नेपाली विद्यार्थीका लागि क्यानडा अध्ययन अवसर, तर निरन्तरतामा चुनौती

सुमन पौडेल | साउन ३१, २०८०

पछिल्लो समय नेपाली विद्यार्थीहरूको अध्ययनको  प्रमुख गन्तव्य क्यानडा भएको छ । उच्च शिक्षा अध्ययन गर्नका लागि नेपाली विद्यार्थी क्यानडा जाने संख्या बढ्दो छ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अध्ययनका लागि सजिलो भिसा नीति अंगीकार गरेको छ । त्यस्तै अध्ययन पश्चात् निश्चित अवधिका लागि काम गर्न अनुमति दिने र उनीहरूको स्थायी बसोबासका लागि पनि अन्य विकसित देशका तुलनामा सजिलो प्रावधानहरू निर्धारण गरेको छ । 
 
क्यानडाको संघीय सरकारले सन् २०२५ सम्म क्यानडाको श्रम बजारमा रहेको दक्ष कामदारको अभावलाई पूर्ति गर्न तथा क्यानडाको आर्थिक सम्बृद्धिमा टेवा पुर्‍याउने हेतुले वैधानिक रुपमा प्रत्येक वर्ष करिब ५,०००,०० आप्रवासी भित्र्याउने नीति अंगीकार गरेको छ ।

साथै क्यानडालाई विद्यार्थीहरूको आगमनबाट वैदेशिक आय प्राप्त हुने तथा तत्काल आफ्नो श्रम बजारमा रहेको कामदारको अभावलाई पनि परिपूर्ति गर्न सहयोग पुग्ने हुँदा क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई  विशेष प्राथमिकता दिइरहेको छ ।

क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता क्यानडाको तथ्याङ्क अनुसार १८४ देशहरूबाट सन् २०१९ मा ४००,६००, सन् २०२० मा कोभिड महामारीका कारणले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोकिएको बाहेक सन् २०२१ मा ४४४,२६० र सन् २०२२ मा ८०७,७५० अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनका लागि क्यानडामा अनुमति दिएको छ । सन् २०२२ मा क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू आगमन क्यानडाको इतिहासमा आफैंमा एउटा रेकर्ड भएको छ । सन् २०२३ अन्त्यसम्ममा योे संख्या अझै उल्लेख्य रुपमा बढ्ने‌मा कुनै शंका छैन। 

सन् २०२२ मा क्यानडाको अर्थतन्त्र विश्वको ८ औँ ठूलो अर्थतन्त्र भएको छ । यसको कुल ग्राहस्थ्य उत्पादन २.२२१ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो विश्वको सबैभन्दा ठूलो व्यापारिक राष्ट्रहरूमध्ये एक हो, जसको अत्यधिक भूमण्डलीकृत अर्थव्यवस्था छ । रियल इस्टेट, निर्माण, र खनिज उत्खनन क्यानडाको अर्थव्यवस्थाको प्रमुख चालकहरू हुन । यहाँको अर्थतन्त्र तीव्र रुपमा फस्टाउँदै पर्याप्त अवसरहरू सृजना भएकोले पछिल्लो समय स्थायी बसोवास र सुखद भविष्यको लागि आप्रवासन खोज्नेहरूका लागि क्यानडा प्रमुख रोजाई भएको छ।

यसरी हेर्दा क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि पनि सुवर्ण अवसर भएको देश हो।  समग्रमा, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि क्यानडामा अध्ययन एक सुवर्ण अवसर भएतापनि, वर्तमानमा उनीहरूका सामु चुनौतीहरू पनि उत्तिकै छन्। भाषा अवरोध, संस्कृतिको भिन्नता, आर्थिक बोझ, आवास र स्वास्थ्य सेवामा सहज पहुँचको कमी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडा आउँदा सामना गर्नु पर्ने केही महत्वपूर्ण चुनौतीहरू हुन् । 

आधिकारिक रुपले पुष्टि नगरे पनि पछिल्लो केही समयदेखि क्यानडाको अर्थतन्त्रमा मन्दी देखिएको छ। कुल ग्राहस्थ्य उत्पादन घट्दो अवस्थामा छ। मुद्रास्फीतिको दर पनि करिब ८ प्रतिशतमा पुगेको छ। श्रम बजारमा रोजगारीहरू उल्लेख्यरुपमा कटौती भइरहेको छ। बैंकको ब्याजदर क्यानडाको इतिहासमै उच्च दरमा पुगेको छ। ब्याजदर उच्च हुँदा घर जग्गाको किस्तामा अत्यधिक बृद्धि भएको छ।  यसले क्यानडामा बसोवास गरिरहेको नागरिकहरूको जीवनमा प्रतिकुल असर गरिरहेको छ। मानिसहरूको खर्च गर्ने क्षमतामा ह्रास आउँदा व्यापारमा गिरावट भई रोजगारीको अवसरहरूमा संकुचन आएको छ। 

हाल क्यानडाको सबै भन्दा बढी जनसंख्या भएको ओन्टारियो प्रदेशमा मन्दीको प्रभाव बढी देखिएको छ । तुलनात्मरुपमा अन्य कम जनसङ्ख्या भएका प्रदेशहरूमा मन्दीको प्रभाव अलि कम छ। मन्दीले रोजगारीको अवसरहरू कटौती हुँदा यसको प्रभाव क्यानडामा अवस्थित अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा पनि परेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनका लागि आउने प्रदेशहरूमा प्राय ओन्टारियो, क्यूबेक, ब्रिटिस कोलम्बिया, अलबर्टा र मानिटोवाहरू पर्दछन्। क्यानडाको सबैभन्दा बढी जनसंख्या (करिब ४० प्रतिशत) भएको ओन्टारियो प्रदेशमा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू (तथ्याङ्कका अनुसार) अध्ययनका लागि आउने हुँदा यहाँका अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा मन्दीको प्रभाव अलि बढीे देखिएको छ। 

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भोग्नु पर्ने समस्याहरू पहिले देखि नै थुप्रै थिए त्यसमा पनि अहिले आएर उनीहरूले काम नपाउने समस्या प्रमुख बनेको छ। क्यानेडियन सरकारले विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्ने अनुमति दिएको छ। यसले उनीहरूलाई ग्रोसरी, कोठाभाडा तथा यातायातको शुल्क तिर्नका लागि मद्दत पुग्ने गर्दछ । तर कामको अवसर नपाउँदा हाल विद्यार्थीहरूलाई यी न्यूनतम आधारभूत खर्चहरू व्यवस्थापन गर्न अत्यन्तै धौधौ परेको अवस्था छ। नेपालबाट सधै पैसा मगाएर यी खर्चहरू धान्न विद्यार्थीहरूलाई गाह्रो छ किनकी अपवादबाहेक प्राय सबै अभिभावकहरूले ऋणधन गरेर नै आफ्ना सन्ततिहरूलाई वैदेशिक अध्ययनमा पठाएको स्थिति छ। 

पछिल्लो समय काम नपाएर बस्दा विद्यार्थीहरूले ग्रोसरी, कोठाभाडा लगायतका न्यूनतम् खर्चहरू तिर्न नसक्दा उनीहरूको दैनिक जीवनयापनमा समस्या त आएकै छ, सँगसँगै आगामी दिनहरूमा अध्ययनलाई कसरी निरन्तरता दिने भन्ने ठूलो चुनौती खडा भएको छ । फलस्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाल क्यानडामा मानसिक स्वास्थ्य समस्या सामना गरिरहेका छन । सबैभन्दा बढ्दो चिन्ता कमजोर मानसिक स्वास्थ्यको कारणले उनीहरूको शैक्षिक सफलतामा पनि नकारात्मक असर गरिरहेको छ। 

हाल मानसिक स्वास्थ्यको कारणले क्यानडामा कतिपय अन्तर्राष्टिय विद्यार्थीहरूले आत्महत्या गरेका घटनाहरू बाहिर आएका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्याहरूबाट नेपाली विद्यार्थीहरू पनि क्यानडामा अछुतो छैनन्।  क्यानडामा अहिले भइरहेको विद्यार्थीहरूको यस्तो अवस्थालाई उनीहरूका अभिभावकहरूले नजिकबाट बुझ्नु जरुरी छ। अभिभावकहरूले आफ्ना छोरा छोरीलाई अध्ययनका लागि क्यानडामा पठाइसके पछि उनीहरू कुन कुन समस्याहरूसँग जुधिरहेका छन भन्ने बारेमा पर्याप्त जानकारी लिन जरुरी छ ।

साथै अहिलेको अफ्ट्रो अवस्थामा आफ्ना छोरा छोरीहरूलाई कसरी मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्ने भन्नेमा निरन्तर चासो राख्ने आवश्यक छ ।  उनीहरूको मनोबल उच्च राख्ने वातावरण बनाउन जरुरी हुन्छ । आफ्ना छोरा छोरीहरूलाई क्यानडा पठाइसकेपछि मेरो दायित्व कम भयो उनीहरूले आफै गरिहाल्छन् भनेर सोच्नु हुँदैन। 

अहिले श्रम बजारमा पर्याप्त कामहरूको अभाव भएको हुँदा सबै विद्यार्थीहरूले काम पाउन सक्ने अवस्था न्यून छ । त्यसैले अभिभावकले कम्तीमा पनि उनीहरूलाई ६ महिना सम्म ढुक्कसँग खान बस्ने व्यवस्था मिलाई उनीहरूको अध्ययनलाई अगाडि बढाउन सक्ने वातावरण बनाइदिनु पर्छ ।  अहिले क्यानडामा मुद्रास्फीति र बैँक ब्याजदर उच्चदरमा भएको हुँदा घर भाडा, खाद्यवस्तुलागायत अन्य आधारभूत सामग्री अत्यधिक महंगो भएको छ।  बैँक ब्याजदर अत्यधिक बढेकाले घर धनीलाई पनि घरको बैँक किस्ता तिर्न अफ्ट्यारो परेको हुँदा घर भाडा पनि अत्यधिक बृद्धि  भएको छ। 

प्राय नेपाली विद्यार्थीहरूले नेपालीकै घरमा भाडामा बस्न मन पराउने हुन्छन् । उनीहरूलाई घरधनीले केही हदसम्म सहुलियत दरमा कोठामा भाडामा दिएर सहयोग गर्दा ठूलो राहत हुने थियो । अहिले क्यानडामा घरधनीहरूले विद्यार्थीहरूसँग चर्को भाडा रकम असुलिरहेको भन्ने गुनासो आइरहेको छ। यस सम्बन्धमा कम्तिमा नेपाली घरधनीले बिचार गरी सहयोगी भावना देखाउँदा क्यानडामा नेपाली समाजको विकासमा ठूलो योगदान पुग्ने थियो । 

क्यानडामा रहेको नेपाली उद्यमी तथा व्यवसायीहरूले नेपाली विद्यार्थीहरूलाई रोजगारीमा प्राथमिकता दिने बातारवरण बनाउदा यसले विद्यार्थीहरूमा सकारात्मक सन्देश प्रवाह हुन्छ। क्यानडामा रहेका एनआरएनएलगायत नेपाली संघ संस्थाहरूले आफ्नो संस्थामा हेल्प डेस्क तथा सूचना केन्द्रको स्थापना गरी नेपाली विद्यार्थीहरूलाई परेका यावत समस्याहरूमा सहयोग गर्ने वातावरण बनाउन जरुरी छ।

सकेसम्म यस्ता हेल्पडेस्क तथा सुचना केन्द्रको मार्फत विद्यार्थीहरूलाई रोजगारी प्रदान गर्ने ऐजेन्सीहरू सँग समन्वय गरिदिने, त्यसको सूचना प्रवाह गरिदिने, रोजगारमा संग्लन नेपालीहरूले विद्यार्थीहरूलाई आफूले काम गर्ने कार्यस्थलमा सिफारिस गरिदिने गर्दा यसले नवआगन्तुक विद्यार्थीहरूलाई काम पाउन केही हदसम्म सहयोग पुग्ने थियो ।

स्वयम् विद्यार्थीहरूले पनि क्यानडामा अत्यधिक माग भएका कामहरू जस्तो पेण्टिंग, हेयर कटिंग, व्युटी पार्लर, नेलआर्ट, वेटर, पिज्जा बनाउने, फ्लोरिंग, पार्र्केटिंग, रुफिंग, कार्पेन्टर, प्लास्टरिंग,कुक हेल्पर, सामान्य इलेक्टिसियन र प्लम्बिंगको काम,टायर पंचटको काम, कारमा कालो सिसा वा स्टीकर लगाउने,डाटा इन्ट्री,सफ्टवेयर डेभलेप्मेन्ट, वेल्डिंग, हेल्थ केयर टेकर, प्याकेजिंग, लेबलिंग,फुड डेलिभरी, सेक्यरिटी गार्ड जस्ताकोकामको अनुभव लिएर आउँदा यहाँ काम पाउन सजिलो हुन्छ। कतिपय प्राविधिक कामहरू सिकेर सिप विकास केन्द्रबाट त्यसलाई प्रमाणित गरेर प्रमाण पत्र ल्याउँदा अझ राम्रो हुन सक्दछ। नेपाली विद्यार्थीहरूले अग्रेजीभाषामा दख्खलता हासिल गर्दै इंटरपर्सनल तथा कम्युनिकेसन सीप बढाउँदा उनीहरूको आत्मविश्वास उच्च भइ क्यानेडियन श्रम बजारमा काम पाउन निकै फलदायी हुन्छ। 

हालको समयमा क्यानडामा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूले क्यानडा सोचे जति सजिलो छैन तर विद्यार्थीहरूका लागि यो देश अवसरै अवसरले भरिएको छ भनेर सकारात्मक सोच लिएर आउँदा अहिलेको बिषम परिस्थितिमा विद्यार्थीहरूलाई काम र अवसरको खोजीमा मेहनत र संघर्ष गर्न थप टेवा पुग्नेछ। यसका लागि विद्यार्थीहरू क्यानडामा स्थापित भएका आफूभन्दा अग्रजहरूसँग बढी भन्दा बढी सम्पर्कमा रहनुपर्दछ। विद्यार्थीहरू पनि हरेश नखाई लगातार हरेक माध्यमबाट कामको खोजीमा निरन्तर लाग्नुपर्छ जसले उनीहरूलाई अवश्य पनि काम प्राप्त अवसर सृजना गर्नेछ ।

अहिले सेप्टेम्बर इनटेकमा करिब ५००० नेपाली विद्यार्थीहरू क्यानडा अध्ययनका लागि आउन लागेको जानकारी प्राप्त भएको छ। नवआगन्तुक नेपाली विद्यार्थीहरूलाई क्यानडामा स्थापित संघ संस्था तथा, व्यक्तिहरूले आ-आफनो तवरबाट कुनै न कुनै रुपमा सहयोग गर्ने वातावरण बनाउन जरुरी छ। नवआगन्तुक विद्यार्थीहरूको व्यवस्थापनमा सानो मात्र पनि योगदान पुराउन सक्दा क्यानेडियन नेपाली समाजको विकास र आगामी दिनहरूमा नेपालको सामाजिक तथा आर्थिक सम्बृद्धिमा पनि टेवा पुराउन सकिन्छ।

र, यो पनि

विद्युत व्यापार र अन्तराष्ट्रिय विद्युत्‌ बजारमा नेपालको पहुँच

कुलमान घिसिङ | साउन २६, २०८०

- विगत दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले जम्मा १७७४ मे.वा.को विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यस ...

रुवाण्डा र कोलम्बियाबाट नेपालले सिक्नुपर्ने

विज्ञहरूले असक्षम नेतृत्वका कारण मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुन...

यसरी बनेको थियो पहिलो सीमापार प्रसारण लाइन- ढल्केबर-मुजफ्फरपुर ४०० केभी

ई. रामेश्वर यादव | साउन २४, २०८०

नेपाल विद्युत् प्राधिकरण कठिन परिस्थितिमा गुज्रिरहेको बेला तीनपटक प्रमुख पदमा बसी काम गर्ने सुअवसर प्राप्त...

विभेदको पुलिन्दा : विद्यालय शिक्षा ऐन, २०७९ प्रारम्भिक मस्यौदा

विधेयकका सकारात्मक पक्ष २०२८ सालमा जारी राष्ट्रिय शिक्षा ऐन, २०२८ ले विद्यालय शिक्षालाई मात्र सम्बोधन ग...

भारतले बनाएको पञ्चेश्वर डीपीआरमा पुनरावलोकनको खाँचो

नेपालका प्रधानमन्त्रीबाट हालसालै गरिएको भारत भ्रमणका क्रममा पहिले-पहिलेका प्रधानमंत्रीहरूको भारत भ्रमण को...