विश्व

अब कोभिड-१९ को तेस्रो डोज

अजय अलौकिक |
भदौ ७, २०७८ सोमबार २०:१८ बजे

बेइजिङ- चीनका वरिष्ठ स्वास्थ्यविद् चोङ नानशानले कोभिड-१९ विरूद्धको खोपको तेस्रो डोजले प्रतिरोधात्मक क्षमता दश गुणाले बढ्ने बताएका छन् । चीनको निङस्या हुई स्वायत्त प्रदेशको यिन छ्वान सहरमा आयोजित पाँचौँ चीन अरब एक्स्पोअन्तर्गत स्वास्थ्य उद्योग मञ्च एवम तेस्रो ईन्टरनेट जोड चिकित्सा सम्मेलनमा चीनको ईञ्जिनियरिङ प्रतिष्ठानका सदस्य वरिष्ठ स्वास्थ्यविद् चोङ नानशानले यसो भनेका हुन् ।

उनले सो सम्मेलनमा कोभिड-१९ तथा म्यूटेसन भाइरस सम्बन्धमा आफ्नो अनुभव सुनाएका थिए । साथै स्वास्थ्यविद् नानशानले दोस्रो डोजपछि थप अर्को डोज सम्बन्धमा चर्चा गर्दै तेस्रो डोजले रोग प्रतिरोधात्मक क्षमता दश गुणाले बढ्ने र तेस्रो खोपको आवश्यकता रहेको बताए ।


भाइरसको म्यूटेसनले खोपको प्रभावकारितामाथि नै प्रश्न उठिरहेको अवस्थामा तेस्रो डोजले रोग प्रतिरोधात्मक क्षमता १० गुणाले उकास्ने देखिएको छ । ५४० जना सहभागिता रहेको चीनको घरेलु खोपको तेस्रो डोजको अनुसन्धानमा यस्तो नतिजा देखिएको हो । दोस्रो डोज लगाएको ६ महिनापछि फेरि अर्को डोज लगाएमा एन्टिबडी स्तर १० गुणाले उकास्नसकिने अनुसन्धानले देखाएको छ ।

बताए अनुसार, अनुसन्धानमा दोस्रो डोज लगाएको ४ हप्ताको अन्तरालमा लगाएको तेस्रो डोजले ६ महिनाको अन्तरालमा लगाएको भन्दा कम एन्टिबडीको विकास गरेको थियो । ६ महिनापछि लगाएकोसँगको तुलनामा मात्र एक तिहाई एन्टिबडीको विकास भएको थियो । अध्ययनबाट खोपको प्रभावकारिता बढाउनका लागि समयलाई पनि ध्यान दिनुपर्ने देखिएको छ । यस बाहेक, विश्वका मानिसले अब चाँडै नै कोभिड-१९ विरूद्धको तेस्रो खोप लाउनुपर्ने देखिएको छ ।

हाल, विभिन्न देशहरूमा पनि तेस्रो डोज या बुस्टर डोजको ट्रायल तथा आपत्कालीन प्रयोग भइरहेको अवस्थामा वरिष्ठ स्वास्थ्यविद् नानशानले यस सम्बन्धमा अरू विज्ञहरूसँग छलफल गरेका हुन् ।

साथै, उनले हाल देखिएको डेल्टा भेरियन्टमा चिनियाँ खोपको प्रभावकारिता ६० प्रतिशत देखिएको पनि उल्लेख गरे । ८५ वर्षीय वरिष्ठ स्वास्थ्यविद् नानशान चीनको गौरवशाली राष्ट्रिय पदकबाट सम्मानित छन् । गत वर्ष आयोजित कोभिड-१९ प्रतिरोध सम्मान समारोहमा राष्ट्रपति सी चिनफिङबाट उनले उक्त राष्ट्रिय पदक प्राप्त गरेका थिए । उनी कोभिड-१९ बाहेक सार्सको समयमा पनि अग्रपङ्क्तिमा रहेर खटेका थिए ।

यस बाहेक, उनले ८० प्रतिशत चिनियाँले खोप लगाएपछि चीनमा प्रभावकारी रूपमा हर्ड इम्युनिटीको विकास हुनसक्ने पनि बताएका छन् । पछिल्लो तथ्याङ्क अनुसार, चीनभरि ५५ प्रतिशत जनताले खोप लगाइसकेका छन् ।

साथै, चार दिनसम्म चलेको उक्त एक्स्पो आईतबार सम्पन्न भएको छ । कोभिड महामारीका कारण उक्त एक्स्पो अनलाईन तथा भर्च्वल माध्यम मार्फत् आयोजना गरिएको थियो ।


Author

थप समाचार
x