सिनेमा

गाउँ फर्किएका ‘साँघुरो’ अभिनेता

सामीप्यराज तिमल्सेना |
साउन १२, २०८० शुक्रबार ८:५७ बजे

काठमाडौँ- आजभन्दा ८ वर्षअघि नेपाल छाडेर अमेरिका जाने निर्णय गर्दा सुशांक मैनालीका अघि भर्भराउँदो फिल्मी करिअर अगाडि थियो । ‘साँघुरो’बाट डेब्यु गरेका सुशांकको यो फिल्मले उत्पात व्यापार गरेको थिएन तर लोभलाग्दो समीक्षा पाएको थियो । फिल्मलाई बेलायतको च्यानल फोकेले किनेर प्रसारण गरेको थियो जुन नेपालका लागि पहिलो घटना थियो । 

यसपछि सुशांकले ‘टलकजंग भर्सेज टुल्के’, ‘जंगे’, ‘को आफ्नो’ आदि फिल्म गरे । यसपछि पनि उनका हातमा चार फिल्म थिए । तर यही बीचमा उनको अमेरिकाको भिसा झर्यो । उनले चार वटै फिल्मका निर्माताको पैसा फर्काएर अमेरिका हिँड्न झोलीतुम्बा कसे । 


कुनै दिन अभिनेता बन्न नै उनले घरखेत बन्धकी राखेका थिए । तर जब उनले त्यो मुकाम हासिल गरे, चटक्क छाडेर हिँड्नुपर्यो । भर्खरै अमेरिकाबाट नेपाल आएका उनले इकागजसँग यसलाई नियतिको रुपमा व्याख्या गरे । ‘फिल्म बनाउनलाई ऋण लिएँ र त्यही ऋणले मलाई पलायन गर्यो । अब म ऋणमुक्त भएर देश फर्किएको छु,’ उनले उत्साहित हुँदै सुनाए ।

साथीभाइ माझ शैलेश नामले चिनिने सुशांक मैनालीले ऋण गरेर ‘साँघुरो’ चलचित्र बनाएका थिए । चलचित्रले अभिनयको भोक पनि मारोस् र लगानी पनि उठाओस् भन्ने उनको चाहना थियो । फिल्मले अभिनयको भोक त मार्यो तर ऋणमा जाकेर । अनि त निरुपाय सुशांक लागे,अमेरिकातिर । अहिले त्यो समय विचरण गर्दा सुशांकलाई लाग्छ, कोही सहृदयीले फिल्मको ऋण तिर्न ऋण पत्याएको मात्र भए पनि उनी नेपाली सिनेमामै रमिरहेका हुन्थे । तर नियतिले उनको पाइलामा सात समुन्द्रपारीको यात्रा लेखेकै रहेछ जसलाई उनले कसैगरि टार्न सकेनन् । अभिनय गर्छु भनेर ठिक्क पारेका फिल्मका निर्मातालाई पैसा फर्काउँदै उनले अमेरिकाको बाटो समाते । 

अमेरिका कुनै पैसा फल्ने रुख होइन । साँप्रा दुख्नेगरी मेहनत र साहुका अपमानका वचनवाण खुरुखुरु पचाउन सक्ने भएपछि मात्र अमेरिकामा टिक्न र पैसा कमाउन सकिन्छ । सुशांकलाई अमेरिकामा रहेका ज्ञानीले यस्तै सल्लाह दिएका थिए । तर नमरी स्वर्ग नदेखिएझैँ आफूले नभोगेसम्म यस्ता ज्ञान शब्द मात्र भइजान्छन् । सुशांक लगभग ३ वर्ष यसको भुक्तभोगी भए ।

यी दिनमा केही रात उनले आँशु पनि रोक्न सकेनन् । अमेरिकामा ‘घन्टा’ हानिरहँदा नेपालमा चलचित्रको सेटमा रहेको कल्पना पनि गर्न छाडेनन् । तीन वर्ष यसरी शरीर अमेरिका र मन नेपालमा राखेर उनले काम गरे । तीन वर्षपछि परिवार पनि अमेरिका आएपछि भने उनले पहिलेझैँ संघर्ष गर्नुपरेन । यसरी  सुशांकले नेपाल छाडेर अमेरिका गएको ८ वर्ष पूरा भयो । 

‘सुरुमा त म फिल्म सुटिङको तयारी र चकाचौँध देखेर मुग्ध भएँ । तर एक दुई बिताउँदै जाँदा भने पैसाले भन्दा पनि कथाले फिल्म बनाउँछ भन्ने लाग्दै गयो ।'

अमेरिका जाँदा सुशांकलाई दुई चार वर्षमा ऋण तिरेर फेरि नेपाल नै फर्कन्छु भन्ने थियो । नभन्दै उनी फर्किएका पनि छन् । आर्थिक रुपमा थप बलियो भएर । अमेरिकामा रहँदा बस्दा नै उनले अमेरिकामा व्यापारको थालनी गरेका छन् । उनले एउटा ब्युटी फ्रेन्चाइज लिएका छन् जसका विश्वभर ४२–४३ वटा आउटलेट छन् । योबाहेक उनले नेपालमा पनि व्यापारको सुरुवात गरेका छन् जसले विस्तारै फैलने संकेत देखाइरहेको छ । यति गरेपछि सुशांक फेरि एक पटक अभिनयमा दोस्रो पारी खेल्ने सोचमा छन् । सँगसँगै फिल्म निर्माण पनि ।

अभिनय र निर्माणलाई सँगसँगै लैजाने उद्देश्य अनुरुप गत वर्ष सुशांकले ‘बुलबुल’ निर्देशक विनौद पौडेलसँग मिलेर ‘रबर सिटी’को सुटिङ सुरु गरेका थिए । अमेरिकाको ओहायोमा नै सुटिङ भएको यो चलचित्रमा सुशांकले निर्माणसँगै अभिनय पनि गरेका छन् । मौसमका कारण केही प्रतिशत सुटिङ गरिएर रोकिएको फिल्म आउँदो हिउँदमा सुरु गर्ने उनको लक्ष्य छ । योबाहेक एउटा ‘साँघुरो’कै समूहसँगै मिलेर अर्को ठूलो बजेटको फिल्मको पनि तयारी गरिरहेका छन् जुन विश्व बजारलाई केन्द्रमा राखेर बनिरहेको छ । 

यति गरिरहँदा नेपाली फिल्म खेल्ने रहर अझै पूरा नभएको सुशांक बताउँछन् । यही रहरको कुरा गर्दा सुशांकलाई दयाहाङ राईले भनेको कुरा उनलाई याद आउँछ । ‘साँघुरो’ सकिएपछि दयाहाङ राईले सुशांकलाई सोधेका थिए रे, ‘अभिनयको किरा मर्यो त मैनाली ?’ उसबेला सुशांकले दयालाई के जवाफ दिए याद छैन तर अहिले उनलाई यो किरा बढेर झन् ठूलो भएको महसुस भएको छ । सुशांक भन्छन्,  ‘सिनेमा भनेपछि खोई किन हो मलाई भित्रैदेखि खुसी लाग्छ । अहिले त झन् यो किरा बढेर ठूलो भएको महसुस भएको छ ।’

अमेरिकामा लामै समय बसे पनि त्यहाँका सिनेमामा छिर्ने कुरा उनको दिमागमा आएन । तर गत वर्ष मात्र विनोद पौडेलले लहडले यो मौका जुर्यो । विनोद पौडेलले गुगल अंकलको सहायतमा कताबाट ओहायोमा नेटफ्लिक्सको फिल्म सुटिङ भइरहेको चाल पाएछन् । उनले कास्टिङ गर्ने कम्पनीलाई आफूसँगै सुशांकको नालीबेली पनि पठाइदिए ।

विभिन्न समुदायका मानिस खोजिरहेको कास्टिङ एजेन्सीले दुवैजनालाई छनौट गरेछ । यही फिल्ममा उनले विष्फोटबाट भाग्दै गरेको भारतीयको भूमिका निर्वाह गरेका छन् । ‘ह्विट जर्म’ नामको यो फिल्मको बजेट नै ४ सय मिलियन अर्थात् ४०–४५ अर्ब रहेछ । ‘मसँगै फिल्मको हिरो पनि भाग्ने दृश्य रहेछ । समानान्तर सट छ । एउटै सटमा देखियो भने पनि रमाइलै होला भन्ने लागेको छ,’ सुशांकले बताए । उनलाई यो फिल्मको सुटिङ हेर्दा चाहिँ झन् आत्मविश्वास बढेको छ । 

‘सुरुमा त म फिल्म सुटिङको तयारी र चकाचौँध देखेर मुग्ध भएँ । तर एक दुई बिताउँदै जाँदा भने पैसाले भन्दा पनि कथाले फिल्म बनाउँछ भन्ने लाग्दै गयो । यसैले हामी नयाँ फिल्म बनाउने हिम्मत जुटाइरहेका छौँ,’ उनको भनाइ छ । 

निर्माणसँगै अब उनलाई नेपाली फिल्ममा धित मर्ने गरी अभिनय गर्न मन छ । यसका लागि उनले पुराना साथीभाइलाई आफू नेपाल फर्किएको जानकारी गराइरहेका छन् । योसँगै आफूले मानसिक रुपमा तयार गर्ने काम पनि भित्रभित्रै गरिरहेका छन् । 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x