सिनेमा

मोडल विमलेश अधिकारीले केकी र रीमालाई लिएर 'ह्याप्पी डिभोर्स' बनाउने

इकागज |
असोज ४, २०८० बिहीबार १०:२९ बजे

काठमाडौँ- अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शीर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।

उनले निर्देशन तथा अभिनय गर्ने सिनेमाको नाम 'ह्याप्पी डिभोर्स' राखिएको छ । सिनेमामा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ । अर्को वर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही वर्ष गरिनेछ । सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।


मंगलबार नै सिनेमाको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने सिनेमाले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।

अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्वीकार गरिसकेको छैन् । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफुहरु सजग रहेको उल्लेख गरिन् ।

यता अभिनेत्री रीमा विश्वकर्माले पनि सिनेमाले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडि बढ्न सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई सिनेमाले नजिकबाट देखाउने दाबी गरिन् ।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।

कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनल ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका सिनेमामा पनि अभिनय गरेका छन् ।


Author

थप समाचार
x