विश्व

इजरायली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

इकागज |
बैशाख १०, २०८१ सोमबार १७:२ बजे

जेरुसेलम - इजरायली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको रिहाइको प्रयासबारे छलफल गर्न आइतबार बैठक बसेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

 चार सदस्यीय युद्ध क्याबिनेटमा प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, रक्षामन्त्री योव ग्यालेन्ट र नेसनल युनिटी पार्टीका अध्यक्ष बेनी गान्ट्ज  रहेका छन् ।


यहुदीहरूको पर्व पासओभर मनाउने सन्दर्भमा इजरायली सरकारको प्रेस कार्यालयले आइतबार जारी गरेको भिडियोमा नेतान्याहूले भने, “आज पनि हाम्रा एक सय ३३ जना भाइबहिनीहरू बन्धकका रूपमा हमासको नरकमा कैद छन् ।”

उनले बन्धक सम्झौताको प्रस्तावलाई हमासले ‘पूर्णरूपमा’ अस्वीकार गरेको आरोप लगाए । साथै उनले इजरायलले चाँडै थप र पीडादायी प्रहार गर्ने घोषणा गर्दै हमासमाथि ‘सैन्य र राजनीतिक दबाब’ बढाउने बताए । 

हप्तौँदेखि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक सम्झौताबारे वार्तालाई सहज बनाउने प्रयास गरे पनि वार्ताबाट कुनै स्पष्ट सफलता हासिल भएको छैन । 

यसै महिनाको प्रारम्भमा हमासले युद्धविराम सम्झौताको पहिलो चरणस्वरूप ४० इजराइली बन्धकको पहिचान गर्न नसकेको संकेत दिएको इजरायली स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ । 

वार्ताकारहरूले निर्धारण गरेको ढाँचाअनुरूप हमासले युद्धको पहिलो छ साताको युद्धविराममा सबै महिला, बिरामी तथा वृद्धवृद्धासहित ४० जनालाई मुक्त गर्नुपर्नेछ । बदलामा इजरायलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्नेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायल र हमासबीच जारी द्वन्द्वका बीच इजरायल रक्षा बल (आइडिएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले आइतबार बेर्शेबामा दक्षिणी कमान्ड मुख्यालयमा युद्ध योजनालाई मञ्जुरी दिएका छन् । 

यसैबीच इजराइली सैनिकहरूले वेस्ट बैंकको नजिकैको नुर अल–साम्स शरणार्थी शिविरमा दुई दिने अपरेसन सम्पन्न गरेको आइडीएफलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

 प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र आधिकारिक समाचार एजेन्सी वाफालाई उद्धृत गर्दै इजराइली सेनाको अपरेसनमा एक बच्चासहित कम्तीमा १४ जनाको मृत्यु भएको बताइएको छ ।

आइडिएफका अनुसार सुरक्षा बलबाट बिहीबारदेखि सुरु गरेको आतङ्कवाद विरोधी अभियानका क्रममा १० जना आतङ्कवादी मारिनुका साथै आठ जना संदिग्ध पक्राउ परेका छन् । 
रासस


Author

थप समाचार
x