कृषि

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि...

इकागज |
चैत १८, २०८० आइतबार २१:३३ बजे

फाइल तस्बिर

कास्की- मादी गाउँपालिका-१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् । 

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिँगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ । 


सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताए । 'सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिँगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए,' बरालले भने, 'तर, अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।'

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताए । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्याबमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताए । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गरे । 

बरालले केही बाख्रोको बीमा गरे पनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका थिए । बाख्रासँगै उनले कुखुरा पालन गरेका छन् । बरालले गत वर्ष बाख्रा पालनबाट रु ३८ लाखको आम्दानी गरेकामा यस वर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाएका थिए । 

'सानो उमेरदेखि नै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ,' बरालले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए । 

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए । 'विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन,' उनले भने ।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरूलाई समेत दुखित बनाएको बताए । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए । रासस


Author

थप समाचार
x