सिनेमा

‘गोर्खा वारियर’ को प्रिमियरमा बेलायती ब्यान्डको प्रस्तुति

इकागज |
साउन ३२, २०८० बिहीबार १५:३७ बजे

काठमाडौं - बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने तय भएको निर्देशक चाम्सले बताए । 

‘नेपाली फिल्मको लागि गर्विलो इतिहास लेखिँदै छ । उक्त बेलायती सेनाको ब्याण्डले दिने सम्मान आफैँमा गौरवपूर्ण हुनेछ । उहाँहरू गोर्खालीको कथालाई पर्दामा देखाउने भएपछि स–सम्मान आफ्नो प्रस्तुती दिन तयार हुनुभएको हो’, निर्देशक चाम्सले भने, ‘सो प्रिमियरमा बेलायत सेनाका उच्च पदाधिकारीसमेत सहभागी हुनेछन् । गोर्खालीको विषयमा फिल्म बनेको छ भन्ने थाहा पाएँपछि उहाँहरूले दिनुभएको सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।’ बेलायती सेनाको ब्याण्डले पहिलोपटक फिल्मको प्रिमियरमा आफ्नो प्रस्तुती दिनेछ । 


हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरको दौरान रेड कार्पेटमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको बताए । 

‘गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ’, निर्देशक चाम्सले भने ।  उनले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । 
 


Author

थप समाचार
x