सिनेमा

नीति शाह भन्छिन्, ‘मैले कुनै पनि फिल्ममेकरलाई नाइँ भनेको छैन’

इकागज |
असोज २०, २०८० शनिबार १५:२ बजे

काठमाडौँ - अनमोल केसीले ‘रावायण’ छाडेपछि धेरैले नीति शाहको करिअरलाई लिएर पनि चिन्ता व्यक्त गरे । उनले साइन गरेका फिल्म घोषणा हुने तर विभिन्न कारणले नबन्ने भएपछि नीतिको फिल्म करिअरलाई लिएर समाचार बन्नु सामान्य कुरा हो । किनकि नीति चर्चित मोडल हुन् । तर पछिल्लो समय आएको एउटा समाचारले भने उनको चित्तै दुखेछ क्यारे, उनले शनिबार लामो स्ट्याट्स लेखेर स्पष्टिकरण दिइन् । 

केही दिनअघि एउटा अनलाइन पोर्टलमा नीतिले ‘रावायण’का लागि ‘डिग्री माइला’को अफर छाडेको समाचार लेखेको थियो । नीतिले त्यसको खण्डन गर्दै आफूले केही फिल्मकर्मीसँग भेटेको तर आफ्ना पूर्व प्रतिवद्धताका कारण उनीहरूले अफर गरेका फिल्म गर्न नसकेको बताएकी छिन् । योसँगै उनले आफूले कुनै पनि फिल्मकर्मीलाई ‘नाइँ’ नभनेको बताएकी छिन् । 


‘ केही निर्माता र निर्देशकसँग मेरो कुराकानी भएको हो तर उसबेला सुटिङको मिति जुधेको थियो । हामीले सकेसम्म काम गर्न सक्ने समयबारे गहन छलफल पनि गरेका हौँ । त्योबाहेक मैले कुनै पनि फिल्मलाई नाइँ भनेको छैन,’नीतिले लामो स्ट्याट्स लेख्दै भनेकी छिन् ।  योसँगै उनले आफूलाई सोध्दै नसोधी लेखिएका समाचारले दुःखी बनाएको पनि उल्लेख गरेकी छिन् । ‘रावायण’ अघि नीतिले ‘एक्स नाइन’, ‘कामिनो’ साइन गरेकी थिइन् भने ‘हुतुतु’ फिल्म पनि साइन गरेको चर्चा थियो । 


Author

थप समाचार
x