अप्पनहाइमर- परमाणु सिद्धान्तका पिता वा विनाशका ?

शिशिर उप्रेती | साउन १४, २०८०

साउन ७ गते शुक्रबारदेखि विश्वभरका सिनेमा हलहरूमा बहुप्रतीक्षित क्रिस्टोफर नोलन द्वारा लिखित र निर्देशित सिनेमा ' अप्पनहाइमर' प्रदर्शन भइरहेको छ । सम्भवतः कोरोना महामारीपछिको सबै भन्दा बढी मन पराइएको बायोपिक यही बन्न सफल भएको छ । निर्देशक नोलनले फिल्मलाई  दोस्रो विश्वयुद्धकालीन अस्तित्वको सङ्कट, त्यस समय निर्मित आणविक बमको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक अप्पनहाइमरको दृष्टिकोणबाट प्रस्तुत गरेका छन् ।

'पिकी ब्लाइन्डर'का अभिनेता केलियन मर्फीले 'अप्पनहाइमर'को सशक्त चरित्र निर्वाह गरेका छन् भने सिनेमामा एमिली ब्लन्ट, म्याट डेमेन, फ्लरेन्स पियुले सिनेमामा सानदार अभिनय देख्‍न पाइन्छ । सिनेमा किया बर्ड र मार्टिन.जे. सेरविनको पुलिटजर पुरस्कार विजेता जीवनी 'अमेरिकन प्रमिथियस- द ट्रायम्फ एन्ड ट्रयाजेडि अफ जे. रोवर्ट अप्पनहाइमर' मा आधारित छ ।  

को थिए अप्पनहाइमर ?

अप्पनहाइमरलाई परमाणु बमका पिता भनेर चिनिन्छ । उनी जर्मनीबाट कपडा आयात गर्ने व्यापारीको सन्तानको रूपमा २२ अप्रिल १९०४ मा न्युयोर्कमा जन्मिएका थिए । विज्ञानमा रुचि राख्‍ने उनलाई अन्तर्राष्ट्रिय भौतिक विज्ञानको जगतमा परिचित हुन धेरै समय लागेन । तत्कालीन जर्मनीमा नाजीको शासन थियो जुन अमेरिकाको लागि  चुनौती र खतरा दुवै थियो । आफू सुरक्षित र शक्तिशाली बन्न अमेरिकाले क्वान्टम फिजिक्स अध्ययन गरेका अप्पनहाइमरलाई आणविक बम निर्माण गर्ने वैज्ञानिकको रूपमा नियुक्त गरेको थियो । संसारको प्रथम आणविक बम बनाउने कि नबनाउने ? यसको प्रयोग कसरी होला ? र यसले कस्तो सम्भावित विनाश गर्ला ? बन्ने दुविधाका कारण अप्पनहाइमरको जीवन विवादमा फस्यो ।

१६ जुलाई १९४५ मा न्यु म्याक्सीकोको मरुभूमिमा आणविक बम परीक्षण भएको २० वर्ष पछि अप्पनहाइमरले एक पत्रकार सम्मेलनमा भनेका थिए, 'हामीलाई थाहा छ अब यो विश्व पहिलाको जस्तो रहने छैन' त्यति बेला केही मानिस हाँसेका थिए । केही रोएका थिए तर धेरै जसो स्तब्ध थिए । उनले भागवत गीताका हरफहरू सम्झँदै भनेका थिए, 'अब म मृत्यु बनेँ, यो संसारलाई संहार गर्ने । '

अप्पनहाइमर दोस्रो विश्व युद्ध अन्त्य गराउन आणविक बम निर्माण गर्न आवश्यक छ भन्ने कुरामा सहमत थिए । तर उनलाई आणविक बम निर्माण पश्चात् हुन सक्ने विनाश र नरसंहारको परिणामलाई पनि आफैँले मलजल गरेको कुराले सताइरहेको थियो । आणविक बम निर्माण सँगसँगै अमेरिकाले निर्माण गर्न प्रयास गरिरहेको हाइड्रोजन बम बनाउने कुरामा उनको ठाडो असहमतिले प्रशासनलाई चिढ्याएको थियो । अप्पनहाइमरको नैतिक द्वन्द्वले सृजना गरेको दुविधा राजनैतिक रूपमा आलोचित बन्यो । अमेरिका जुनसुकै मूल्य चुकाएर पनि विश्व शक्ति बन्ने होडमा थियो ।  

१९४७ मा अप्पनहाइमर न्यु जर्सीमा रहेको प्रिन्सटन रिसर्च सेन्टरका प्रमुखको रूपमा काम गर्न थाले । उनले १९५२ सम्म आणविक ऊर्जा आयोगको सल्लाहकारका रूपका काम गरे । त्यही क्रममा १९४९ मा हाइड्रोजन बमको निर्माणमा बाधक बने । दोस्रो विश्व युद्धपछिको शीत युद्धकालमा रसियन कम्युनिस्टहरूसँग सम्बन्ध रहेको आरोप लगाइयो । उनले त्यही बेलामा अमेरिकी सरकार द्वारा लगाइएको अविश्वासको अधिग्रहणको सामना गर्नु पर्यो । १९५४ मा उनका सबै सेवा सुविधाहरू खोसिए जति बेला विश्व आणविक युद्धको त्रासमा रुमल्लिरहेको थियो । १९६६ मा मृत्यु हुनु अघिसम्म अप्पनहाइमर नैतिकता र वैज्ञानिक विकासको अन्तरद्वन्द्वमा छटपटाई रहे ।

गत वर्ष मात्र अमेरिकी ऊर्जा विभागले तत्कालीन संयुक्त राज्य अमेरिका आणविक ऊर्जा आयोग (एइसि) ले १९५४ मा वैज्ञानिक अप्पनहाइमर माथि गरिएको कारबाही गलत भएको घोषणा गर्यो । ऊर्जा सचिव जेनेफर ग्रेनहोल्मले समय बित्दै जाँदा धेरै रहस्यहरू माथि प्रकाश पर्दै गएको, उनी देशभक्त र अमेरिकाप्रति इमानदार भएको बताएकी थिइन् ।

 के थियो म्यानह्याटन प्रोजेक्ट ?

जर्मनीमा हिट्लरको उदयले अल्बर्ट आइन्स्टाइन, लियो जिलार्ड र इयुजिन विगनर जस्ता वैज्ञानिकलाई चिन्तित बनाएको थियो । नाजीहरूले पहिला आणविक हतियार निर्माण गरेमा हुन सक्ने मानवता माथिको खतराका बारेमा उनीहरूले अमेरिकी सरकारलाई सचेत गराएका थिए । त्यसको प्रतिक्रिया स्वरूप अमेरिकी सरकारले आणविक हतियारमा काम गर्न भौतिक शास्त्रीहरूको सानो समूह बनायो जसको प्रमुख थिए जे.रोबर्ट अप्पनहाइमर ।

'म्यानह्याटन प्रोजेक्ट' नाम दिइएको उक्त कार्यक्रम आणविक हतियार (बम) निर्माण गर्ने प्रयोगशाला थियो । यही कार्य योजनाअनुसार अप्पनहाइमर र अरू केही वैज्ञानिकहरूको समूहले अमेरिकाको न्यु म्याक्सीको राज्यको लस आलामोस भन्ने ठाउँमा जुलाई १९४५ मा पहिलो आणविक बमको परीक्षण गरेका थिए । त्यसको १ महिना पनि नपुग्दै अगस्ट ६ र ९ (१९४५) मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसाएको थियो । त्यस आक्रमणमा ११०,००० को ज्यान गएको थियो भने त्यही बमको प्रभावका कारण हजारौँ जापानीहरूले त्यही वर्ष ज्यान गुमाएका थिए । त्यसको २ महिना पछि अप्पनहाइमरले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

नोलन र अप्पनहाइमर 

अप्पनहाइमरको पृष्ठभूमिपछि नोलनले सिनेमामा प्रवाह गरेका केही विचारोत्तेजक घटना र विचारहरूको विवेचना गरौँ । निर्देशकले अप्पनहाइमरलाई १९४५ अगाडिको जिज्ञासु युवा वैज्ञानिकदेखि क्वान्टम मेकानिक्सका एक्लो र दु:खी ज्ञाताको रूपमा प्रस्तुत गरेका छन् । उनले अप्पनहाइमरलाई कम्युनिजमका समर्थक जो कहिल्यै कम्युनिस्ट पार्टीका सदस्य नबनेको कुरालाई सूक्ष्मताका साथ  प्रस्तुत गरेका छन् । नाजीहरूको फासिस्ट शासन व्यवस्थाले उनलाई आणविक बम निर्माण गर्न उत्प्रेरित गर्यो र अरू वैज्ञानिकको नेतृत्व गर्दै नाजीहरूभन्दा अगाडि नै बम तयार गरे । चलचित्रमा यसको चित्रण सापेक्ष लाग्छ । ५० को दशकमा भने अप्पनहाइमर दु:ख र दुविधामा फसेका छन् । दु:ख र दुविधामा कारण चाहिँ के थियो भने जतिबेला उनले बनाएको आणविक हतियारले लाखौँको ज्यान लियो त्यो प्रयोग गरिहाल्न पर्ने परिस्थिति थिएन । नाजीहरूले पहिले नै आत्म समर्पण गरी सकेका थिए र  उनीहरूसँग आणविक हतियार नभएको सङ्केत अमेरिकाले पाइसकेको थियो ।  जापानले युद्ध हारिसकेको थियो । यद्यपि अमेरिकाले जापानका दुई सहरमा निर्मम रूपमा आणविक बम प्रहार गर्यो । यो रसियालाई बसमा पार्न अमेरिकी हतियार शक्तिको निर्दयी प्रदर्शन थियो । अप्पनहाइमरलाई जीवनको पछिल्लो कालखण्डमा यही कुराले असामान्य मानसिक परिस्थितिमा पुर्याएको थियो ।

अर्को कोणबाट हेर्दा निर्देशकले अप्पनहाइमरमा विद्यार्थी हुँदा नै  को 'किलर इन्स्टिङ्ट'  थियो भन्ने कुरा प्याट्रिक ब्लयाकेटलाई स्याउमा साइनाइट इन्जेक्ट गरेकोदेखि आणविक बम बनाएकोसम्मका घटनाहरूबाट प्रस्ट पारेका छन् । उनले विनाशकारी बम निर्माण गरिसकेपछि पश्चात्तापबाट मुक्तिको बाटो खोजेको विश्लेषण पनि गर्न सकिन्छ । चाहे त्यो भागवत गीताका हरफ उच्चारण गरेर होस् वा बाइबलमा उल्लेखित 'फाइनल जजमेन्ट' अगाडि अपराध स्वीकार गरेर ।

सिनेमाको सुन्दरता केमा छ भने नोलनले गहिराइसम्म गएर आणविक बम निर्माणको रोमाञ्चक प्रक्रियालाई दृश्यमा उतारेका छन् । उनले युद्धका डकुमेन्ट्री जस्तो विस्फोटको विभत्सतालाई प्रस्तुत गरेका छैनन् जुन असाध्यै कलात्मक लाग्छ । सिनेमामा न मृत्यु भएका मानिसको चित्कार छ न आणविक विकिरणबाट प्रभावित मानिसहरूको हेर्नै नसकिने मृत्युको भयावहता न त सहरहरूनै खरानीको डङ्गुरमा परिणत भएका छन् । एक लाख दश हजार जापानी मरेको समाचारले नै परिस्थितिको गम्भीरतालाई प्रस्ट पारेको छ । यो नोलनको निर्देशकीय विशिष्टता हो ।

केलियन मर्फेको अभिनयले सिनेमाको समग्र सुन्दरतामा विशेष योगदान दिएको छ । बिस बर्से युवा विद्यार्थीदेखि पचास वर्षे केश फुलेको गम्भीर व्यक्तिसम्म दशकौँको समय अभिनय गर्दा दर्शकलाई कतै असहजता महसुस हुँदैन । मर्फेले अप्पनहाइमरको व्यक्तिगत र व्यावसायिक जीवनका कोशेढुङ्गाहरू सफलता पूर्वक पार गरेका छन् । उनले अप्पनहाइमरको बम बनाउँदाको परिश्रम, कम्युनिस्ट हुनुको आरोप, मित्रता, प्रेम, ईर्ष्या, घमन्ड पर्दामा वास्तविकता र अभिनयको रेखा नै मेटिने गरी उतारिदिएका छन् ।

सिनेमाको संरचनागत र प्राविधिक पक्ष

सिनेमा दुई वटा सुनुवाइ समितिको वरिपरि नाटकीय रूपमा परिक्रमा गरी रहन्छ । पहिलो १९५४ मा बनेको समिति जसलाई रङ्गिन पर्दामा प्रस्तुत गरिएको छ भने दोस्रो १९५९ मा गठन भएको अर्को समितिलाई श्याम श्वेत पर्दामा प्रस्तुत गरिएको छ । आणविक ऊर्जा आयोगका सदस्यहरूको पहिलो समितिले ४ हप्ताको गोप्य बैठक पश्चात् अप्पनहाइमरलाई दिइएको सुरक्षा र सुविधा खोस्ने निर्णय गरेको थियो तर उनले पदबाट राजीनामा दिन मानेनन् र उच्चस्तरीय सुरक्षा आयोगको समितिमा अपिल गरे । यसको सुनुवाइ पनि एकतर्फी भयो । अप्पनहाइमरका वकिललाई गोप्य दस्तावेजहरू माथिको पहुँच उपलब्ध गराइएन । महान्यायाधिवक्ताले ती सबै गोप्य भनिएका दस्तावेजहरूको अध्ययन गरेर अप्पनहाइमर निर्दोष भएको ठहर गर्दै उनीमाथि अन्याय भएको निष्कर्ष निकाले । यी सिनहरूमा दर्शकलाई अलमल नहोस् भनेर दुई सुनुवाइ समितिका बहसलाई हाइ कन्ट्रयास्ट ‘ब्याक एन्ड ह्वाइट’ र ‘कलर’ मा प्रस्तुत गरिएको हो ।

सिनेमाका केही सुन्दर दृश्यहरू छन् जसमा नोलनले दर्शकको ध्यान आकृष्ट गर्न चाहेका छन् । एउटा दृश्यमा विद्यार्थी अप्पनहाइमर टि.एस. ऐलियटको किताब "द वेस्ट ल्यान्ड" पढिरहेका देखिन्छ । अर्को दृश्यमा स्पेनिस चित्रकार पाब्लो पिकासोको क्युबिक चित्रकलाको अगाडि उभिएका देखिन्छन् । यी दुवै कलाकृतिका माध्यमाबाट नोलनले दर्शकहरूलाई विनाशको पूर्व आभास दिने प्रयास गरेका छन् । दुवै कवि र चित्रकारका कलाकृतिमा पहिलो विश्व युद्धका प्रभाव र बाछिटाहरू देख्न पाइन्छ ।

नोलन थोरै समकालीन निर्देशकहरू मध्ये एक हुन जो विषयवस्तु र प्रविधिको महत्त्वाकाङ्क्षा र विशालतामा काम गर्न मन पराउँछन् । यस अर्थमा उन्ले प्रस्तुत गर्ने विषयवस्तुको चयन र प्रस्तुतीकरण अनन्तता दर्शकले महसुस गर्न सक्छन् । नोलन आफ्नो काममा कुनै सम्झौता गर्दैनन् । यस पटक उनको रोजाइमा स्विडिस सिनेम्याटोग्राफर होइट भान होइटमा परे । यहाँ उनको क्षमताको तारिफ गरिरहन आवश्यक छैन तर नोलनले होइटमा लाई ६५ मिलिमिटरमा खिच्न लगाएर ७० मिलिमिटरमा प्रोजेक्सन गराएका छन् । यो संरचना नोलनले सिनेमामा स्मारकीय उचाइ दिन आफ्ना कामहरूमा प्रयोग गर्ने गरेका छन् । यस्तो प्रयोगले पर्दामा सृजना गर्ने भव्य प्रभावले कहिलेकाहिँ उनको कथा वाचनलाई ओझेलमा पार्ने गरेको छ । उनको यो प्रयोग २०१७ को सिनेमा 'डनकर्क' मा ३३०,००० फ्रेन्च, बेलायती, बेल्जियन र डेनिस सेनालाई जर्मनीको फन्दाबाट कसरी उद्धार गरियो भनेर विशाल क्यानभासमा प्रस्तुत गरेका छन् । अप्पनहाईमरमा त्यही प्रयोगले दर्शक र अभिनेता बीचको दूरीलाई मेटाइदिएको छ ।  सिनेमा हेर्दा कुनै कथाको संसारमा प्रवेश गरेको र आफै प्रतिविम्ब भएको एकै चोटि महसुस हुन्छ ।

फ्रेन्च न्यु वेभका प्रवर्तक मानिने, निर्देशक, लेखक तथा अभिनेता  फ्रँसुवा ट्रुफोले भनेका छन,' युद्ध सिनेमाले (चाहे त्यो निर्देशक युद्धलाई घृणा नै गर्ने व्यक्ति किन नहोस्) जानी वा नजानी युद्धको महिमा कलात्मक रूपमा प्रस्तुत गर्छ । ' सायद यही कारण हुन सक्छ नोलनले हिरोसिमा र नागासाकीको विनाश पर्दामा उतार्न नचाहेको । नोलनले मानव जाति कसरी आफैF विनाशको विरोधी र विनाशको कारक बन्न सक्छ भन्ने चरित्रको विरोधाभास प्रस्तुत गरेका छन् । सिनेमा अप्पनहाइमरले समग्रमा अमेरिकी विज्ञान र प्रविधिको विकास, उसको विश्व शक्तिमा उदय, र अमेरिकी राजनीतिको चरित्र छर्लङ्ग पारिदिएको छ । हुन त अमेरिकी मात्र हैन हामी पनि विनाशका प्रशंसक नै हौँ अर्थात् हामी विनाशलाई स्वीकार गरेरै बाँचिरहेका छौँ ।


 

भारतले बनाएको पञ्चेश्वर डीपीआरमा पुनरावलोकनको खाँचो

नेपालका प्रधानमन्त्रीबाट हालसालै गरिएको भारत भ्रमणका क्रममा पहिले-पहिलेका प्रधानमंत्रीहरूको भारत भ्रमण को...