क्रिकेट

नेपाल टी-ट्वान्टी विश्वकपमा पुग्नुको अर्थ !

सञ्जीव शाह |
कात्तिक १७, २०८० शुक्रबार ९:४६ बजे

तस्बिरः क्यान

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत निकै नै महत्वपूर्ण खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ ।

काठमाडौँस्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ११ बजेबाट सुरु हुने खेलको विजेताले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।


गत वर्ष अस्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकपको छनोट खेलको महत्वपूर्ण प्रतिस्पर्धा (सेमिफाइनल) मा यूएईविरुद्ध नै हार बेहोरेपछि अस्ट्रेलियाको विश्वकपमा स्थान सुरक्षित गर्न असमर्थ रह्‍यो ।

अहिले जारी छनोटको सेमिफाइनलमा पुनः नेपालले यूएईविरुद्ध नै प्रतिस्पर्धा गर्दैछ । अमेरिका र वेस्ट इन्डिजको यात्रा तय गर्न नेपालले यूएईलाई पराजित गर्नु नै पर्ने हुन्छ ।

खासमा आईसीसी टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्नुको अर्थ नै बेग्लै हुन्छ ।

सर्वप्रथम विश्वकपले सहभागी टिमलाई विश्व क्रिकेटका महारथीसँग प्रतिस्पर्धा गर्ने अवसर जुराउँनेमात्र हैन, विश्वकप जस्तो मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पनि पाउने गर्छन् ।

विश्वकपले ठूला टिमसँग सिक्न तथा अनुभव बटुल्नका लागि पनि अवसर प्रदान गर्छ । केही महिनाअघि नै नेपालले एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज र जिम्बाब्वेजस्ता टेस्ट राष्ट्रसँग खेल्ने तथा उनीहरुबाट सिक्ने अवसर पाएको थियो । त्यसका साथै विश्वकप छनोटले नेपाललाई आफ्नो क्षमता परिक्षण गर्ने अवसर पनि प्रदान गरेको थियो ।

त्यससँगै एसीसी एकदिवसीय एसिया कपमा नेपालले भारत र पाकिस्तान जस्ता विश्वका शीर्ष टिमसँग खेल्ने अवसर पाएको थियो । एसिया कपबाट नेपाली टिम तथा नेपाली खेलाडीले विश्वसामु आफूलाई चिनाउने अवसर पाएको थियो ।

त्यसैले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा नेपालले स्थान सुरक्षित गरेको खण्डमा नसोचेको अवसर पाउने निश्चित छ ।

विश्वकपमा छनोट भएको खण्डमा नेपाली खेलाडीको पारिश्रमिक बढ्नुका साथै उनीहरुले विभिन्न कर्पोरेट सेक्टरबाट पाउने आर्थिक लाभ पनि लोभ लाग्दो नै हुने निश्चित छ ।

त्यसैगरी, नेपाली खेलाडीहरुले विदेशी ‘फ्रेन्चाइज्ड’ क्रिकेट लिगका लागि ठूलो रकममा अनुबन्ध हुने अवसर पनि पाउनेछन् ।

साथै नेपालमै हुने क्रिकेट गतिविधिमा पनि वृद्धि हुने र नेपाली खेलाडीहरुले धेरै भन्दा धेरै खेल्ने अवसर पाउनेछन् ।

अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) ले पनि इन्टरनेसनल क्रिकेट काउन्सिल तथा एसियन क्रिकेट काउन्सिलबाट पाउने आर्थिक लाभमा पनि वृद्धि हुनेछ । त्यसैगरी, नेपालको घरेलु संरचना विकासका लागि पनि अन्तर्राष्ट्रिय निकायबाट पनि सहयोग पाउने सम्भावना बलियो बन्नेछ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x