समाज

नेपालगञ्जमा हिटवेभको जोखिममा रहेकालाई सचेत गराइँदै

इकागज |
बैशाख १८, २०८१ मंगलबार १५:२५ बजे

फाइल तस्बिर

नेपालगञ्ज- नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनि बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत) लाई सचेत गराउन थालिएको छ । उनीहरूलाई गर्मी र तातो हावाबाट बच्न सचेतना तथा जागरण फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँकेले स्वयंसेवक समेत परिचालन गरेको छ । 

चार दिनसम्म नेपालगञ्ज उमहानगरपालिका–२१ र २२ मा तातो हावाको उच्च जोखिममा रहेका परिवारलाई सचेतना तथा जागरणको काम गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी, बाँकेका उपनिर्देशक दोलख डाँगीले जानकारी दिए । उनले अपाङ्गता भएका व्यक्तिको घर–घरमा पुगी सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी रूपमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिरामीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा सूचित गरिने बताए । यसका लागि दुई वडामा ६ स्वयंसेवक परिचालन गरिँदै छन् ।  


अमेरिकी रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालनमा छ । उपनिर्देशक डाँगीले चार दिनसम्मको अवस्था हेरेर पुनः अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै यसबाट किसान, श्रमिक वर्ग, पिछडिएको वर्ग र ज्यालादारीमा काम गर्ने वर्ग सबैभन्दा बढी लाभान्वित हुने बताए । 

नेपालगञ्ज उपमहानगरपालिका आपतकालीन कार्य व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्मी दिनप्रतिदिन बढ्दै गएकाले श्रमिक वर्गका लागि नेपालगञ्ज–२ को रानीतलाउ नजिक कुलिङ सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिनसम्म निरन्तर तापक्रम बढ्ने जनाएको छ । दिउँसो गर्मी र तातो हावाका कारण नेपालगञ्जको जनजीवन प्रभावित भएको छ । 


Author

थप समाचार
x