कला

प्रिमियर अगावै भेनिसमा ‘द रेड सुटकेस’लाई मेन्सन अवार्ड

सामीप्यराज तिमल्सेना |
भदौ २२, २०८० शुक्रबार १६:११ बजे

भेनिस– शुक्रबार प्रिमियर हुन गइरहेको ‘द रेड सुटकेस’ले प्रिमियर अगावै अवार्ड जितेको छ । चलचित्रले फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको हो । चलचित्र समीक्षक, साँस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रुपमा प्रदान गर्ने यो अवार्ड ‘द रेड सुटकेस’ लाई यसमा गरिएको मेहनतका लागि प्रदान गरिएको संस्थाद्धारा जारी इमेलमा जनाइएको छ ।

 ‘चलचित्रले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ । छायाँकनको उच्चता मार्फत फिल्मले नेपाली समाजको बसाइँ सराइको दुर्दान्त कथा प्रस्तुत गर्छ । साँस्कृतिक पृष्ठभूमिमा रहेर चलचित्रले विश्वजनीन कथा पनि प्रस्तुत गरेको छ,’ जुरी साइटेसनमा भनिएको छ ।


निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको बताएका छन् । उनले यसलाई फिल्मको सफलताको सूचकको रुपमा अथ्र्याए । ‘मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ । तर साइड इभेन्टमा पनि फिल्मले अवार्ड जित्नुको मतलब हामी कथावाचनमा धेरेथोर सफल भएको संकेत हो । हामी खुसी छौँ,’ फिडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने । 

विगत चार वर्षदेखि बाँडिँदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म इभिल डजनट एक्जिस्टले जितेको थियो । हामागुचीले गत साल ड्राइभ माइ कार मार्फत् अस्करको इन्टरनेसनल फिचर फिल्म विधातर्फको अवार्ड जितेका थिए । यो साल पनि उनको फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा रहेको छ । फिडेलले अस्कर अवार्ड विजेता हामागुचीसँग हार्दा खुसी नै लागेको बताए ।

निर्माता रामकृष्ण पोखरेलले प्रिमियरको पूर्वसन्ध्यामा अवार्ड पाउनुलाई शुभ संकेतको रुपमा अथ्र्याए । ‘कम्तिमा हामी खाली हात नेपाल फर्कनु परेन । तर हामी थप आशावादी छौँ,’ उनले भने । 

फिल्मको शुक्रबार नै वल्र्ड प्रिमियर हुन गइरहेको छ । प्रिमियरका लागि निर्माताहरु रामकृष्ण पोखरेल, शोभा थापा, निर्देशक फिडेल देवकोटा, छायाँकार सुशन प्रजापति र कलाकारहरु सौगात मल्ल्, विपिन कार्की, सृष्टि श्रेष्ठ भेनिस आइपुगेका छन् । 

शनिबार फिल्मको अवार्ड वितरण कार्यक्रम रहेको छ । प्रिमियर अगावै अवार्ड जित्नुले फिल्म खालीहात नफर्कने पक्का भएको छ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x