नेपालमा जो कोही डाक्टर बन्न सक्छन् ?

निमिका श्रेष्ठ | जेठ २२, २०८०

डाक्टर समाजको एउटा प्रतिष्ठित पेसा अनि डाक्टरी शिक्षा देशकै महङ्गो शिक्षा जसका लागि कि पढाइमा अब्बल हुनुपर्छ कि उच्च वर्गीय परिवारमा जन्मिनुपर्छ । केही हदसम्म सही पनि हो किनभने एउटा सामान्य विद्यार्थीको लागि डाक्टर बन्न पार गर्नुपर्ने पाठ्यक्रमका चाङहरु फलामको चिउरा चपाउनभन्दा कम सजिलो छैन अनि समयमा शैक्षिक शुल्क बुझाउन नसक्दा मेडिकल कलेजहरुले विद्यार्थीमाथि  गर्ने व्यवहारको बारेमा त धेरैलाई थाहा नै होला । तर यो शत प्रतिशत सही भने होइन।

साँच्चै डाक्टर बनिछाड्ने सपना देखेको हो भने, सपना पूरा गरिछाड्ने संकल्प अनि जस्तोसुकै परिस्थितिमा पनि मेहनत गरिरहन सक्ने हिम्मत भए जो कोही डाक्टर बन्न सक्छन् ।                                     

हो सजिलो चाहिँ पक्का छैन किनकि हामी एउटा यस्तो देशको नागरिक  हौँ जहाँ शिक्षाजस्तो नैसर्गिक अधिकार प्राप्त गर्ने कुरामा पनि वर्गीय विभेदको यति ठूलो खाडल देख्न सक्छौँ कि जुन आगामी शताब्दिमा पनि पुरिन्छ कि पुरिन्न भन्ने कुरामा शंका गर्ने यथेष्ठ ठाउँहरू छन् । यतिसम्म कि कोही एक व्यक्तिको सामाजिक अवस्था बुझ्नको लागि उसको छोराछोरी कस्तो विद्यालयमा पढिरहेका छन्  भन्ने कुरा थाहा भए मात्र पनि पुग्छ ।

विद्यालयस्तरमा दुई किसिमको पाठ्यपुस्तक पढाइ हुन्छन्,एक सरकारी अनि अर्को निजी । जबकि विद्यालयस्तरका केही एकाध परीक्षाबाहेक अरु भविष्य निर्धारण गर्ने हरेक प्रतिस्पर्धामा हामी एकसाथ उभिन्छौँ अनि एउटै तरिकाले मूल्याङ्कन गरिन्छौँ । त्यतिखेर यो भान हुन्छ कि सरकारी विध्यालयका पाठ्यक्रमले हामीलाई साक्षर बनाउने लक्ष्य मात्र राखेको हुँदो हो  न की गणात्मक प्रतिस्पर्धी ।

यसो भनिरहँदा आरक्षणका कुरा आउलान् । हो, राज्यले आफ्नो अरबौँ लगानीमा तयार पारेका  सरकारी पाठ्यक्रम र शिक्षा व्यवस्थालाई कमजोर सावित गराउन केही आरक्षणहरु दिएको छ तर त्यो आरक्षण वास्तविक हकदारले  पाउँछन् कि पाउँदैनन् भन्ने कुराको अनुगमन गरिएको पाइँदैन । खोज्ने हो भने धेरै आरक्षित सिटहरुमार्फत नक्कली हकदारहरूले फाइदा लिएको देखिन्छ । जसले पाउनुपर्ने हो उसलाई न राज्यबाट प्रदान गरिने आरक्षणसहितका अन्य अवसरहरूको बारेमा थाहा हुन्छ न त्यस्ता अवसरहरूमा पहुँच पुर्याउन कसैले मार्गनिर्देश नै गर्दछ । विद्यालय शिक्षाको १० वर्षे लामो यात्रामा न कुनै शिक्षकहरूद्वारा तिमी के बन्न चाहन्छौ ? के सपना छ तिम्रो ? भनेर सोधिन्छ न राज्यले व्यवस्था गरेका आरक्षणलगायत अन्य अवसर/सुविधाहरूका कुराबारे जानकारी गराइन्छ । सही समयमा सही सूचना र जानकारीको अभावमा धेरै विद्यार्थीहरू विभिन्न अवसरहरूबाट वन्चित हुनुपरेको छ । सुनौलो भविष्यको मीठो सपना बोकेर अन्योलग्रस्त हुँदै भौतारिरहनु परेको तीतो अनुभव मसँग पनि छ अनि मजस्ता धेरैले भोगेका होलान् । यस्ता राजनीतिक तथा सामाजिक विषयहरुले गर्दा सपना देख्ने आँखाहरु हरेक दिन निराशामा बदलिन्छन र यो स्वभाविक पनि हो ।

देशको ग्रामीण भेगको विद्यालयमा पढेर डाक्टरी पढ्न सकिन्छ भन्ने सपना देख्नु सायद त्यति स्वभाविक सुनिन्न । विद्यालय पढ्दासम्म पनि मैले त्यो सपना देख्न सकेकी थिइनँ किनकि त्यहाँको वातावरण नै त्यस्तै थियो । एसएलसी सकाएर सुनौलो भविष्यको खोजीमा काठमाडौँ आएसँगै एउटा नयाँ संसारमा पुगेको अनुभूति भयो । त्यसपछि विस्तारै विस्तारै देशको शिक्षा व्यवस्था र त्यसभित्रका विभिन्न संरचना र अवसरहरूको बारेमा जान्ने र बुझ्ने अवसर प्राप्त गरेँ ।  त्यसैले नै मलाई विस्तारै विस्तारै चिकित्सा शिक्षा अध्ययन गर्ने मार्गमा डोर्याउँदै लग्यो र विभिन्न अप्ठ्यारा र चुनौतीहरूका बावजुद पनि म आज दन्त चिकित्सा शिक्षा अध्ययन गरिरहेकी छु ।

पछिल्लो समयमा शिक्षा क्षेत्रमा केही राम्रा व्यवस्था र सुधारहरु आएका छन् । राज्यले पछाडि परेका समुदायलाई लक्षित गरेर विभिन्न शीर्षक जस्तै चिकित्सा शिक्षालगायत अन्य उच्च शिक्षा अध्ययनका लागि केही छात्रवृतिको व्यवस्था गरेका छन्  जसको जानकारी देशको जुनसुकै कुनामा बसेर पनि पाउन सकिन्छ । यस्ता सूचनाहरु आधिकारिक निकायको वेबसाइटहरुमा पढ्न तथा बुझ्न सकिन्छ । यि अवसरहरुको बारेमा समयमै थाहा पाउन सके सपना देख्ने कलिला आँखाहरुले निराश हुनुपर्ने थिएन अनि "सबैका लागि शिक्षा" भन्ने नारा पनि सार्थक हुने थियो । राज्यले व्यवस्था गरेका अवसरहरुको बारेमा सही समयमा सही हकदारले नपाउनुमा सरोकारवाला निकाय, शिक्षक , अभिभावक र विद्यार्थी सबैको बरावर भुमिका छ । 

अन्त्यमा, सरकारी विद्यालयको शिक्षक शिक्षिकाहरुमा यो अनुरोध गर्न चाहन्छु कि तपाईंको विद्यार्थीलाई एकपटक तिमी भविष्यमा के बन्न चाहन्छौ, के सपना छ तिम्रो भनेर सोधिदिनुस् । आफूले पढाउने विद्यार्थीलाई सपना देख्न सिकाउनुस् । आफ्नो विद्यार्थीले बन्न चाहेको , गर्न चाहेको क्षेत्रमा राज्यबाट कस्तो व्यवस्था गरिएको छ, राज्यले व्यवस्था  गरेको सुबिधा लिनका लागि र त्यहासम्म  पहुँच पुर्याउनका लागि के कस्ता कुरामा ध्यान दिनुपर्छ र कुन कुन चरणहरु पार गर्नुपर्छ बुझिदिनुस्  अनि आफ्नो विद्यार्थीहरूलाई जानकारी दिनुस् । यसले तपाईं ले घोकाउनु भएको गणितका सूत्र र विज्ञानका परिभाषाले भन्दा बढी अर्थ राख्छ उसको भविष्यमा । सरकारले शिक्षक बन्नका लागि बनाएका बेन्चमार्क पार गरेर बनेका शिक्षक निजी विद्यालयको भन्दा कमजोर हुनसक्दैन र हुनु हुँदैन पनि ।

महाकालीको डीपीआर होइन, अब नयाँ सन्धि गर्नुपर्छ

महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनामा सक...

भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

एकराज पाठक | जेठ १७, २०८०

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसक...

प्रधानमन्त्रीलाई जनताको सवाल :  लोकतन्त्र लुटतन्त्रमा परिणत भएकै हो ?

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड ज्यू, नेपालको कार्यकारी प्रमुख पदमा तेश्रो पटक पुग्नु भएकोमा ढि...

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्...