विश्व

इरानमाथि सुरक्षा परिषदको हतियार खरिदबिक्री बन्देज हट्यो

एजेन्सी |
कात्तिक ३, २०७७ सोमबार १८:२६ बजे

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसघंको सुरक्षा परिषदले १३ बर्ष अघि इरान माथि लगाएको हतियार तथा अन्य सैन्य सामाग्री खरिद बिक्री माथिको बन्देज आइतबारबाट स्वत फुकुवा भएको छ । अब इरानले विदेशबाट युध्दमा प्रयोग गर्न सकिने ट्याङक, फाइटर जेट लगायतका साधनहरु खरिद गर्न सक्नेछ ।

तर यता अमेरिकाले भने इरानमाथि लगाइएको बन्देज कायमै रहेको बताएको छ । यसअघि अमेरिकाले सुरक्षा परिषद्‍मा इरानमाथि हतियार खरिद बिक्रि बन्देजलाई कायम नै राख्‍न प्रस्ताब राखेको थियो । जुन १५ सदस्यि परिषदमा भारी मतले अस्विाकार भएको थियो ।
 
इरानी सैन्य दस्तासँग अहिले पनि १९७९ ताका कै सैन्य सामाग्री रहेको बताइन्छ । अब ती पुराना सामाग्रीलाई इरानले प्रतिस्थापन गर्न सक्नेछ भने उसले आफ्नो देशमा उत्पादन हुने हतियार पनि आधिकारिक रूपमा बाहिर पठाउन सक्नेछ ।


आउदा दिनमा रसिया र चीनले इरानलाई हतियार बिक्रीका लागि प्रस्ताब गर्नसक्ने बताइएको छ । तर इरानको बिग्रदो आर्थिक व्यवस्थाले उसलाई सजिलै सैन्य सामाग्री खरिद गर्न दिने अवस्था भने छैन । खाडी क्षेत्रमा इरानको साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग प्रतिद्वन्द्वीता बढ्दो छ । त्यसकारण सो क्षेत्रमा हतियार खरिद दौडलाई बलियो हुँदै गएको छ । तर इरान त्यस्तो दौडमा तत्काल होमिने अवस्थामा छैन । 

यता अमेरिकाले इरानसँग हतियार खरिदबिक्रीमा सहभागी हुने कुनै पनि देशलाई छुट नदिने बताएको छ । ‘अमेरिकाले घरेलु कानुनको प्रयोग गर्दै इरानसँग हतियार तथा सैन्य सामाग्री खरिदबिक्रीमा सहभागी हुने कुनै पनि देश वा संस्थाहरुलाई कारबाही गर्नेछ । पछिल्लो एक दशकमा इरानलाई हतियार तथा सैन्य सामाग्री बेच्‍न नपाइने नियमको पालना भएको छ । अहिले त्यो नियम पालना नगर्नु भनेको क्षेत्रीय स्थिरतामा आँच पुर्‍याएको हुनेछ,’ अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका छन् ।  

इरानको विदेश मन्त्रालयले हतियार तथा सैन्य सामाग्री खरिद बिक्री फुकुवा भएकोमा खुशी व्यक्त गरेको छ । ‘अब इरानले आफुले चाहेको हतियार तथा अन्य सैन्य सामाग्री खरिद वा बिक्री गर्न सक्नेछ । यो आफैमा एतिहासिक छ । इरानले अब विश्‍वका अन्य मुलुकहरुसँग हतियार तथा सैन्य सामाग्री खरिद बिक्री गर्दै रक्षा मामिलामा सहकार्य गर्न पाउनुले क्षेत्रीय स्थिरतामा सहयोग पुग्‍नु हो,’ इरानी विदेश मन्त्री जावेद जारिफले भनेका छन् । इरानले विनासकारी हतियार विकास तथा खरिदबिक्री आफ्नो देशको रक्षा नीति अन्र्तगत नपर्ने पनि प्रस्टाएको छ ।

संयुक्त राष्ट्रसघंको सुरक्षा परिषदको इरान माथिको बन्देज हटेपनि बेलायत र युरोपियन युनियनको छुट्टै बन्देज भने कायम नै छ ।

एपी र दि गार्डियनको सहयोगमा 


Author

थप समाचार
x