकागज |
कात्तिक १९, २०८० आइतबार १२:१ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका ३ स्थित फाप्लामा ूफाप्ला क्रिकेट रंगशालाू निर्माणको प्रक्रिया अगाडि बढेको हो। निर्माण प्रकिया अघि बढेसँगै धनगढीमा केही वर्षभित्रै अत्याधुनिक क्रिकेट रंगशाला तयार हुने भएको छ।


सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढेको हो।

फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिले पनि काम अगाडि बढाएको छ। समितिले रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रक्रिया अगाडि बढेको जनाएको छ।

फाप्लाका परिकल्पनाकार समेत रहेका विकास समितिका अध्यक्ष सुवाश शाहीले डिपिआर निर्माणको तयारीमा जुटेको बताउँदै केही समयमै टेन्डर आह्वान गरिने जानकारी दिए।

‘विकास समितिले डिपिआर निर्माणको तयारी गरिरहेको छ। डिपिआरको लागि टेन्डर आह्वान हुनेछ’, शाहीले भने, ‘परियोजनाको डीपीआर नै सबैभन्दा ठूलो कुरा हो। डिपिआर तयार भएपछि रंगशाला तयार हुन समय लाग्दैन।’

अध्यक्ष शाहीले डिपिआर तयार भएको २ वर्षभित्रै ५० हजार दर्शक अटाउने अत्याधुनिक रंगशाला तयार हुने बताए।

सरकारले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि साढे ३८ बिघा जमिनको भोगाधिकार दिएको छ। १ करोड ७५ लाख बजेट विनियोजन गरिएसँगै डिपिआर निर्माणको प्रक्रिया सुरु गर्ने तयारी गरिएको शाहीले जानकारी दिए।

गत वैशाख २६ गते ‘फाप्ला अन्तरास्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएसँगै निर्माणको प्रक्रिया सुरु भएको हो।

विकास समिति आदेशमा रंगशाला तथा खेल ग्राम निर्माणमा मुख्य कार्यकारी भूमिका रहने ९ सदस्यीय समिति हुने व्यवस्था गरिएको छ। शाही अध्यक्ष रहेको समितिमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख उक्त समितिको पदेन सदस्य छन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीका प्रमुख, कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष र नेपाल सरकारले मनोनयन गरेकी कल्पना दिवाकोटी (महिला सदस्य) छिन्। समितिले क्रिकेट मैदान तथा खेल ग्राम निर्माणको डिपिआर तयार गरी स्वीकृत गर्नेछ।

संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेल ग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेवारी पूरा गर्नेछ। परियोजनाका लागि जम्मा १५ अर्बभन्दा माथि लागत अनुमान गरिएको छ।


Author

थप समाचार
x