सिनेमा

अनमोलको ‘फर्की फर्की’मा सम्मृद्धि र रवि नयाँ अनुहार

इकागज |
असोज १९, २०८० शुक्रबार १५:१८ बजे

काठमाडौँ- नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको लक्ष्मीपूजाबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ ।

यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यो फिल्मको कथालाई अनमोलले निकै मन पराएको वुझिएको छ । अनमोलले लामो समयदेखि यो फिल्मको पटकथा लिएर तयारी गरिरहेका छन् ।


यसैबीच, फिल्ममा अब अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । अनमोल र जसितापछि मुख्य भूमिकामा फिल्ममा सम्मृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको हो । निर्माता अधिकारीले दुवै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए । दुई नयाँ कलाकार भित्रिएपछि फिल्मले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । यो फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो फिल्मले सपना र विपनाबीचको दुविधाको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले  पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।
 


Author

थप समाचार
x