सिनेमा

‘वडा नं ६’को सिक्वेलको रुपमा बन्नेछ दीपक–दीपाको नयाँ फिल्म, दयाहाङको ‘डिग्री माइला’सँगै रिलिज

इकागज |
भदौ ४, २०८० सोमबार १३:५ बजे

काठमाडौँ -  दीपक राज गिरी र दीपाश्री निरौलाको नयाँ सिनेमा ‘छक्का पञ्जा’को नयाँ शृंखला नभई ‘वडा नं ६’को शृंखलाको रुपमा तयार हुने भएको छ । दीपाश्री निरौलाले अबको सिनेमा ‘वडा नं ६’को कथाको निरन्तरताको रुपमा बनाउने तयारी भइरहेको जानकारी गराएकी छिन् । फिल्मको अहिले लेखनको काम चलिरहेको उनले जनाएकी छिन् ।

यो चलचित्रलाई दीपाश्री निरौला स्वयंले निर्देशन गर्नेछिन् । यसैगरी चलचित्र नयाँ वर्षमा रिलिज गर्ने सोच रहेको पनि दीपाश्रीले जानकारी गराएकी छिन् ।
‘मंसिरमा सुटिङमा जाने तयारी छ । रिलिज चाहिँ नयाँ वर्षमा गर्ने मोटामोटी सल्लाह भएको छ,’दीपाश्रीले भनिन् । उज्वल घिमिरेको निर्देशन रहेको ‘वडा नं ६’ मा सीताराम कट्टेल र दयाहाङ राईको पनि अभिनय रहेको थियो । यो चलचित्रलाई यो समूहले  निर्माण गरेमध्येकै उत्कृष्ट चलचित्र मानिन्छ ।


नयाँ वर्षलाई यो फिल्म पनि आउँदो अर्को वर्षको नयाँ वर्षमा हेभिवेट भिडन्त हुने भएको छ । यही मितिमा रामबाबु गुरुङले ‘डिग्री माइला’लाई प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । 

बक्स अफिसमा यी दुई फिल्ममेकरबीच अघोषित प्रतिस्पर्धा छ । बक्स अफिसको तथ्यांकमा ‘छक्का पञ्जा’को रेकर्डलाई ‘कबड्डी ४’ले उछिनेपछि ‘छक्का पञ्जा’ समूह फेरि त्यो रेकर्ड आफ्नो नाममा पार्ने प्रयत्नमा छ । 

यसैबीच दीपक–दीपाको समूहले निर्माण गरेको हल पनि यही महिनादेखि सञ्चालनमा आउने भएको छ । दीपाश्रीले भदौ १४ बाट हल सञ्चालन गर्ने आन्तरिक तयारी भइरहेको जानकारी दिएकी छिन् । प्राविधिक काम सबै सकिएको भए पनि साज सजावटको काममा समय लागिरहेकाले त्यो मितिमा नभ्याए ‘जवान’को प्रदर्शनसँगै हल सुरु गर्ने उनले जनाइन् । 


Author

थप समाचार
x