सिनेमा

नेपाली चलचित्रमा दयाहाङ ‘राज’, काँधमा एक्लै २० करोडको भारी

सामीप्यराज तिमल्सेना |
साउन २२, २०८० सोमबार १४:४९ बजे

काठमाडौँ– नेपाली फिल्म बनाउनलाई के चाहिन्छ ? तपाईंहरूले भन्नुहोला, कथा वा पटकथा । तपाईँहरूको यो अनुमान गलत हैन। नेपालमा अहिले कथा वा पटकथा नभए पनि हुन्छ तर दयाहाङ राई अनिवार्य चाहिन्छ । पछिल्लो समय यस्ता निर्माता निर्देशक पाउन गाह्रो छ जसले दयाहाङबिना फिल्म बनाउने कल्पना गरिरहेको होस् ।

दयाहाङ राईका सुटिङ सकिएका, सुटिङ भइरहेका र सुटिङ हुने तरखरमा रहेको सूचीले नेपाली फिल्म दयाहाङमय रहेको जनाऊ दिन्छन् ।


यो दयाहाङप्रति निर्माताले गरेको अभूतपूर्व भरोसाको उपज हो । र यो वातावरण सिर्जना गर्नमा जम्मा दुई फिल्मको योगदान छ । ती फिल्म हुन्, ‘कबड्डी ४’ र ‘जारी’ । त्यसो त अघिल्लो साल ‘दुई नम्बरी’ पनि हिट भएको थियो ।

‘कबड्डी ४’ र ‘जारी’ ले नेपालसँगै डायस्पोराका बजारमा अपत्यारिलो व्यापार गरेका थिए । यिनै फिल्मको भरोसामा डायस्पोराका वितरकले दयाहाङ भएका फिल्म हातहातै उठाउने गरेका छन् । दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ सुटिङकै बीचमा बिक्री भएको थियो भने दयाहाङ राईले खेल्ने भनेको ‘कार्साङ’ फ्लोरमा नजाँदै डायस्पोरामा १ करोड हाराहारीमा बिक्री भइसकेको छ । दया अभीनित ‘दिमाग खराब’ पनि बिक्री भइसकेको छ । भलै यसमा निश्चल बस्नेतको पनि नाम जोडिएको छ ।

पहिला हेरौँ, उनले सुटिङ सकाएका फिल्म । हाल ‘राजागञ्ज’को सुटिङका लागि धनुषा रहेका दयाको आउँदो महिना ‘नांगो गाउँ’ प्रदर्शन हुँदैछ । प्रदर्शन मिति यताउति नभए यसपछिको महिना ‘दिमाग खराब’ प्रदर्शन हुँदैछ । अहिलेसम्मको घोषणाअनुसार यो फिल्म तिहारमा रिलिज हुनेछ । यही मितिको वरिपरि उनले भर्खरै सुटिङ सकाएको फिल्म ‘हात्तीछाप’ रिलिज हुनेछ । यसका निर्माता किरण नेपाली ‘हात्तीछाप’ दसैँमा ‘भष्मेडन’सँगै रिलिज गर्ने तयारी गरिरहेका छन् । यो मितिमा नभए यो फिल्म तिहारमा रिलिज हुने चर्चा छ । दयाले सुटिङ सकेको फिल्मको सूचीमा ‘गाउँ आएको बाटो’ पनि छ जसको प्रदर्शन मिति तय भएको छैन । सम्भवतः यो फिल्म विदेशका फेस्टिभल घुमिसकेपछि प्रदर्शन हुनेछ ।

तत्कालै दयाले ‘राजागञ्ज’को सुटिङ गरिरहेका छन् । योपछि भने उनले कुन फिल्मका लागि समय दिएका छन्, दयालाई मात्र थाहा छ । तर भर्खरै उनले ‘रंगेली ग्याङस्टर’लाई समय दिने वाचा गरेका छन् । यो चलचित्र भदौ अन्तिममा फ्लोरमा जाने चर्चा छ । 

योबाहेक दयाले ‘वरिष्ठ बलराम’, ‘अन्जिला’, ‘घर ज्वाइँ’, ‘डिग्री माइला’ र हेमराज बिसीको निर्देशन रहने तर नाम सार्वजनिक भइनसकेको एउटा फिल्म पनि साइन गरिसकेका छन् । ‘वरिष्ठ बलराम’लाई रोहित अधिकारीले निर्माण गर्न लागेका हुन् भने ‘अन्जिला’ लाई मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । ‘घर ज्वाइँ’का निर्देशक अनिल मगर हुन् र यो फिल्मलाई निर्माण गर्दैछन् जनकघर्ती मगरले । उनले हेमराज बिसीको निर्देशन रहने फिल्म पनि गर्ने सम्झौता गरिसकेका छन् ।

यो सबैको सूची मिलाएर हेर्दा कूल उनका केही समयमा नै ११ वटा फिल्म फिल्म रिलिज हुनेछन् । यी सबैको औसत निर्माण खर्च २ करोड मान्ने हो भने  दयाहाङ एक्लैले २० करोडको लगानीको भार थेगिरहेका छन् । दयाले प्रति फिल्म ३० लाख रुपैँया लिने गरेका छन् । यीमध्ये केही फिल्ममा दया सेयरमा पनि छन् । तर पनि यी फिल्मबाट उनले कम्तिमा तीन करोड रुपैँया बुझ्ने छन् ।

दयाहाङ राईको पछि यसरी निर्माता लाग्नुलाई मनोज पण्डित भने ‘स्टारडम सिन्ड्रोम’को रुपमा लिन्छन् । तत्कालका लागि यसबाट फाइदा देखिए पनि कालान्तरमा भने यसले कलाकार र उद्योग दुवैलाई घाटा हुने दृष्टान्त प्रशस्त रहेको पण्डितको भनाइ छ । 

‘पहिलो त यसले सिनेमामा चरित्रभन्दा कलाकारलाई केन्द्रमा राख्छ । यसका लागि कलाकार सुहाउँदो कथा हैन कि कलाकारलाई शोषण गर्नलाई कथा बन्छ,’ पण्डितको भनाइ छ, ‘ एउटा स्टारको मात्र पछि लाग्दा कथासँगै सहायक कलाकार सँगको सम्बन्ध प्रडक्सन पनिको मूल्य पनि गौण हुन जान्छ । यसले अहिले टाउको राखेर बिकाउने न्यारेसन सेट गर्छ तर कालान्तरमा यसैले टाउको छिनाउने सम्भावना पनि रहन्छ । 

तर दयालाई बजारले यो तहको विश्वास गर्नमा उनको अभिनय क्षमतासँगै काम गर्ने सहजता पनि मुख्य कारण भएको उनको बुझाइ छ । तर जसरी अहिले गणतन्त्रपछिको राजनीति ‘स्याचुरेट’ भएको छ भोलि दयाको पनि त्यही अवस्था नआओस् भन्नमा दयासँगै उद्योग पनि सचेत हुनुपर्ने उनको सुझाव छ ।

‘दयाको कुरा गर्नु भनेको हामीले उसको बारेमा चिन्ता गर्नु हो । तर दयाले पनि बुझ्नु पर्छ उद्योग अहिले उसको क्षमताको पछि लागेको हैन बजारको पछि लागेको हो । यो समयमा कलाकारले आफ्नो लागि मात्र होइन उद्योगको भलाइका लागि पनि सोच्नुपर्छ,’ उनको ठम्याइ छ । 

त्यसो त दयाले अभिनय गरेका सबै फिल्म डायस्पोराका बजारमा बिक्दैनन् । न त तिनले नेपालका बक्स अफिसमै पनि कुस्त कमाएका छन् । 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x