शिक्षामा व्यापारीको दादागिरी र निरीह राज्य

भिमसेन भट्ट | भदौ ५, २०८०

‘तिमी एक वर्षका लागि सोच्छौ भने धान रोप, दस वर्षका लागि सोच्छौ भने रुख रोप र सय वर्षका लागि सोच्छौ भने शिक्षामा लगानी गर ।’ यो चाइनिज भनाइले कुनै पनि देशको शिक्षा नीतिले त्यस देशको रणनीतिक योजनाहरू प्रभावित गर्दछ भन्ने स्पष्ट पार्दछ ।

नेपालको संविधान, २०७२ घोषणा भएपश्चात दुई वर्ष भित्र ऐनहरू बनिसक्नुपर्ने थियो तर त्यसो हुन सकेन । फलस्वरूप शिक्षा क्षेत्रमा प्रत्यक्ष त्यसको असर पर्न गयो । नेपालको शिक्षा नीति अहिलेसम्म शिक्षा ऐन, २०२८ द्वारा निर्दिष्ट छ । यसै सन्दर्भमा झन्डै ५२ वर्ष पछि सरकारले विद्यालय शिक्षा ऐन, २०८० को ड्राफ्ट मन्त्रिपरिषदबाट स्वीकृत गरी संसदमा दर्ता गर्दै गर्दा विभिन्न आयामहरूबाट बहस तथा छलफलहरू चलिरहेका छन् र यो स्वाभाविक पनि छ । यद्यपि बहस सकारात्मक कोणबाट मात्र नभएर स्वार्थ समूहहरूको आआफ्नो स्वार्थ अनुसार चलेका छन् र स्वार्थ बाझिएका छन् ।

नेपालको संविधान, २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । साथै ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी लेखिएको छ । यसले के स्पष्ट पार्दछ भने विद्यालय तह, ९ देखि १२ कक्षासम्म सबै नागरिकलाई राज्यले निःशुल्क शिक्षा प्रदान गर्नुपर्छ ।

हाल नेपालमा ३५ हजार ६ सय ७४ विद्यालय रहेको छन्, जसमध्ये ६ हजार ७ सय ३२ संस्थागत विद्यालय छन् । यसमा केही सामुदायिक र बाँकी सबै संस्थागत विद्यालयहरूले विद्यार्थीहरूबाट शुल्क उठाउँछन् । अझै गम्भीर कुरा त संविधानको मर्म विपरीत सामुदायिक विद्यालयहरूले नै विभिन्न शीर्षकमा शुल्क उठाउने विषय छ यो गैरसंवैधानिक कार्य रोकिने कुरा ऐनले सुनिश्चित गर्नुपर्दछ ।

वर्तमान अवस्थामा शिक्षा र स्वास्थ्यमा निजीकरण उल्लेख्य मात्रामा रहेको छ । लगभग राज्यको नियन्त्रण भन्दाबाहिर छ जस्तो परिदृश्य देखिन्छ । संस्थागत विद्यालयमा लगानी गर्ने व्यापारीहरूको आआफ्नै दाबी छ । हो, निजी विद्यालयमा लगभग दुई लाखमाथि शिक्षक कर्मचारी कार्यरत छन्, दशौं लाख विद्यार्थीलाई व्यवस्थापन गर्ने भौतिक संरचना छन् ।

यसको स्वामित्व तत्काल राज्यले लिने कुरा कति सहज छ ? छलफल गर्न सकिन्छ । तर, संविधानमा मौलिक हकको रूपमा उल्लेख गरिएको र समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरिएको संविधान भएको देशमा राज्य निरीह बनेर शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा चरम व्यापारीकरण हुनु र गराउनु राज्यको गैर जिम्मेवारीको पराकाष्ठा हो ।

अभिभावकले आफू गरिब भएका कारणले आफ्ना सन्तान अर्कै पैसावाललाई लालनपालन गर्न सुम्पिन मिल्छ र ? अब यति भनिसकेपछि शिक्षा व्यापारीहरूको त कन्सिरीको रौं लगभग ठाडो भइहाल्छ र भन्लान्–हामीले रोजगारी दिएका छौं, कर तिरेको छौं, अनि केके केके ।

‘एक वर्षका लागि सोच्छौँ भने धान रोप, दस वर्षका लागि सोच्छौ भने रुख रोप र सय वर्षका लागि सोच्छौ भने शिक्षामा लगानी गर ।’

तर, मैले बहुसंख्यक निजी विद्यालयका शिक्षकहरू प्रताडित भएको महसुस गरेको छु । अहिले पनि अधिकांश निजी विद्यालयले रोजगारीका नाममा राज्यको कमजोरीको फाइदा उठाउँदै श्रम शोषण गरेका छन्, र कोही कसैले प्रश्न गरिहाले पनि यो त निजी हो कहाँ सबै सरकारी जस्तो हुन्छ र भन्ने गरेका छन् । के निजी विद्यालय ऐन नियमभन्दा नी माथि हुन् र ?

त्यस्तै राज्यले शुल्क निर्धारणको एउटा मापदण्ड बनाएकै छ तर राज्यको निरीहताको फाइदा उठाउँदै अभिभावकहरूको ढाड सेकिने गरी पचासौं हजार शुल्क खुलेआम उठाएका छन् । खुरुखुरु यति धेरै शुल्क तिर्ने अभिभावकको पनि सम्पत्ति छानबिन हुनुपर्छ । यसलाई कालोबजारी भन्ने कि नभन्ने ? यहाँ जबर्जस्त छोराछोरी सामुदायिकमा पढ्छन् कि प्राइभेटमा पनि शुल्क कति भन्ने कुराले उसको सामाजिक मर्यादाको स्तर नापिने भाष्य स्थापित गराइँदैछ । यसले समाजलाई कता डोर्याउँदैछ भन्ने कुराको डरलाग्दो संकेत गर्दछ ।

यसै परिप्रेक्षमा आउन लागेको विद्यालय शिक्षा ऐन, २०८० मा भएका केही प्रावधानहरूले संस्थागत विद्यालयका व्यापारीहरूलाई असुरक्षित महसुस गरायो र सधैं बन्दको विरोध गर्नेहरू आफै गैर जिम्मेवार बन्दै लाखौं विद्यार्थीहरूको पठनपाठनमा असर गर्ने गरी बन्दको घोषणा गर्ने तहसम्म सलबलाए ।

यसै बीच देशको कार्यकारी प्रमुखको अभिव्यक्तिले राज्य कसको नियन्त्रणमा छ भन्ने देखाउँछ, विधेयकमा भएका प्रावधान आफ्नो जानकारीमा नै नभए जस्तो गरी कसले तोडमोड गरेछ भन्दै त्यसलाई सच्चाउने प्रतिबद्धता जाहेर गरे पछि यसले गम्भीर प्रश्न खडा गरेको छ । पहिला मन्त्रिपरिषदबाट पास भएर संसदमा पेश भइनसकेको ड्राफ्ट सांसदहरूले नपाउँदै निजी विद्यालयका सञ्चालकहरूको हातहातमा कसरी पुग्यो ? र दोस्रो प्रधानमन्त्रीय पद्धतिमा नेतृत्वमा मन्त्रिपरिषद्को बैठकले पास गरेको कुरा केही दिनमै प्रधानमन्त्रीबाट नै फरक अभिव्यक्ति आउनुले गम्भीर प्रश्न खडा गरेको छ । यसको जवाफ प्रधानमन्त्रीले दिन पर्ने कि नपर्ने ?

हो, अन्तर्राष्ट्रिय अभ्यासलाई नियाल्दा विभिन्न देशमा शिक्षा निजी क्षेत्रबाट पनि सञ्चालित छन्, तर प्रायः विकसित मुलुकमाु सरकारी विद्यालयहरूको गुणस्तर र मूल्य एकदमै राम्रो छ, र समय तथा अन्य प्राविधिक कारणले मात्र प्राइभेटमा पढाइन्छ जहाँ जस्तो निजी त्यो पनि महङ्गो शुल्क भएकोमा पढाउन नसक्दा सामाजिक रूपमा नै बहिस्कृत भइने डर हुन्न । त्यसैले निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई पनि सञ्चालन गर्ने हो भने राज्य नियन्त्रित गैर नाफामूलक हुनुपर्छ । 

कुनै पनि ऐन विज्ञहरूको सहभागितामा व्यापक छलफल र अभ्यासबाट ल्याइनुपर्छ र कुनै स्वार्थ समूहको इच्छा, चाहना र आकाङ्क्षा नमिल्दैमा अलिअलि विरोधको स्वर सुन्दैमा परिवर्तन रोक्नु हुन्न । ऐनलाई अझै व्यापक रूपमा मजबुत गराउनुपर्नेछ ।

जस्तै उच्च नैतिक आचरण भएको सामाजिक रूपान्तरण, आर्थिक विकास र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादन गर्ने, विद्यार्थीले पढेका सिकेका विषय घर र समुदायमा प्रयोग गराउने साथै सामाजिक उत्तरदायित्वको बोध गराउँदै त्यसको मूल्यांकन प्रणाली पाठ्यक्रममा नै समेट्ने, शिक्षकहरूको उच्च आत्मबलका लागि केही विशेष व्यवस्था गर्ने, शिक्षक हुनका लागि न्यूनतम मापदण्डलाई अझै मजबुत बनाउने र निर्धारण गर्ने तथा शिक्षकहरूको विद्यालय शिक्षा ऐनले आजको आवश्यकताको हल दिन सक्छ । 

(भट्ट संस्थागत विद्यालयमा कार्यरत शिक्षक हुन् ।) 

काकाकुल काठमाडौंलाई यसरी आत्मनिर्भर गराउन सकिन्छ

काठमाडौं उपत्यकाका टडकारो रुपमा देखिने जलभण्डारहरु उपत्यकाको बीच भाग वा भ्याली फ्लोर मा देखिन्छन भने उप...

बूढीगण्डकी आयोजनाले देशलाई खाद्यान्नमा आत्मनिर्भर गराउन सक्छ

बूढीगण्डकी आयोजना नेपालमा परिचय नचाहिने आयोजनाहरूमध्ये पर्दछ भन्दा केही गल्ती नहोला । यस परिचय नचाहिने...

नेपाली विद्यार्थीका लागि क्यानडा अध्ययन अवसर, तर निरन्तरतामा चुनौती

सुमन पौडेल | साउन ३१, २०८०

पछिल्लो समय नेपाली विद्यार्थीहरूको अध्ययनको  प्रमुख गन्तव्य क्यानडा भएको छ । उच्च शिक्षा अध्ययन गर्नका ल...

विद्युत व्यापार र अन्तराष्ट्रिय विद्युत्‌ बजारमा नेपालको पहुँच

कुलमान घिसिङ | साउन २६, २०८०

- विगत दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले जम्मा १७७४ मे.वा.को विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यस ...

रुवाण्डा र कोलम्बियाबाट नेपालले सिक्नुपर्ने

विज्ञहरूले असक्षम नेतृत्वका कारण मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुन...