कला

रमाइलो मेला जस्तो बन्दै बोर्डको पहिलो बाल चलचित्र महोत्सव

सामीप्यराज तिमल्सेना |
जेठ ३०, २०८० मंगलबार १६:४३ बजे

काठमाडौँ- यसअघिका चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले नेपाली सिनेमाका दर्शक बढाउन र कलिलो उमेरदेखि नै दर्शकमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने अभिप्रायले बाल चलचित्र महोत्सवको अवधारणा अघि सारेका थिए । यसका लागि उनले समिति बनाएर सिनेमाको माध्यमबाट बालबालिकासँग काम गरिहेका ब्रिटिश काउन्सिल र युनिसेफ जस्ता संस्थालाई पनि सदस्यको रुपमा जोडेका थिए । 

वर्षभरि बालबालिकालाई फिल्म निर्माणमा प्रशिक्षित गर्ने र उनीहरूको सिकाइबाट निर्माण भएका चलचित्रलाई चलचित्र महोत्सवमार्फत् प्लेटफर्म दिने उद्देश्य राखेका थिए । तर, उनको कार्यकाल सकिएसँगै उत्तरवर्ती​ अध्यक्ष र बोर्ड सदस्यले यो महोत्सवलाई आफ्नो प्रचारमा सीमित गरेका छन् । आउँदो १,२ र ३ गते हुने यो महोत्सव बाल चलचित्र महोत्सव नभई रमाइलो मेला जस्तो आयोजना हुन लागेको धेरैको टिप्पणी छ । किनकि यो महोत्सवका एक संयोजकले सार्वजनिक गरेको पोस्टर र कार्यक्रम हेर्दा यस्तै आभास हुन्छ । महोत्सवका संयोजकले सार्वजनिक गरेको पोस्टरमा नृत्य प्रतियोगिता र हाजिर जवाफ प्रतियोगिता जस्ता कार्यक्रम समावेश गरिएका छन् जसले न बालबालिकामा चलचित्र निर्माणको ज्ञान दिन्छ न बुझाइको । 


यसैगरी फिल्म महोत्सवमा उपयुक्त मानिने फिल्म सम्बन्धी विधाका अन्तरक्रिया, छलफल, मास्टर क्लास नभएर फोटो र पुस्तक प्रदर्शनी राखिएका छन् । आफैँ अध्यक्ष रहेका भुवन केसीले आफैले आयोजना गर्न लागेको कार्यक्रममा बालबालिकासँग आफैँ गफिने कुरा पनि स्वाभाविक लाग्दैन ।

बोर्डको तर्फबाट यो समितिका संयोजक केएल बुढाथोकी हुन् । दाङबाट सञ्चारमन्त्री बनेकी रेखा शर्माको गोजीबाट अचानक बोर्ड सदस्य बनेका बुढाथोकीले आफूखुसी कार्यक्रम डिजाइन गरेको बोर्ड कर्मचारी र समकक्षी बोर्ड सदस्यको गुनासो छ । कतिसम्म भने उनले केही दिनअघि सार्वजनिक गरेको पोस्टरमा बोर्डको नामसमेत राखेका छैनन् । संयोजकमा आफ्नो नाम राखेर उनले सार्वजनिक गरेको पोस्टरमा अतिथिको रुपमा यस्ता मानिसको नाम राखेका छन् जसको बाल चलचित्रसँग बाह्र हातको साइनो पनि छैन । 

‘यो त मनोमानीको पनि पराकाष्ठा भयो । बोर्डले गर्न लागेको कार्यक्रमको पोस्टरमा बोर्डको नामधरि उल्लेख छैन,’ एक सदस्यले इकागजसँग भने, ‘जाने अतिथिको नाम देखेर हामी पनि चकित छौँ ।’

प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव नाम दिइएको महोत्सवमा अतिथिको नाममा भुवन केसी, झरना थापा, चेतन सापकोटा र सत्यकला राईको नाम छ । भुवन केसी बोर्ड अध्यक्ष हुन् भने झरना थापा निर्देशक । तर, झरना थापाले निर्देशन गरेका चलचित्र महिला र बालबालिका मैत्री नभएको भन्दै व्यापक आलोचना हुने गरेको थियो । त्यसैगरी चेतन सापकोटा भने माओवादी निकट संगीतकार तथा गायक हुन् । पोस्टरमा अटाएकी अर्की अतिथि सत्यकला राई गायिका हुन् । उनी माओवादी निकट निर्माता तथा निर्देशक नवल खड्काकी श्रीमती पनि हुन् ।

सारमा भन्दा पोस्टरमा अटाएका कुनै पनि अतिथि बालचलचित्रमा योगदान दिएका  आधारमा छानिएका छैनन् । केही माओवादी भएकै कारण छानिएका छन् भने केही थपनाका लागि । 

बोर्डले पहिलोपल्ट गर्न लागेको महोत्सवका कतिसम्म बिजोग छ भने तीन दिने महोत्सवमा देखाउने फिल्म नपाएर बोर्ड सदस्यहरू यतिबेला फिल्मकर्मीसँग बोर्डलाई फिल्म दिन हारगुहार गरिरहेका छन् । बोर्ड सदस्य रवि अधिकारीले बोर्डले आह्वान गरेको मितिमा ४–५ वटा भन्दा बढी फिल्म नआएपछि फिल्मकर्मीसँग फिल्म मागिरहेको बताए ।

‘हामीले मागेको समयसीमा सम्म खासै चलचित्र पनि आएनन् । फिल्म त जसरी पनि देखाउनु पर्यो भनेर हामीले पुराना फिल्म मागिरहेका छौँ,’ रविको भनाइ छ ।
पहिलो चलचित्र महोत्सव किन यसरी गर्न लाग्नु भएको भनेर सोध्दा विकास बोर्ड अध्यक्ष भुवन केसी महोत्सवको सम्पूर्ण जिम्मा केएल बुढाथोकीलाई दिइएको र यसको सम्पूर्ण डिजाइन उनैले बनाएको बताए ।

‘बोर्ड मिटिङमा छलफल त भएको हो तर के के भइरहेको छ भन्ने कुरा बुढाथोकीजीलाई थाहा छ । तर, हामी पहिलो बाल चलचित्र महोत्सव राम्रो बनाउनु पर्छ भन्ने कुरामा सचेत छौँ,’ उनले भने ।

अध्यक्षले राम्रो गर्छौँ भन्ने दाबी गरे पनि दाङका स्थानीय समाचार माध्यममा बाल चलचित्र महोत्सव गर्ने नभई चलचित्र विकास बोर्डले नृत्य प्रतियोगिता गर्न लागेको समाचार बढी आइरहेका छन् । यसमाथि चलचित्रका नृत्यले महिलालाई ‘अब्जेक्टीफाई’ गर्ने र नेपाली चलचित्रमा समावेश भएका गीतमा बालबालिकाको मनोविज्ञानलाई असर गर्ने शब्दहरू रहने गरेको भन्दै बेलाबखत आलोचना हुने गरेको छ । यस्तोमा सरकार आफैँले यस्तो कुरा प्रवद्र्धन गर्नु कुनै पनि कारणबाट सही ठहर्याउन सकिन्न । 

बोर्ड यस्तो कुरामा संवेदनशील नदेखिएको र केएल बुढाथोकीले जथाभावी महोत्सव गर्न लागेको छनक पाएसँगै महोत्सवमा साझेदारी गर्न तयार भएको ब्रिटिस काउन्सिल र युनिसेफले हात झिकिसकेका छन् ।

ब्रिटिश काउन्सिलका प्रतिनिधिले हात झिकेको भन्दा पनि सहकार्य गर्न अन्तिम समयसम्म पनि प्रयास गर्दा पनि सहमति हुन नसकेपछि आफूहरु यो महोत्सवमा साझेदारी गर्न असमर्थ भएको बताएका छन् ।

'अन्तिम समयमा उहाँहरुले हामीसँग भएका फिल्म दिनपर्याे भनेर भन्‍नु भएको थियो । हामीले फिल्मसँग प्रतिनिधि पनि पठाउनुपर्छ भन्दा उहाँहरु यो कुरामा पनि सहमत हुनु भएन । यही कारण हामीले सहकार्य गर्न सकेनाैँ,' प्रतिनिधिको भनाइ थियो ।

बोर्डले पहिलो पल्ट गर्न लागेको चलचित्र महोत्सवबाट सरोकार चलचित्रसम्बन्धी संघ संस्था पनि बेखबर छन् । उनीहरूलाई न कार्यक्रममा निम्त्याइएको छ न कार्यक्रमको बारेमा जानकारी गराइएको छ । यसअघि बोर्डले गर्ने चलचित्र महोत्सवमा संघ संस्थाका पदाधिकारी सम्मिलित समिति बन्ने र सामूहिक निर्णयमा कार्यक्रम आयोजना हुने गरेको थियो । तर, बोर्डले पछिल्लो समय न दुबईमा महोत्सव गर्दा संघ संस्थालाई समेटेको थियो न अहिले प्रथम राष्ट्रिय बाल महोत्सव चलचित्र आयोजना गर्दा नै समेटेको छ । 

बाल चलचित्र महोत्सवको तयारीको  विषयमा इकागजले केएल बुढाथोकीसँग कुरा गर्न खोज्दा उनले अहिले व्यस्त रहेको र पछि सम्पर्क गर्ने बताए । 

बोर्डमा बुढाथोकीको दबदबा

सञ्चारमन्त्री चुनाव क्षेत्रकै कारण बोर्ड सदस्य बनेका केएल बुढाथोकीले यही कारण आफूखुसी निर्णय गराउने गरेको बोर्डका कर्मचारीदेखि बाँकी बोर्ड सदस्यसम्मको गुनासो छ । उनले जे कुरामा पनि मन्त्रीजीले मलाई यसो गर्नु भन्नु भएको छ भन्दै मन्त्रीको धाक दिने र निर्णय गर्न बाध्य बनाउने गरेको भुक्तभोगी बताउँछन् । 

उनले काठमाडौँमा हुन लागेको बाल चलचित्र महोत्सव यसरी नै धाक देखाएर दाङ पुर्याएका थिए । जबकि उत्पात गर्मी हुने समयमा बालबालिका जुटाउन र टिकाउन सकस पर्ने धेरैको जिकिर थियो । त्यसबाहेक बोर्ड मिटिङमा पनि उनको भनाइ विरुद्ध जाने सदस्यलाई भिडियो बनाएर मन्त्रीलाई देखाइदिन्छु भन्दै धम्क्याउने गरेको एक सदस्यले बताए ।

बुढाथोकीले मन्त्रीसँग निकट भएकै कारण आफूलाई जबर्जस्ती प्रवक्ता तोक्न बोर्ड अध्यक्षलाई बाध्य पारेको एक कर्मचारीले बताए ।  उनले तीन जना बोर्ड सदस्यको हैसियत समान भए पनि मन्त्रीसँग निकट भएकै कारण बेग्लै कार्यकक्ष बनाएका छन् । जबकि बाँकी सदस्य पुस्तकालय भएको ठाउँमा एउटा दुइटा कुर्सी राखेर काम चलाउने गरेका छन् । 

बुढाथोकीको कार्यशैली अव्यावसायिक पनि उत्तिकै भएको एक चलचित्र निर्माताले बताए । सेन्सरमा पालो परेर गएका उनले एक निर्मातालाई प्रहरी प्रधान कार्यालयबाट पास भएर गएको स्क्रिप्टमा सुटिङ भएको फिल्ममा प्रहरीले सिधै छातीमा गोली हान्दैन भन्दै १ घन्टासम्म गलफत्ती गरेका थिए । यतिमात्र होइन उनले त्यसपछि फेसबुकमा आफूले एउटा फिल्मलाई यसो यसो गरेको भन्दै तीन बित्ते लामो स्ट्याटस राखेका थिए । जबकि सेन्सरमा भए गरेका कुरा गोप्य हुनुपर्ने मान्यता छ । त्योबाहेक उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि भएको एक कार्यक्रममा बोल्न नपाएको झोंकमा यसैगरी लामो स्ट्यास लेखेका थिए । 


  


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x