सिनेमा

महायज्ञमा ‘परदेशी २’ को प्रचार

इकागज |
असोज २१, २०८० आइतबार ११:९ बजे

काठमाडौँ- दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले  देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।

निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् ।


यसैबीच, चलचित्रका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् ।

निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपील गरेका थिए ।

अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।

अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।

वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङखला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । 


Author

थप समाचार
x