सिनेमा

खुसी नै खुसी छिन् ‘महानगर’की खुसी

सामीप्यराज तिमल्सेना |
साउन ३२, २०८० बिहीबार १२:२५ बजे

अभिनेत्री बन्ने सपना पालेर एक दशकअघि नवलपरासीबाट काठमाडौँ आएकी मेनुका प्रधानले ‘बाघचाल’मा पहिलो ब्रेक पाइन् । फिल्म भित्र दुई तीन सिनमा अभिनय गरेकी मेनुकाले आफ्नो अभिनय कस्तो रह्यो ? देख्न भने पाइनन् । किनकि यो फिल्म हलमा कहिलै रिलिज नै भएन । तर यही फिल्मले उनलाई करिअरको पहिलो फिल्म दिलायो, ‘एक दिन एक रात’ । अनुप बराल, दिया मास्के, कार्म शाक्य, विनय श्रेष्ठ आदि कलाकार रहेको चलचित्रमा मेनुका समानान्तर भूमिकामा छानिइन् ।

त्यसयता मेनुकाको अभिनय यात्रा सेती नदीझैँ लयमा बगिरहेको छ । गहिरो तर नदेखिने । मेनुका बोल्दिनन् तर उनका चरित्र बोल्छन् । त्यसैले त जब अर्थपूर्ण र गम्भीर चरित्रको खोजी हुन्छ, निर्माता/ निर्देशकको मन मस्तिष्कमा पहिलो नाम उनकै आउँछ । यो कुराको ताजा उदाहरण भदौ महिनामै देख्न सकिन्छ । भदौ ८ गते उनको अभिनय रहेको ‘महानगर’ आउँदैछ भने यसको एक हप्तापछि ‘गणपति’ । यही महिना उनकै अभिनय रहेको ‘गुराँस’ले चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको थियो । स्मरणीय छ कि यत्तिकै उपलब्धि आफैँले आफैँलाई एक नम्बर दाबी गर्ने केही अभिनेत्रीले हासिल गरेका भए, मिडियामा कुन तहको प्रचारबाजी हुन्थ्यो ?


‘खासमा मलाई त्यति मिलाएर बोल्न पनि आउँदैन । फेरि आफ्नो कुरा आफैँ के गर्नु ?,’ ‘महानगर’को पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्, ‘त्यही पनि आज त मैले धेरै बोलेँ । आफ्नो फिल्मको बारेमा यति धेरै बोलेको त पहिलो चोटि नै हो ।’

भदौ ८ लाई प्रदर्शन मिति तोकेको ‘महानगर’मा मेनुकाले ‘खुसी’ नामको चरित्र निर्वाह गरेकी छिन् । जो ख्याउटे छ उसैको नाम बलबहादुर भने जस्तै फिल्म भित्र मेनुकाका नाम खुसी छ अनि मान्छे चाहिँ दुःखी । तर उनलाई आफूले खेलेका फिल्ममध्ये यो चरित्र आफू जस्तै लाग्छ । यही कारण पनि यो फिल्म वा चरित्रको बारेमा बोल्न सकेको उनको ठम्याइ छ । मेनुका भन्छिन्, ‘महानगरकी खुसी र मेनुकाका धेरै कुरा मिल्छन् । दुवैले महानगरमा टिक्न गरेका संघर्षदेखि अन्तर्मुखी स्वभाव धेरै कुरा एकै छन् । साहित्यमा रुचि राख्ने कुरा पनि समान छन् । यत्ति मात्र भिन्नता छ कि खुसी जति सिद्धान्तवादी छ मेनुका छैन ।’

दुवैका समानताका कुरा गर्दा गर्दै उनले एउटा रहस्य पनि खोलिन् । ‘महानगर’मा मेनुका चरित्रले कविता वाचन पनि गरेको छ जुन ट्रेलरमा पनि देख्न पाइन्छ । कुनै समय मेनुका पनि छद्यमा नाममा कविता लेख्थिन् । ‘यसमा सेक्रेट के थियो थाहा छ, मैले यी सबै कविता खुसी नाममा लेख्थेँ,’ हरदम हाँसेर बोल्ने मेनुकाले सोही शैलीमा भनिन्, ‘महानगरको स्क्रिप्ट पढ्दा त ला यो त मै जस्तै रहेछ त भन्ने लागेको । तर अहिले चाहिँ मैले कविता लेख्न छाडिसकेँ ।’

परिवारको न्यानो छाडेर सहरमा संघर्ष गर्न निस्कने हरेक युवतीले आफूमा खुसीको अंश भेट्ने मेनुका बताउँछिन् । 

‘चलचित्रले जम्मा एक रातको कथा भन्छ । तर त्यही एक रातमा नै तपाईँले खुसीका जिन्दगीका सारा आयाम थाहा पाउनुहुन्छ । युवती मात्र हैन हरेक संघर्षशील युवकले पनि खुसीमा आफूलाई पाउनुहुन्छ,’ मेनुका भन्छिन्, ‘संघर्ष गर्ने प्लेटफर्म धेरै हुन्छन् तर तिनमा प्राप्त हुने सफलता वा असफलतामा उब्जने भावना समान हुन्छन् । महानगरले त्यो भावनालाई प्रतिनिधित्व गर्छ ।’

मेनुकाले ‘महानगर’मा गायिका बन्न काठमाडौँ आएको युवतीको चरित्र निर्वाह गरेकी छिन् । यही क्रममा दोहोरी वा क्लबमा गाउन पुगेकी खुसीलाई त्यो बाटो वेश्यावृत्तिसम्म पुग्ने बाटो भएको आशंका भएपछि उनी सहर छाडेर गाउँ नै फर्कने मनस्थितिमा पुग्छिन् । गाउँ फर्कने अन्तिम रात, महानगरमा भेटिने अपरिचितसँगको संगतले उनको जीवन जगतलाई हेर्ने दृष्टिकोण बदलिने कथा फिल्मको कथा हो । 

मेनुकाको जीवनमा फिल्ममा जस्तो कोही देवदूत आएर उनको जीवनका संघर्षलाई सहज बनाइदिएको छैन । फिल्मको खुसी पात्रले झैँ उनले पनि अभिनय यात्रामा खुब ‘रिजेक्सन’ खाइन् । यस्तो हुँदा सुरु सुरुमा खुब चित्त पनि दुख्थ्यो । तर पछि बानी पर्दै गइन् । ‘यस्तो चिजमा बानी पर्नुभन्दा अरु के नै उपाय हुन्छ र ?’ मेनुका भन्छिन् ,‘मेरो भागमा यति नै रैछ भनेर चित्त बुझाउँछु । आफूलाई मानसिक रुपमा बचाइराख्ने यही नै तरिका ठीक हो भन्ने लाग्छ मलाई ।’

अभिनयमा गुनासो नहुँदा नहुँदै पनि मेनुका थाहै नपाई दुःखी र गम्भीर भूमिकामा स्टेरियोटाइप्ड हुँदै गएको धेरैको अनुभव छ । हुन पनि छोटो उमेरमै मेनुका अधवैंशे श्रीमतिदेखि लक्का जवानकी आमासम्म बनेकी छिन् । उनले यी सबै कुराले आफूलाई फरक नपार्ने बताइन् । उनले श्रीमति वा आमा बन्ने कुरा भन्दा पनि कथामा उनीहरूको उपस्थितिले फरक पार्ने बताइन् ।

‘म आमा वा श्रीमती बन्दिन भन्ने कुराले कलाकारको दायरा साँघुरो बनाउँछ । म त कथामा उनीहरूको ठाउँ हेर्छु, सम्बोधनमा जान्न,’ मेनुका बताउँछिन् ।

मेनुका केही दिनअघि मात्र चेक रिपब्लिकमा सम्पन्न कार्लोभी भारी इन्टरनेसनल अवार्डमा सहभागी भई जुरी अवार्डसहित देश फर्किइन् । उनको अभिनय रहेको ‘गुराँस’ले यो उपलब्धि हासिल गरेको थियो । पहिलो पल्ट विदेशको फेस्टिभलमा सहभागी हुन गएकी मेनुका त्यहाँका मानिसमा कलाप्रतिको समर्पण देखेर नतमस्तक भइन् । मेनुकाले नेपालबाट उड्ने बेलामा फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने बताएकी थिइन् । नभन्दै उनले भ्याएसम्म फेस्टिभलमा देखाइएका धेरै फिल्म हेरिन् । यहाँ पनि उनलाई सबै खाले फिल्ममा दर्शकको भिड देखेर नेपालको याद आयो । 

‘नेपालमा त फेस्टिभल गएको फिल्म भनेपछि नाक खुम्च्याउने चलन छ । त्यहाँ त कलात्मक फिल्ममा पनि मान्छे प्रशस्त थिए अलि रमाइला फिल्ममा पनि । दर्शकको सिनेमा साक्षरता पनि मलाई त्यहाँको विशेषता लाग्यो,’ मेनुकाले सुनाइन् ।

‘गुराँस’ले कार्लोभी भारीमा जुरी अवार्ड जित्यो । तर न फिल्मका लेखक–निर्देशक सौरभ राईलाई फिल्मले अवार्ड जित्ने आश थियो न फिल्मका अन्य सदस्यलाई । अवार्ड आयोजकले उनीहरूलाई अवार्ड समारोहमा बस है भनेर चाहिँ भनेका थिए । यो पनि यहाँको प्रचलन नै होला भनेर उनीहरूले वास्ता गरेका थिएनन् । त्यसैले जब अवार्ड समारोहमा विजयी फिल्मको नाम घोषणा हुँदै थियो, उनीहरू भने नेपालीमा एकआपसमा ठट्टा गरेर बसिरहेका थिए । अचानक स्टेजबाट ‘गुराँस’ले प्रोक्सिमा जुरी अवार्ड पाएको घोषणा भयो । अचानक उनीहरूलाई कसैले फिल्मको नाम लिएको जस्तो लागेर एक अर्कालाई मुखामुख गरे । हो कि हैन भनेर ठम्याउनै सकेनन् । छेऊमा बसेका फिल्मकर्मीले तिमीहरूको फिल्मले अवार्ड जितेको छ, स्टेजमा जाऊ भनेपछि मात्र, उनीहरूलाई अवार्ड जितेको पत्याए । 

‘कल्पना नै नगरेको चिज पाएपछि खुसी त हुने भइहाल्यो नि । अझ मेरो त फेस्टिभलमा नै पहिलो अनुभव थियो । पहिलो सहभागितामै अवार्ड पाएपछि साँच्ची दंग परेँ,’ मेनुकाले खुसी हुँदै सुनाइन् । 

पर्दामा मेनुका दुःखी र पीडित पात्रमा ज्यादा देखिन्छिन् । पर्दाबाहिर भने हाँसेको हाँसै । यस्तो लाग्छ, आफ्नो भागको दुःख–पीडा पनि उनले पात्रलाई नै छाडेर आउँछिन् । त्यसैले ‘महानगर’की खुसी, जीवन र करियर दुवैसँग खुसी नै खुसी छन् ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x