कला

भेनिसमा ‘द रेड सुटकेस’ काे प्रिमियर, १३ सयले हेरे एकैसाथ

सामीप्यराज तिमल्सेना |
भदौ २३, २०८० शनिबार १३:९ बजे

भेनिस । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको चलचित्र ‘द रेड सुटकेस’को प्रिमियर भएको छ । चलचित्र १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।

प्रिमियरमा सहभागी हुन नेपालबाट निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल केही दिनअघि भेनिस झरेका थिए भने छायाँकार सुशन प्रजापति र कलाकार सौगात मल्ल र विपिन कार्की बिहीबार साँझ भेनिस आइपुगेका थिए । लन्डनमा रहेकी सृष्टि श्रेष्ठ पनि बिहीबार साँझ मात्र झरेकी थिइन् ।


प्रिमियरअघि फिल्मका निर्देशक,निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए ।  यसपछि भने उनीहरु भेनिसको रेडकार्पेड हिँडेका थिए । भेनिसको समय अनुसार ठीक २ बजे चलचित्रको स्क्रिनिङ सुरु भएको थियो ।

डेढ घन्टा हाराहारीको चलचित्र प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए । मन पराएको फिल्मलाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा फेस्टिभलमा रही आएको छ । भेनिसमै यो साल पुअर थिंक्सका लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।

फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक रहेको थियो । फिल्मको प्रदर्शनपछि दर्शकले चलचित्रको कथासँग नेपाली समाजको साइनो र फिल्म भित्र निर्देशक फिडेल देवकोटाले राखेका साँकेतिक दृश्यहरु बारे जिज्ञासा राखेका थिए ।

योबाहेक दर्शकले छायांकनको छनौट र नेपाल र श्रीलंकाबीचको सहकार्यको कुरालाई अनौठो मानी जिज्ञासा राखेका थिए ।

नेपालले धेरैजसो समय युरोपियन निर्मातासँग सहकार्य गरेर चलचित्र बनाउने गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो फिल्मका सम्पादक पनि श्रीलंकन नै हुन् । 

चलचित्रले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गर्छ । तर ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैनन् । चलचित्रमा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा फिल्मभित्र रोचक भूमिकामा छन् ।

शुक्रबार नै चलचित्रले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको छ । स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू फिल्म बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको सर्टिफिकेटमा उल्लेख छ । कलाको कर्पोरेटाइजेसनको विरुद्धमा रहेको यो संस्थाले सडक छेऊको सानो कुनामा छोटो औपचारिक कार्यक्रम गर्दै फिडेल लगायत अन्य विजेतालाई ट्रफी हस्तान्तरण गरेको थियो ।

भेनिसको समापन आज शनिबार हुँदैछ । आज साँझ हुने समारोहमा यो वर्षका विभिन्न विधाका विजेताको घोषणा हुनेछ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x