सिनेमा

सबैभन्दा चाँडो ५ सय करोड कमाउने फिल्म बन्यो ‘लियो’

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १४:३ बजे

मुम्बई - रजनीकान्तको ‘जेलर’लाई पहिलो दिनको कमाइमा पछि पारेको विजयको फिल्म ‘लियो’ले अर्को कीर्तिमान पनि कायम गरेको छ । फिल्म सबैभन्दा चाँडो ५ सय करोड कमाउने भारतीय फिल्म बनेको छ । यो क्रममा ‘लियो’ले शाहरुख खानको ‘जवान’लाई पनि पछि पारेको हो । १९ अक्टोबरका दिन रिलिज भएको फिल्मले ६ दिनमा ५ सय करोडको आँकडा पार गरेको हो । 

‘लियो’को कमाइमा देशसँगै विदेशको हिस्सा पनि बराबर छ । फिल्मले भारतमा २ सय ५० करोड कमाइ गरेको हो भने विदेशबाट पनि उतिनै कमाइ गरेको हो ।
‘जेलर’ र ‘जवान’लाई यति नै आम्दानी गर्न २० दिन बढी लागेको थियो । 


‘लियो’ तमिलमा पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पनि बनेको थियो । फिल्मले पहिलो दिन नै १ सय ७२ करोड कमाइ गरेको थियो । जबकि यसअघि ‘जेलर’को पहिलो दिनको कमाइ १ सय ४३ करोड थियो । ‘जवान’ले १ सय २७ करोड कमाएको थियो ।

अब ‘लियो’ रजनीकान्तको ‘जेलर’भन्दा सय करोडले पछि छ । तर पछिल्ला दिनमा यो फिल्मको कमाइ निरन्तर घट्दो क्रममा रहेको व्यापार विश्लेषकको आँकडा छ । ‘जेलर’ले ६ सय ४ करोड कमाइ गरेको थियो । ‘लियो’को एक्सन र ब्याकग्राउन्ड म्युजिकको तारिफ भए पनि कथा बलियो नहुँदा फिल्मले सोचेझैँ व्यापारको रफ्तार कायम गर्न सकेको थिएन ।


Author

थप समाचार
x